नेपालमा उद्धारका लागि अत्याधुनिक चिनियाँ ड्रोन : के–के गर्न सक्छन् ?

आप्रवासन आप्रवासन

चीनले नेपालमा बाढीपहिरो तथा विपद् उद्धारका लागि पठाएको दोस्रो चरणको मानवीय सहायता सामग्रीमा ड्रोनलाई पनि महत्त्वपूर्ण उपकरणका रूपमा समावेश गरेको छ ।

सेप्टेम्बर १ मा चिनियाँ जनमुक्ति सेना (पीएलए) वायुसेनाको वाई–२० विमानमार्फत काठमाडौँ ल्याइएको सहायता सामग्रीमा डीएनए परीक्षण उपकरण तथा रसायन, पानी शुद्धीकरण प्रणाली, प्रकाश उपकरण र विभिन्न प्रकारका ड्रोन रहेका छन् ।

चिनियाँ विज्ञहरूका अनुसार नेपाललाई उपलब्ध गराइएका ड्रोनले विपद् निगरानी, खोज तथा उद्धार, राहत सामग्री ढुवानी, नक्सांकन तथा ‘थ्रीडी मोडल’को अनुगमन लगायतका काम गर्न सक्छन् । विशेष गरी पहाडी भूभागमा सडक तथा सञ्चार सम्पर्क अवरुद्ध हुँदा ड्रोनले उद्धार कार्यलाई तीव्र बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।

स्रोतका अनुसार यस सहायता सामग्रीमा रहेको एफसी–१०० मध्यम आकारको मल्टिरोटर ड्रोनले सगरमाथाको दक्षिणी ढलानमा समेत सामग्री ढुवानीसम्बन्धी काम गरिसकेको छ । यसले उच्च उचाइ र जटिल भौगोलिक अवस्थाका क्षेत्रमा काम गर्न सक्ने क्षमता प्रदर्शन गरेको बताइएको छ ।

नेपालमा अगस्ट २६ को पहिरोपछि प्रभावित क्षेत्रमा परम्परागत हवाई तस्बिरबाट मात्र क्षतिको वास्तविक मात्रा आकलन गर्न कठिन भएको विज्ञहरूले बताएका छन्  ।

ड्रोनबाट विभिन्न कोणबाट तस्बिर तथा अन्य तथ्याङ्क सङ्कलन गरी प्रभावित क्षेत्रको थ्रीडी मोडल बनाउन सकिन्छ । यसबाट पहिरोको क्षेत्रफल, दूरी, पहिरोबाट बनेका अवरोध तथा पानी जमेको क्षेत्रको आकार मापन गर्न र पटक–पटक गरिएका उडानबाट विपद्को अवस्था कसरी परिवर्तन भइरहेको छ भन्ने निगरानी गर्न सकिन्छ ।

चीनको सिगात्से क्षेत्रअन्तर्गत केरुङ बन्दरगाहमा भएको विपद् उद्धारका क्रममा पनि यस्ता ड्रोन प्रयोग गरिएको उदाहरण चिनियाँ सञ्चारमाध्यमले दिएका छन् । सडक अवरुद्ध भएर बाक्लो हिलो जमेको अवस्थामा ड्रोनमार्फत खाना, पाल, जेनेरेटरलगायतका राहत सामग्री अग्रपङ्क्तिमा पुर्‍याइएको थियो । 

एउटा घटनामा तीव्र नदीको बहावका कारण डुङ्गाबाट उद्धार सम्भव नभएपछि ड्रोनको सहायताले एक उद्धारकर्मीलाई करिब १० मिटर चौडा नदी पार गराई डोरीको पुल बनाउन सहयोग गरिएको थियो । चार घण्टा पैदल लाग्ने बाटो ड्रोनको सहयोगमा करिब एक मिनेटमै पार गरिएको जनाइएको छ।

तर नेपालको कठिन पहाडी भूगोलमा ड्रोन सञ्चालनमा चुनौती पनि छन् । गहिरा खोँच र पहाडका कारण सञ्चार सङ्केत अवरुद्ध हुन सक्छ भने वर्षा, तीव्र हावा र रातको कम दृश्यताले उडानमा थप जोखिम निम्त्याउन सक्छ । विज्ञका अनुसार केही क्षेत्रमा हावाको गति १५ मिटर प्रतिसेकेन्डसम्म पुग्न सक्छ ।

यी चुनौतीलाई ध्यानमा राख्दै चीनले नेपालका लागि पठाइएका ड्रोनमा भिडियो प्रसारण प्रणाली र सिग्नल अवरोधविरुद्धको प्रविधि सुधार गरेको जनाएको छ । यी प्रणालीले करिब ४० किलोमिटरसम्म सञ्चार सङ्केत प्रसारण गर्न सक्ने बताइएको छ । साथै, आपत्कालीन अवस्थामा ड्रोन स्वतः सुरक्षित रूपमा आधारस्थल फर्कन र पुनः सञ्चालन गर्न सक्ने ‘इन्टलिजेन्स’ प्रणालीसमेत यी ड्रोनमा राखिएको जनाइएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नेपाललाई सहयोग गर्दै चीन कठिनाइ सामना गर्न नेपालसँग दृढतापूर्वक उभिने बताएका छन् । उनले यसलाई दुई छिमेकीबिचको परम्परागत मित्रतालाई थप विस्तार गर्ने प्रयासका रूपमा प्रस्तुत गरेका छन्।