बाढी प्रभावित नेपालका लागि भारतको मानवीय सहायता निरन्तर जारी छ। छैटौँ र सातौँ राहत उडानमार्फत बिहीबार राति कुल २१.५ टन राहत सामग्री काठमाडौँ ल्याइएको छ।
यसपटक पठाइएका सामग्रीमा जारी उद्धार तथा राहत कार्यका लागि आवश्यक फोरेन्सिक किट र स्वास्थ्य उपकरणहरू सामेल छन्।
भारतीय विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै दुवै सी-१३०जे विमान राहत सामग्रीसहित काठमाडौँ अवतरण गरेको जनाएको छ। ती सामग्री नेपालका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गरिएको छ। ‘दुवै सी-१३०जे विमान २१.५ टन मानवीय सहायता लिएर काठमाडौँमा अवतरण गरेका छन्,’ मन्त्रालयले भनेको छ, ‘यो सामग्री मन्त्री महावीर पुनलाई हस्तान्तरण गरियो। यस सहायताले बाढी प्रभावित क्षेत्रमा जारी राहत र उद्धार कार्यमा सहयोग पुर्याउनेछ।’
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि पछिल्लो सहायता रसुवाको पहिरो तथा बाढीपछि भारतले दिएको निरन्तर सहयोगकै निरन्तरता भएको बताएका छन्। ‘रसुवाको बाढीपछि नेपालको राहत प्रयासमा भारतको सहयोग जारी छ,’ श्रीवास्तवले एक्समा लेखेका छन्, 'छैटौँ र सातौँ उडानबाट फोरेन्सिक किट र मेडिकल सामग्रीसहित २१.५ टन राहत सामग्री काठमाडौँ आइपुगेको छ।’
उनले ती सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको र यसले बाढीबाट प्रभावित समुदायलाई राहत पुर्याउने उल्लेख गरेका छन्। गत हप्ता बुधबार आएको विनाशकारी बाढीलगत्तै भारतले राहत कार्य सुरु गरेको थियो। पहिलो भारतीय राहत विमान अगस्ट २६ मा १० टन सामग्री लिएर नेपाल आएको थियो। जसमा अस्थायी आश्रयस्थल, कम्बल, सरसफाइ किट, सोलार बत्ती र औषधि थिए।
त्यस्तै अगस्ट २७ मा दोस्रो विमानमार्फत ३७.५ टन सामग्री ल्याइएको थियो। जसमा टेन्ट, कम्बल, सरसफाइ किट, सोलार बत्ती, पानी तान्ने पम्प, भान्साका सामान, जेनेरेटर, औषधि र खाद्यान्न थिए। त्यसपछि तेस्रो खेपमा थप १० टन सहायता आयो। अगस्ट ३० मा चौथो विमान ११ टन राहत लिएर नेपाल अवतरण गर्यो। त्यसमा खोज तथा उद्धारका लागि प्राविधिक टोली, डिएनए विश्लेषणका लागि फोरेन्सिक विशेषज्ञको टोली, कम्बल, स्लिपिङ ब्याग, त्रिपाल र सरसफाइ किट थिए।
सेप्टेम्बर २ मा भारतले पाँचौँ विमानमार्फत ११ सदस्यीय उद्धार टोली, विशेष उपकरण र ५.५ टन अत्यावश्यक औषधि पठाएको थियो। नेपालले रसुवा बाढीको विनाशकारी प्रभाव सामना गरिरहेका बेला पछिल्लो सहयोग आइपुगेको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबारसम्म मृतकको सङ्ख्या १ हजार २९० पुगेको छ।