जेलभित्रको यातना र सङ्घर्षको अनुभव साट्दै नोबेल विजेता नर्गेस मोहम्मदी

आप्रवासन आप्रवासन

 

 इरानी मानवअधिकार अभियन्ता तथा सन् २०२३ की नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीले जेलमा आफूले भोगेका अनुभवलाई आफ्नो पुस्तक ‘ए वुमन नेभर स्टप्स फाइटिङ’ मार्फत् सार्वजनिक गरेकी छिन् । 

इरानी जेलभित्रका यातना, एकान्त कारावास र स्वास्थ्य सङ्कटका विस्तृत विवरणसहितको उनको कृति यसै महिना केही युरोपेली मुलुकमा सार्वजनिक हुँदै छ । 

संस्मरणमा उनले इरानको कुख्यात एभिन जेलमा आफूले भोगेका अनुभवसँगै आफूलाई दुर्व्यवहार गर्ने जिम्मेवार व्यक्तिहरू र जेल प्रशासनका यातनाका तरिकाबारे पनि उल्लेख गरेकी छन् ।

मोहम्मदीले जेलमा रहँदा साथी र सहकर्मीको सहयोगमा आफ्ना लेखहरू लुकाएर बाहिर पठाउने गरेकी थिइन् । उनका अनुसार एक पटक जेलमा रहेका साथीले भेटघाटका क्रममा तीन पाना मात्र बाहिर लैजान खोज्दा सुरक्षा अधिकारीले ती कागज जफत गरेका थिए । अर्को घटनामा आफूलाई कुटपिट गरेर अर्को जेलमा सारिएपछि उनका २० भन्दा बढी नोट बुक हराएका थिए ।

तर यी घटनाले लेख्न छाड्ने अवस्थामा आफूलाई पुर्‍याउन नसकेको उनले बताएकी छन् । ‘यी घटनालाई अभिलेखमा राख्न र उनीहरूले प्रयोग गर्ने विधि सार्वजनिक गर्न खुलेर बोल्नु आवश्यक छ,’ उनले अन्तर्वार्तामा भनेकी छन् ।

मोहम्मदीले संस्मरण सार्वजनिक गर्दा त्यसको परिणाम आफूले भोग्नुपर्ने सम्भावना रहेको पनि स्वीकार गरेकी छन् । तर आफू त्यसका लागि तयार रहेको उनी बताउँछिन्, ‘परिणाम आउन सक्छन्, तर हाम्रो क्षेत्र र हाम्रो देशमा जीवन यस्तै छ ।’ अन्तर्वार्ता दिनु पनि आफूका लागि जोखिमपूर्ण हुन सक्ने भए पनि बोल्नु आफ्नो ‘कर्तव्य’ भएको उनी बताउँछिन् ।

दुई महिनासम्म एकान्त कारावास

मोहम्मदीका अनुसार पछिल्लो पटक जेलमा रहँदा उनलाई लामो समयसम्म परिवार र कानुनी प्रतिनिधिसँग सम्पर्क गर्न दिइएन । डिसेम्बरमा पक्राउ परेपछि उनलाई करिब दुई महिना एकान्त कारावासमा राखिएको उनले बताएकी छन् ।

नर्वेजियन नोबेल समितिले यसअघि सार्वजनिक गरेको विवरणअनुसार, उनको पक्राउका क्रममा उनलाई काठका लठ्ठी र डन्डाले पटक–पटक कुटिएको, कपाल समातेर भुईँमा घिसारिएको तथा शरीरका विभिन्न भागमा प्रहार गरिएको थियो । समितिले ती विवरणलाई विश्वसनीय रिपोर्टमा आधारित भएको जनाएको थियो ।

मोहम्मदीले जेलमा आफूलाई भएको कुटपिटपछि टाउकोमा घाउ भएको र गम्भीर शारीरिक पीडा भएको बताएकी छन् । उनी भन्छिन्, एकान्त कारावास कैदीलाई शारीरिक रूपमा मात्र होइन, मानसिक र भावनात्मक रूपमा समेत कमजोर बनाउने सरकारी अस्त्रका रूपमा प्रयोग गरिन्छ । उनका अनुसार कैदीलाई परिवार, बाहिरी संसार र आफ्नो पहिचानबाट अलग गर्नु त्यसको एउटा उद्देश्य हो ।

समयमै उपचार नदिनुलाई पनि उनले अर्को गम्भीर समस्या भनेकी छन् । उनको भनाइमा उपचारमा ढिलाइले कैदीको स्वास्थ्यलाई गम्भीर जोखिममा पार्छ र कतिपय अवस्थामा मृत्युको कारणसमेत बन्न सक्छ ।

जेलमै बिग्रियो स्वास्थ्य

पछिल्लो कारावासका क्रममा मोहम्मदीको स्वास्थ्य गम्भीर रूपमा बिग्रिएको थियो । मार्चमा उनलाई हृदयाघातको आशङ्का गरिएको थियो । त्यस क्रममा उनको तौल करिब २० किलोग्राम घटेको उनको फाउन्डेसनले जनाएको थियो ।

