रसुवामा बाढीको कहर : १,३१३ जनाको उद्धार, ३ हजारभन्दा बढी अझै सम्पर्कविहीन

आप्रवासन आप्रवासन

नेपाल–चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। ल्हेन्दे खोला हुँदै आएको बाढी र त्यसपछिको पहिरोका कारण जिल्लामा हजारौँ नागरिक तथा विदेशी पर्यटक प्रभावित भएका छन्।

बाढीपहिरोमा परेका हालसम्म १ हजार ३१३ जनाको जीवितै उद्धार गरिएको छ। तर ३ हजार ७१ जना अझै सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार उद्धार गरिएकामध्ये १ हजार २२७ नेपाली र ८६ जना विदेशी पर्यटक छन्। उनीहरूको सुरक्षाकर्मी तथा स्थानीयवासीको सक्रियतामा उद्धार गरिएको हो।

बाढीका कारण अलपत्र परेका तथा गोसाइँकुण्ड क्षेत्रमा रोकिएका १४५ तीर्थयात्री र स्थानीयलाई हेलिकप्टरमार्फत नुवाकोट तथा काठमाडौं सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। सडक सञ्जाल विच्छेद भएका दुर्गम क्षेत्रमा भने हेलिकप्टरमार्फत उद्धार तथा राहत वितरणलाई निरन्तरता दिइएको छ।

हजारौँ अझै सम्पर्कविहीन

विपद्पछि रसुवामा सम्पर्कविहीन हुनेहरूको संख्या ठूलो देखिएको छ। श्रीनाथ गण, ब्राबल ब्यारेकअन्तर्गतका २७ नेपाली सेना, २८ नेपाल प्रहरी, १३ सशस्त्र प्रहरी, ७९ सरकारी कर्मचारी तथा बैंक तथा वित्तीय संस्थाका २६ कर्मचारी अझै सम्पर्कमा आएका छैनन्।

त्यस्तै, रसुवाका १ हजार ३७०, अन्य जिल्लाका १ हजार २६२ तथा २६६ जना विदेशी पर्यटक पनि सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ।

बाढीपहिरोपछि विभिन्न स्थानमा फेला परेका शवमध्ये हालसम्म ६ जनाको सनाखत गरी आफन्तलाई बुझाइएको छ। सनाखत भएका शवमध्ये उत्तरगया–५ का जनक आचार्य, गंगादेवी श्रेष्ठ, पुदुली तामाङ, आशवीर तामाङ र आशिष बानियाँ तथा गोसाइँकुण्ड–६ की छिरिङ ग्याल्मो तामाङ रहेका छन्।

विभिन्न स्थानबाट फेला परेका १६३ शवमध्ये पाँच जनाको सनाखत भइसकेको छ। बाँकी शवको सनाखत तथा डिएनए परीक्षणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको सहायक प्रजिअ अधिकारीले बताएका छन्।

घर, सडक र पुलमा ठूलो क्षति

बाढीपहिरोले रसुवाको भौतिक संरचनामा पनि ठूलो क्षति पुर्‍याएको छ। प्रारम्भिक विवरणअनुसार जिल्लामा करिब १ हजार ५०० निजी घर पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।

त्यस्तै, २८ सरकारी तथा सार्वजनिक निकायका भवन, आठ सामुदायिक विद्यालय, तीन निजी विद्यालय र १४ बैंकका भवनमा क्षति पुगेको छ।

जिल्लाको मुख्य यातायात सञ्जालका रूपमा रहेको ४१ किलोमिटर राजमार्ग तथा सडकखण्डसमेत अवरुद्ध भएको छ। बाढीले ६ वटा पक्की मोटरेबल पुल, आठ वटा ट्रस तथा बेलीब्रिज, एक आर्च पुल र १० वटा झोलुङ्गे पुल बगाएको वा क्षति पुर्‍याएको छ।

बाढीको प्रभाव जलविद्युत् आयोजनामा समेत परेको छ। जिल्लाका आठ वटा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ।

७ हजारभन्दा बढी विस्थापित

विपद्का कारण घर तथा थातथलो छाड्न बाध्य भएका ७ हजार ३३ जनालाई जिल्लाका विभिन्न १२ वटा सुरक्षित आश्रयस्थलमा राखिएको छ।

धुन्चेस्थित सिटी सेन्टर, कोमिन श्यामे वाङ्फेल मावि, गणेश आधारभूत विद्यालयलगायत स्थानमा आश्रित नागरिकका लागि गाँसबासको व्यवस्था मिलाइएको छ।

प्रभावित क्षेत्रमा हालसम्म १३६ पटक राहत सामग्री वितरण गरिएको प्रशासनले जनाएको छ। विपद्का कारण अवरुद्ध बनेको विद्युत् सेवा पनि क्रमशः पुनः सञ्चालनमा ल्याइएको छ। हाल जिल्लाको ८३ प्रतिशत जनसंख्यामा विद्युत् सेवा पुनः सञ्चालन भइसकेको छ।

नेपाल टेलिकमको सञ्चार सेवा पनि सम्पूर्ण क्षेत्रमा सञ्चालनमा ल्याइएपछि उद्धार, राहत तथा समन्वयका काममा सहजता भएको प्रशासनले जनाएको छ।

रसुवामा बाढीपहिरोबाट भएको क्षतिको विस्तृत विवरण संकलन तथा सम्पर्कविहीनहरूको खोजी कार्य अझै जारी रहेको छ।