पोखरा | पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि हुने नियमित अन्तर्राष्ट्रिय उडानको हवाई भाडा काठमाडौंको तुलनामा कम हुने भएको छ। फ्लाई दुबईले आगामी असोज ७ गते अर्थात् सेप्टेम्बर २३ देखि पोखरा–दुबई उडान सुरु गर्दैछ। कम्पनीले पोखराबाट हुने आफ्नो उडानको भाडा काठमाडौंको तुलनामा कम्तीमा ५ हजार रुपैयाँ सस्तो हुने जनाएको छ।
फ्लाई दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले पोखरामा आयोजित कार्यक्रममा पोखराबाट फ्लाई दुबईका करिब १५० गन्तव्यमा जाने टिकट काठमाडौंको तुलनामा कम्तीमा ५ हजार रुपैयाँ सस्तो हुने जानकारी दिएका हुन्। उनका अनुसार कम्पनीले पोखरेलीले राखेको सस्तो हवाई भाडाको अपेक्षा पूरा गर्ने प्रयास गरेको छ।
शाहीले सस्तो भाडाको अवसरलाई उपयोग गर्दै पर्याप्त यात्रुबाट उडानलाई दिगो बनाउनुपर्ने बताए। पोखरा–दुबई उडान नियमित ‘सेड्युल फ्लाइट’ भएकाले पोखराबाट यात्रु संख्या कम भए पनि उडान नरोक्ने उनको भनाइ छ। उनका अनुसार पोखराबाट एक जना मात्रै यात्रु भए पनि उडान सञ्चालन हुनेछ, साथै दुबईबाट आउने यात्रुका कारण पनि उडानको नियमितता प्रभावित नहुने बताइएको छ।
तर पोखराका पर्यटन व्यवसायीहरूले काठमाडौंभन्दा कम भए पनि पोखरा–दुबईको टिकट भाडा अझै महँगो रहेको भन्दै पुनर्विचार गर्न आग्रह गरेका छन्। उनीहरूले पर्यटक तथा यात्रुलाई आकर्षित गर्न भाडा थप घटाउनुपर्ने बताएका छन्।
नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले पोखरा–दुबई उडानलाई दिगो बनाउन आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्। उनका अनुसार यो उडान पोखराका लागि मात्र नभई समग्र नेपालको पर्यटन क्षेत्रका लागि महत्वपूर्ण अवसर हो। उडानलाई सफल बनाउन सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको उनले बताए।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पनि पोखरा–दुबई उडानलाई पोखराको पर्यटनसँग मात्र जोडेर हेर्न नहुने बताए। उनका अनुसार अन्तर्राष्ट्रिय उडानमार्फत पोखरालाई विश्वका विभिन्न मुलुकसँग जोड्ने अवसर सिर्जना भएको छ। पोखरालाई पर्यटनको राजधानी घोषणा गरिए पनि अन्तर्राष्ट्रिय बजारमा यसको पर्याप्त प्रचार हुन नसकेको भन्दै उनले उडानसँगै पर्यटन प्रवर्द्धनमा पनि जोड दिनुपर्ने बताए।
होटल संघका प्रथम उपाध्यक्ष राजेश पहारीले पोखराबाट हुने अन्तर्राष्ट्रिय उडानका लागि सरकारले विभिन्न शीर्षकमा सुविधा र छुट उपलब्ध गराएको अवस्थामा टिकट भाडा भने किन महँगो राखिएको हो भन्ने प्रश्न उठाएका छन्। उनका अनुसार सरकारले हवाई इन्धनमा १ सय अमेरिकी डलर छुट, विमान उडान तथा अवतरणमा एक वर्षसम्म शतप्रतिशत छुटका साथै सञ्चार, उड्डयन तथा सुरक्षा जाँच शुल्कमा समेत छुट दिएको छ। त्यसैले यात्रुलाई थप आकर्षित गर्न फ्लाई दुबईले टिकट भाडामा पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ।
फ्लाई दुबईका दक्षिणपूर्वी एसियाका क्षेत्रीय प्रबन्धक विनोद अब्राहमले पोखरा–दुबई उडानलाई दिगो बनाउन पोखरेलीको सहयोग आवश्यक रहेको बताए। यो उडान सफल र दिगो बन्न सके अन्य अन्तर्राष्ट्रिय एयरलाइन्सलाई समेत पोखराबाट उडान सञ्चालन गर्न आकर्षित गर्न सकिने उनको भनाइ छ।
फ्लाई दुबईले सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई उडानका लागि सुरुको एक महिनासम्म दैनिक एउटा उडान गर्ने गरी अनुमति लिइसकेको छ। कम्पनीले सन् २०२७ सम्मका लागि समेत टिकट बुकिङ खुला गरेको नेपालस्थित महाप्रबन्धक शाहीले जानकारी दिएका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको लामो समयदेखिको प्रतीक्षा पूरा हुन लागेकाले यसलाई पर्यटन तथा हवाई कनेक्टिभिटीका दृष्टिले महत्वपूर्ण सुरुवातका रूपमा हेरिएको छ। तर उडानको निरन्तरता र व्यावसायिक सफलता सुनिश्चित गर्न टिकट भाडा यात्रुमैत्री बनाउने, पर्याप्त यात्रु आकर्षित गर्ने तथा पोखराको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनलाई प्रभावकारी बनाउने चुनौती भने कायम छ।