इरानी मानवअधिकार अभियन्ता तथा सन् २०२३ की नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीले जेलमा आफूले भोगेका अनुभवलाई आफ्नो पुस्तक ‘ए वुमन नेभर स्टप्स फाइटिङ’ मार्फत् सार्वजनिक गरेकी छिन् ।
इरानी जेलभित्रका यातना, एकान्त कारावास र स्वास्थ्य सङ्कटका विस्तृत विवरणसहितको उनको कृति यसै महिना केही युरोपेली मुलुकमा सार्वजनिक हुँदै छ ।
संस्मरणमा उनले इरानको कुख्यात एभिन जेलमा आफूले भोगेका अनुभवसँगै आफूलाई दुर्व्यवहार गर्ने जिम्मेवार व्यक्तिहरू र जेल प्रशासनका यातनाका तरिकाबारे पनि उल्लेख गरेकी छन् ।
मोहम्मदीले जेलमा रहँदा साथी र सहकर्मीको सहयोगमा आफ्ना लेखहरू लुकाएर बाहिर पठाउने गरेकी थिइन् । उनका अनुसार एक पटक जेलमा रहेका साथीले भेटघाटका क्रममा तीन पाना मात्र बाहिर लैजान खोज्दा सुरक्षा अधिकारीले ती कागज जफत गरेका थिए । अर्को घटनामा आफूलाई कुटपिट गरेर अर्को जेलमा सारिएपछि उनका २० भन्दा बढी नोट बुक हराएका थिए ।
तर यी घटनाले लेख्न छाड्ने अवस्थामा आफूलाई पुर्याउन नसकेको उनले बताएकी छन् । ‘यी घटनालाई अभिलेखमा राख्न र उनीहरूले प्रयोग गर्ने विधि सार्वजनिक गर्न खुलेर बोल्नु आवश्यक छ,’ उनले अन्तर्वार्तामा भनेकी छन् ।
मोहम्मदीले संस्मरण सार्वजनिक गर्दा त्यसको परिणाम आफूले भोग्नुपर्ने सम्भावना रहेको पनि स्वीकार गरेकी छन् । तर आफू त्यसका लागि तयार रहेको उनी बताउँछिन्, ‘परिणाम आउन सक्छन्, तर हाम्रो क्षेत्र र हाम्रो देशमा जीवन यस्तै छ ।’ अन्तर्वार्ता दिनु पनि आफूका लागि जोखिमपूर्ण हुन सक्ने भए पनि बोल्नु आफ्नो ‘कर्तव्य’ भएको उनी बताउँछिन् ।
दुई महिनासम्म एकान्त कारावास
मोहम्मदीका अनुसार पछिल्लो पटक जेलमा रहँदा उनलाई लामो समयसम्म परिवार र कानुनी प्रतिनिधिसँग सम्पर्क गर्न दिइएन । डिसेम्बरमा पक्राउ परेपछि उनलाई करिब दुई महिना एकान्त कारावासमा राखिएको उनले बताएकी छन् ।
नर्वेजियन नोबेल समितिले यसअघि सार्वजनिक गरेको विवरणअनुसार, उनको पक्राउका क्रममा उनलाई काठका लठ्ठी र डन्डाले पटक–पटक कुटिएको, कपाल समातेर भुईँमा घिसारिएको तथा शरीरका विभिन्न भागमा प्रहार गरिएको थियो । समितिले ती विवरणलाई विश्वसनीय रिपोर्टमा आधारित भएको जनाएको थियो ।
मोहम्मदीले जेलमा आफूलाई भएको कुटपिटपछि टाउकोमा घाउ भएको र गम्भीर शारीरिक पीडा भएको बताएकी छन् । उनी भन्छिन्, एकान्त कारावास कैदीलाई शारीरिक रूपमा मात्र होइन, मानसिक र भावनात्मक रूपमा समेत कमजोर बनाउने सरकारी अस्त्रका रूपमा प्रयोग गरिन्छ । उनका अनुसार कैदीलाई परिवार, बाहिरी संसार र आफ्नो पहिचानबाट अलग गर्नु त्यसको एउटा उद्देश्य हो ।
समयमै उपचार नदिनुलाई पनि उनले अर्को गम्भीर समस्या भनेकी छन् । उनको भनाइमा उपचारमा ढिलाइले कैदीको स्वास्थ्यलाई गम्भीर जोखिममा पार्छ र कतिपय अवस्थामा मृत्युको कारणसमेत बन्न सक्छ ।
जेलमै बिग्रियो स्वास्थ्य
पछिल्लो कारावासका क्रममा मोहम्मदीको स्वास्थ्य गम्भीर रूपमा बिग्रिएको थियो । मार्चमा उनलाई हृदयाघातको आशङ्का गरिएको थियो । त्यस क्रममा उनको तौल करिब २० किलोग्राम घटेको उनको फाउन्डेसनले जनाएको थियो ।
