दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानका पश्तुनबहुल जिल्लामा पछिल्ला केही महिनायता सशस्त्र आक्रमण तीव्र बनेको छ ।
लामो समयदेखि ‘बलुच राष्ट्रवादी विद्रोही’को गतिविधि गरिरहेको बलुचिस्तानका यी क्षेत्र हालसम्म तुलनात्मक रूपमा शान्त थिए ।
तर जुनयता आक्रमण बढेसँगै विद्रोह नयाँ क्षेत्रमा फैलिन थालेको संकेत देखिएको छ ।
बलुचिस्तान क्षेत्रफलका हिसाबले पाकिस्तानको सबैभन्दा ठुलो प्रान्त हो । प्राकृतिक स्रोतमा धनी भए पनि यो देशकै कम विकसित क्षेत्रमध्ये पर्छ र यसको सीमा अफगानिस्तान तथा इरानसँग जोडिएको छ ।
बलुच राष्ट्रवादी विद्रोहीहरूले दुई दशकदेखि पाकिस्तानी राज्यविरुद्ध सशस्त्र संघर्ष गर्दै आएका छन् । तर पश्तुनबहुल जिल्लाहरू भने त्यस द्वन्द्वबाट केही हदसम्म अलग थिए ।
जुनदेखि बदलियो अवस्था
सेप्टेम्बर १ मा सुरक्षा बलले पश्तुनबहुल पिशिन जिल्लाको जियारत क्रसमा रहेको भन्सार केन्द्रमा पाकिस्तान तालिबान (टिटिपि)ले गरेको आक्रमण विफल पारेको जनाएको थियो ।
क्वेटाबाट करिब १०० किलोमिटर उत्तर–पूर्वमा भएको भिडन्तमा केही लडाकु तथा सुरक्षा र भन्सार विभागका ६ कर्मचारी मारिएको बताइएको थियो ।
तीन दिनपछि क्वेटाको बाहिरी क्षेत्रमा पर्ने शाबानमा सुरक्षा बलले छुट्टै कारबाही गरी टीटीपीका थप २६ लडाकु मारिएको दाबी गर्यो ।
सेप्टेम्बर ३ मा जियारतबाट फर्किरहेको अर्धसैनिक बलको टोलीमाथि एम्बुस थापेर आक्रमण गरिएको थियो । बलुचिस्तान लिबरेसन आर्मी (बिएलए) ले आक्रमणको जिम्मेवारी लिए पनि पाकिस्तानले यसको औपचारिक पुष्टि गरेको छैन ।
बलुचिस्तानमा हिंसा बढ्दै
पाकिस्तान इन्स्टिच्युट फर कन्फ्लिक्ट एन्ड सेक्युरिटी स्टडिज (पिआईसिएसएस) का अनुसार सन् २०२६ को अधिकांश समय बलुचिस्तान पाकिस्तानको सबैभन्दा हिंसाग्रस्त प्रान्त बनेको छ ।
जुलाईमा अवस्था अझ बिग्रिएको थियो । जुलाईको पहिलो सातामै बलुचिस्तानमा २५ वटा आक्रमणमा १०२ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको थियो ।
उत्तरी जिल्लामा टिटिपिको गतिविधि बढ्नु यसको एउटा प्रमुख कारण रहेको संस्थाले जनाएको थियो ।
अगस्टमा बलुचिस्तानमा सुरक्षा बलले ११५ लडाकु मारेको तथ्यांक पनि पिआईसिएसएसले सार्वजनिक गरेको छ ।
सोही अवधिमा खैबर पख्तुनख्वामा ५६ र विलय गरिएका आदिवासी जिल्लामा ३२ लडाकु मारिएका थिए ।
टिटिपि सन् २००७ मा स्थापना भएको समूह हो । यो अफगान तालिबानभन्दा अलग संगठन भए पनि दुवैले अफगानिस्तानमा अमेरिकी नेतृत्वको सेनाविरुद्ध लडेका थिए ।
पहिले शान्त रहेका जिल्लामा १३ आक्रमण
सुरक्षा निगरानी संस्था ‘दुरान्ड डिस्प्याच’का अनुसार झोब, शेरानी, किला सैफुल्लाह लगायतका ११ पश्तुनबहुल जिल्लामा जनवरीदेखि मेसम्म कुनै पनि सशस्त्र समूहको आक्रमण भएको थिएन ।
