स्पेनस्थित नेपाली दूतावासले स्पेनको बेनिडोर्म शहरमा नेपालीहरूलाई पासपोर्ट सेवा प्रदान गर्नका लागि घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । दूतावासले एक सूचना जारी गर्दै आगामी जुन १४ र १५ मा शिविर हुने जनाएको हो ।
शिविरमार्फत नेपाली नागरिकहरूलाई पासपोर्ट नवीकरण, हराएको वा च्यातिएको पासपोर्ट बनाउने सेवा उपलब्ध हुने छ । त्यसका लागि अनिवार्य रूपमा अनलाइन फारम भरिसकेर बारकोड सहितको PDF फारम, पासपोर्ट र नागरिकताको फोटोकपी १२ जुनसम्ममा दूतावासको इमेलमा पठाउनुपर्ने छ । साथै १ वर्षभन्दा कम म्याद बाँकी रहेका पासपोर्ट मात्र नवीकरण गरिने जानकारी पनि दिइएको छ ।
३४ पृष्ठको पासपोर्ट नवीकरणको लागि १२० युरो शुल्क लाग्ने छ । हराएको वा बिग्रिएको हकमा भने १८० युरो शुल्क लाग्ने छ । नाबालकको हकमा भने क्रमशः ६० र ९० युरो शुल्क मात्र लाग्ने दूतावासले जनाएको छ । शुल्क नगद भुक्तान नहुने हुँदा सेवाग्राहीले बायोमेट्रिक गर्दा कार्ड मार्फत शुल्क बापतको रकम तिर्नुपर्ने छ ।
थप जानकारीका लागि स्क्रिनमा उल्लेख व्यक्तिहरूलाई सम्पर्क गर्न सकिनेछ ।