उनलाई १८ दिन अस्पतालमा राखेर उपचार गरिएको थियो । लामो समयको तनाव र चिन्ताका कारण मुटुसम्बन्धी समस्या देखिएको उनको फाउन्डेसनको भनाइ थियो । पछि उनलाई अस्थायी रूपमा घर फर्किन अनुमति दिइयो । अहिले पनि उनको उपचार जारी रहेको उनले बताएकी छन् ।
मोहम्मदीले आफ्नो जीवनको ठुलो हिस्सा जेलमा बिताएकी छन् । उनको फाउन्डेसनका अनुसार उनलाई विभिन्न समयमा १३ पटक पक्राउ गरिएको छ र अदालतबाट पटक–पटक सजाय सुनाइएको छ । नोबेल शान्ति पुरस्कार प्रदान गरिँदा उनी जेलमै थिइन् ।
‘फेरि सुरु गर्ने भए पनि त्यही बाटो रोज्थेँ’
जेल र यातनाका कारण आफूले ठुलो व्यक्तिगत मूल्य चुकाउनुपरे पनि संघर्ष सुरु गरेको क्षणमा फर्कन पाए आफूले फेरि त्यही निर्णय गर्ने मोहम्मदीले बताएकी छन् ।
तर उनका दुई सन्तानको कुरा आउँदा भने उनको मनमा प्रश्न उठ्ने गरेको छ । मोहम्मदीका जुम्ल्याहा सन्तान अली र कियाना अहिले १९ वर्षका छन् । उनीहरू फ्रान्समा निर्वासनमा रहेका छन् । लामो समयदेखि आफ्ना सन्तानसँग टाढा रहनुपरेको पीडालाई उनले संस्मरणको महत्त्वपूर्ण हिस्सा बनाएकी छन् ।
तर आफ्ना सन्तानलाई सामान्य जीवन र आमासँगै हुर्कने अधिकारबाट वञ्चित गर्नुपरेको कुराले भने उनीलाई अझै पनि घरीघरी सताउने गरेको बताउँछिन् । उनका अनुसार अली र कियाना नै कठिन समयमा आफूलाई बाँच्ने आशा दिने खास शक्ति बनेका छन् । उनीहरूलाई भेटेर अँगालो हाल्ने र उनीहरू कति ठूला भए भनेर प्रत्यक्ष हेर्ने उनको इच्छा छ ।
त्यसो त नोबेल पुरस्कार घोषणा हुँदा पनि उनी जेलमै भएकोले उनका सन्तानले उनको तर्फबाट पुरस्कार ग्रहण गरेका थिए । नोबेल समितिका अनुसार उनले वर्षौंसम्म आफ्ना सन्तानलाई प्रत्यक्ष भेट्न पाएकी थिइनन् ।
‘वुमन, लाइफ, फ्रिडम’ आन्दोलनसँग जोडिएको संघर्ष
मोहम्मदीको संघर्ष इरानमा महिलामाथिको विभेद र मानवअधिकारको प्रश्नसँग जोडिएको छ । सन् २०२२ मा २२ वर्षीया महसा जिना अमिनीको हिरासतमा मृत्यु भएपछि इरानभर ‘वुमन, लाइफ, फ्रिडम’ अर्थात् ‘महिला, जीवन, स्वतन्त्रता’ आन्दोलन चर्किएको थियो ।
नर्वेजियन नोबेल समितिले पनि सन् २०२३ को नोबेल शान्ति पुरस्कार घोषणा गर्दा मोहम्मदीको संघर्षलाई इरानमा महिलामाथिको दमनविरुद्धको अभियान र मानवअधिकार तथा स्वतन्त्रताको पक्षमा उनको लामो संघर्षसँग जोडेको थियो ।
मोहम्मदीका अनुसार उक्त आन्दोलनले सडकमा उत्रिएका मानिसमा आफ्नो आवाज र अधिकारप्रति विश्वास बढाएको थियो । उनी भन्छिन्, जोखिम हुँदाहुँदै पनि इरानी महिलाहरूले सार्वजनिक स्थानमा आफ्नो प्रतिरोध जारी राखेका छन् ।
मोहम्मदीका लागि नयाँ संस्मरण केवल जेल जीवनको व्यक्तिगत कथा मात्र होइन, जेलभित्रबाट लेखिएको प्रतिरोधको दस्तावेज पनि हो । उनी भन्छिन्, ‘यदि आफ्नो संघर्ष सुरु गरेको समयमै फर्किन पाए, त्यसपछि आफूलाई के–कस्ता परिणाम भोग्नुपर्नेछ भन्ने पहिल्यै थाहा भए पनि म त्यही सङ्घर्षको बाटो रोज्नेछु ।’