तर जुन १० मा चार जिल्लाका प्रहरी संरचनामाथि मोटरसाइकलमा आएका बन्दुकधारीले आक्रमण गरेपछि अवस्था बदलियो ।
त्यसयता यी जिल्लामा कम्तीमा १३ वटा सशस्त्र आक्रमण भएका छन् । जुलाईमा जियारत नजिकै बाँध निर्माण परियोजनाको सुरक्षामा खटिएका २७ प्रहरीको समेत हत्या भएको थियो ।
बलुचिस्तानका नीति विश्लेषक रफिउल्लाह काकरका अनुसार बिएलएले आफ्नो परम्परागत प्रभाव क्षेत्रभन्दा बाहिर आक्रमण गर्न सक्नु भनेको महत्वपूर्ण परिवर्तन हो ।
यसले बिएलए र टिटिपिबीच रणनीतिक समन्वय वा सहकार्य भइरहेको छ कि भन्ने प्रश्नसमेत उब्जाएको छ ।
सुरक्षा विश्लेषक इफ्तिखार फिरदौसका अनुसार टिटिपिले सन् २०१९ देखि बलुचिस्तानमा आफ्नो पहुँच विस्तार गर्दै आएको छ ।
उनका अनुसार टिटिपि प्रमुख नूर वली महसुदले बलुच सशस्त्र समूहसँग गठबन्धन गर्ने इच्छा सार्वजनिक रूपमा व्यक्त गरेका थिए ।
व्यापारिक मार्ग पनि प्रभावित
हिंसाको असर व्यापारमा समेत परेको छ । इरानसँगको व्यापार तथा बलुचिस्तानलाई कराँचीसँग जोड्ने प्रमुख राजमार्गहरू जोखिममा परेका छन् ।
बलुचिस्तान गुड्स ट्रक ओनर्स एसोसिएसनका हाजी अमिन सुमलानीका अनुसार ताफ्तान–क्वेटा तथा क्वेटा–कराँची जोड्ने राजमार्ग चार महिनादेखि प्रभावकारी रूपमा सञ्चालन हुन सकेका छैनन् ।
उनका अनुसार सशस्त्र समूहले मालवाहक ट्रकमा आगजनी गर्ने खतरा रहेकाले चालकहरू ती मार्गमा जान डराइरहेका छन् । यस अवधिमा १०० भन्दा बढी ट्रक जलाइएको र दुई चालकको हत्या भएको उनले बताएका छन् भने करिब ९० प्रतिशत व्यापारिक गतिविधि प्रभावित भएको जनाइएको छ ।
नयाँ सुरक्षा चुनौती
पाकिस्तानी सेनाले पछिल्लो अवस्थालाई गम्भीर रूपमा लिएको संकेत पनि देखिएको छ । पूर्वआईएसआई काउन्टर इन्टेलिजेन्स प्रमुख फैसल नसीरलाई सेप्टेम्बर ४ मा राष्ट्रिय आतंकवादविरोधी प्राधिकरण (एनएसिटिए)को राष्ट्रिय संयोजक नियुक्त गरिएको थियो ।
त्यसपछि सेनाप्रमुख आसिम मुनीरले क्वेटा भ्रमण गरी बलुचिस्तानको सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए ।
विश्लेषकहरूका अनुसार खैबर पख्तुनख्वामा पाकिस्तानी सेनाको टिटिपिविरुद्धको कारबाहीपछि केही लडाकु बलुचिस्तानतर्फ सरेको हुनसक्छन् । तर टिटिपि र बिएलएबीच प्रत्यक्ष सहकार्य भइरहेको कुरा भने अझै स्पष्ट छैन ।
विश्लेषकहरूको निष्कर्षमा बलुचिस्तानको बढ्दो हिंसा एउटै कारणको परिणाम होइन ।
लामो समयदेखिको राजनीतिक असन्तुष्टि, आर्थिक समस्या, सीमा बन्द तथा सीमापार जीविकोपार्जनमा लगाइएका प्रतिबन्धसँगै सशस्त्र समूहको विस्तारले अवस्था थप जटिल बनाइरहेको छ ।
पश्तुनबहुल क्षेत्रमा हिंसा अझ फैलिँदै गएमा सुरक्षा चुनौतीसँगै राज्यप्रतिको स्थानीय असन्तुष्टि र आर्थिक क्षति पनि गहिरिन सक्ने सरोकारवालाले चेतावनी दिएका छन् ।