उनलाई १८ दिन अस्पतालमा राखेर उपचार गरिएको थियो । लामो समयको तनाव र चिन्ताका कारण मुटुसम्बन्धी समस्या देखिएको उनको फाउन्डेसनको भनाइ थियो । पछि उनलाई अस्थायी रूपमा घर फर्किन अनुमति दिइयो । अहिले पनि उनको उपचार जारी रहेको उनले बताएकी छन् ।

मोहम्मदीले आफ्नो जीवनको ठुलो हिस्सा जेलमा बिताएकी छन् । उनको फाउन्डेसनका अनुसार उनलाई विभिन्न समयमा १३ पटक पक्राउ गरिएको छ र अदालतबाट पटक–पटक सजाय सुनाइएको छ । नोबेल शान्ति पुरस्कार प्रदान गरिँदा उनी जेलमै थिइन् ।

‘फेरि सुरु गर्ने भए पनि त्यही बाटो रोज्थेँ’

जेल र यातनाका कारण आफूले ठुलो व्यक्तिगत मूल्य चुकाउनुपरे पनि संघर्ष सुरु गरेको क्षणमा फर्कन पाए आफूले फेरि त्यही निर्णय गर्ने मोहम्मदीले बताएकी छन् ।

तर उनका दुई सन्तानको कुरा आउँदा भने उनको मनमा प्रश्न उठ्ने गरेको छ । मोहम्मदीका जुम्ल्याहा सन्तान अली र कियाना अहिले १९ वर्षका छन् । उनीहरू फ्रान्समा निर्वासनमा रहेका छन् । लामो समयदेखि आफ्ना सन्तानसँग टाढा रहनुपरेको पीडालाई उनले संस्मरणको महत्त्वपूर्ण हिस्सा बनाएकी छन् । 

तर आफ्ना सन्तानलाई सामान्य जीवन र आमासँगै हुर्कने अधिकारबाट वञ्चित गर्नुपरेको कुराले भने उनीलाई अझै पनि घरीघरी सताउने गरेको बताउँछिन् । उनका अनुसार अली र कियाना नै कठिन समयमा आफूलाई बाँच्ने आशा दिने खास शक्ति बनेका छन् । उनीहरूलाई भेटेर अँगालो हाल्ने र उनीहरू कति ठूला भए भनेर प्रत्यक्ष हेर्ने उनको इच्छा छ । 

त्यसो त नोबेल पुरस्कार घोषणा हुँदा पनि उनी जेलमै भएकोले उनका सन्तानले उनको तर्फबाट पुरस्कार ग्रहण गरेका थिए । नोबेल समितिका अनुसार उनले वर्षौंसम्म आफ्ना सन्तानलाई प्रत्यक्ष भेट्न पाएकी थिइनन् ।

‘वुमन, लाइफ, फ्रिडम’ आन्दोलनसँग जोडिएको संघर्ष

मोहम्मदीको संघर्ष इरानमा महिलामाथिको विभेद र मानवअधिकारको प्रश्नसँग जोडिएको छ । सन् २०२२ मा २२ वर्षीया महसा जिना अमिनीको हिरासतमा मृत्यु भएपछि इरानभर ‘वुमन, लाइफ, फ्रिडम’ अर्थात् ‘महिला, जीवन, स्वतन्त्रता’ आन्दोलन चर्किएको थियो ।

नर्वेजियन नोबेल समितिले पनि सन् २०२३ को नोबेल शान्ति पुरस्कार घोषणा गर्दा मोहम्मदीको संघर्षलाई इरानमा महिलामाथिको दमनविरुद्धको अभियान र मानवअधिकार तथा स्वतन्त्रताको पक्षमा उनको लामो संघर्षसँग जोडेको थियो ।

मोहम्मदीका अनुसार उक्त आन्दोलनले सडकमा उत्रिएका मानिसमा आफ्नो आवाज र अधिकारप्रति विश्वास बढाएको थियो । उनी भन्छिन्, जोखिम हुँदाहुँदै पनि इरानी महिलाहरूले सार्वजनिक स्थानमा आफ्नो प्रतिरोध जारी राखेका छन् ।

मोहम्मदीका लागि नयाँ संस्मरण केवल जेल जीवनको व्यक्तिगत कथा मात्र होइन, जेलभित्रबाट लेखिएको प्रतिरोधको दस्तावेज पनि हो । उनी भन्छिन्, ‘यदि आफ्नो संघर्ष सुरु गरेको समयमै फर्किन पाए, त्यसपछि आफूलाई के–कस्ता परिणाम भोग्नुपर्नेछ भन्ने पहिल्यै थाहा भए पनि म त्यही सङ्घर्षको बाटो रोज्नेछु ।’