सेप्टेम्बर २० को दिउँसो मतदान केन्द्रमा पुगेर सत्तारूढ दलविरुद्ध मतदान गर्न आग्रह गर्दै उनले युद्धको विरोध जनाउन सामूहिक मतदान अभियान सञ्चालन गरिएको बताए । युद्धविरोधी रुसी नागरिक एकै समयमा मतदान केन्द्रमा पुगेर लामबद्ध भए आफूहरू कति सङ्ख्यामा छन् भन्ने विश्वले देख्न सक्ने उनको भनाइ छ । निर्वाचनको नतिजामा भने कुनै शङ्का नरहेको उनले बताए ।
रुसको निर्वाचन प्रक्रिया कडा नियन्त्रणमा रहेको र विगतका निर्वाचनमा धाँधली, दबाब तथा विपक्षी गतिविधिमाथि प्रतिबन्ध लगाइएको आरोप लाग्दै आएको छ । युक्रेनमाथि रुसको आक्रमणपछि पुटिनका आलोचक र राजनीतिक प्रतिद्वन्द्वीमाथिको दमन झन् बढेको छ । गत महिना रुसी सर्वोच्च अदालतले युद्धविरोधी दल याब्लोकोलाई समेत निर्वाचनमा सहभागी हुन रोक लगाएको थियो । त्यसैले आफूहरूले यसलाई वास्तविक निर्वाचनका रूपमा नलिएको याशिनले बताए ।
बर्लिनमा गत जुनमा स्थापना भएको ‘पिसफुल रसिया’ पार्टीका नेता याशिनले युक्रेनमाथिको आक्रमण अन्त्य गर्न र नागरिक अधिकारको पक्षमा विभिन्न विपक्षी समूहलाई एकताबद्ध गर्ने प्रयास भइरहेको बताए । पार्टी निर्वाचनमा प्रत्यक्ष सहभागी नभए पनि युद्ध र पुटिनको शासनप्रतिको असन्तुष्टि व्यक्त गर्ने अवसर अभियानले दिने उनको भनाइ छ ।
सन् २०२२ मा युक्रेनमाथिको रुसको आक्रमणको आलोचना गरेपछि जेल परेका याशिन दुई वर्षपछि पश्चिमसँगको कैदी आदानप्रदानमार्फत रिहा भएका थिए । हाल बर्लिनमा निर्वासनमा रहेका उनले भविष्यमा अवसर आए आफू रुस फर्कने पहिलो व्यक्ति हुने बताए । युद्ध कहिले, कसरी र कुन सर्तमा अन्त्य हुन्छ भन्ने कुराले आफ्नो स्वदेश फर्कने समय निर्धारण गर्ने उनको भनाइ छ ।
निर्वाचनपछि रुसमा तनाव बढ्न सक्ने चेतावनी दिँदै याशिनले पुटिनले आगामी वसन्त वा गर्मीयाममा युक्रेनमा ठूलो आक्रमणका लागि तीन लाखदेखि पाँच लाख मानिस परिचालन गर्न सक्ने दाबी गरे । “पुटिन गम्भीर वार्ताका लागि तयार हुनुहुन्छ भन्ने कुनै सङ्केत छैन, बरु तनाव बढाउने तयारीका धेरै सङ्केत छन्”, उनले भने ।
सन् २०२२ मा पुटिनले करिब तीन लाख रिजर्भ सैनिकको आंशिक परिचालन गरेका थिए । त्यसपछि दशौँ हजार सैन्य सेवायोग्य पुरुषले देश छाडेका थिए । क्रेमलिनले भने नयाँ सैन्य परिचालनको योजना रहेको दाबी अस्वीकार गर्दै आएको छ ।
याशिनले नेटोविरुद्ध उक्साहट हुन सक्ने सम्भावनासमेत औँल्याएका छन् । युक्रेनले पनि निर्वाचनपछि रुसले थप सैनिक परिचालन गर्न सक्ने चेतावनी दिएको छ । अमेरिकी थिङ्क ट्याङ्क ‘द इन्स्टिच्युट फर द स्टडी अफ वार’ ले समेत मस्कोले नयाँ सैन्य परिचालनका लागि आवश्यक अवस्था तयार पारिरहेको देखिएको बताएको थियो ।