रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका दुईमध्ये एक जनाको अवस्था सामान्य रहेको छ । अर्का एक व्यक्तिको भने अवस्था जटिल रहेको छ ।
जटिल अवस्थामा रहेका व्यक्ति दोस्रो पटक उद्धार गरिएका कबीर महर्जन हुन् । उनको स्वास्थ्य अवस्था जटिल रहेको नेपाली सेनाले जनाएको छ । महर्जनलाई नेपाली सेनाको हेलिकोप्टरबाट छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी सघन उपचार भइरहेको छ । यस्तै, सुरुमा उद्धार गरिएका सञ्जय साहको अवस्था भने सामान्य रहेको छ । स्वास्थ्य अवस्था स्थिर देखिएता पनि थप परीक्षणका लागि उनलाई पनि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमै ल्याइँदै छ ।
नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य विज्ञहरूको संयुक्त टोलीले शुक्रबार बाढी गएको १० दिनपछि दुवै जनालाई उद्धार गरिएको हो । आयोजनाभित्र मानिसहरू फसेको आशङ्कापछि बाढी गए लगत्तै लगातार उद्धारको प्रयास गरिए पनि लामो समय लागेको थियो ।