त्रिशूली–३ ‘ए’ बाट जीवितै उद्धार गरिएका साह भन्छन्– सुरुङभित्र ४०–५० जना हुनुपर्छ

आप्रवासन आप्रवासन

 रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीबाट त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका सञ्जय साहले सुरुङभित्र अझै मानिसहरू हुनसक्ने बताएका छन् । शुक्रबार बाढी गएको १० दिनमा सुरुङबाट साह र मेकानिकल सुपरभाइजर कबिर महर्जनको जीवितै आज उद्धार गरिएको थियो ।

उद्धारपछि साहले आफू अपरेटरका रूपमा काम गर्दै आएको र बाढी आउनुअघि दुर्घटना हुँदैछ भनेर अन्य सहकर्मीहरूलाई समेत जानकारी गराउँदा आफू भाग्न नसकेको बताएका छन् । उनले १० दिनसम्म सुरुङभित्र बस्दा महामन्त्र जप गरेर बसेको बताए । उद्धारपछि साहसँगको संक्षिप्त कुराकानी ।

भित्र कति जना जति छन् होला ? 

भित्र म सेन्टर रुममा अपरेटर काम गर्थेँ । अरु बेला चार पाँच जना हुन्थे । यतिबेला ४०–४५ जना नै हुनुपर्छ । कन्ट्रोल रुममा म भएपछि सबैको ज्यान बचाउनु थियो । त्यत्रो एक्सिडेन्ट भएपछि म एक्लै भागेर भएन । सबैलाई बचाउनुपर्‍यो । त्यसक्रममा मैले सबैलाई भने– एक्सिडेन्ट भयो ड्याममा भनेर । अनि सबैलाई भाग्न लगाएँ बाहिर । त्यसो गर्दा मेरो टाइम गयो । लास्टमा म निस्कनै पाइनँ ।

भित्र अझै कति जना जति अड्केको अनुमान छ ? 

साथीहरूसँग कुरा गर्दा तीन चार जना मात्रै छेउछाउमा थिए । भित्रतिर पावर हाउस थियो, त्यो पावर हाउसमा पनि मानिसहरू छन् ? 

हुनसक्छ होला । सबै भाग्न नसकेको हुनुपर्छ । टनेल लामो छ, पानीको फोर्सले भित्र लगिसकेको हुनुपर्छ ।