साउदीमा लाइसेन्सबिनाको भर्ती सेवामाथि कडाइ, १० कम्पनीलाई जरिवाना

संगम पहरी संगम पहरी

काठमाडौं — साउदी अरबले अनुमति नलिई भर्ती तथा श्रम सेवा सञ्चालन गर्ने कम्पनीमाथि कारबाही तीव्र बनाएको छ। साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले आवश्यक लाइसेन्सबिना भर्ती तथा श्रम सेवा प्रदान गरेको भन्दै १० वटा संस्थालाई जरिवाना गरेको जनाएको छ।

मन्त्रालयका अनुसार अनधिकृत रूपमा भर्ती सेवा सञ्चालन भइरहेको विषयमा गरिएको निरीक्षणका क्रममा ती संस्थाबाट नियम उल्लंघन भएको भेटिएको हो। ग्राहकको अधिकार संरक्षण गर्ने र लाइसेन्सबिना सञ्चालन भइरहेका भर्ती व्यवसायलाई नियन्त्रण गर्ने उद्देश्यले निरीक्षण अभियान सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ।

कारबाहीमा परेका संस्थामध्ये व्यक्तिगत स्वामित्वमा सञ्चालित व्यवसाय, सामान्य सेवा कार्यालय तथा वेबसाइट र विद्युतीय एपमार्फत भर्ती वा श्रमसम्बन्धी सेवा उपलब्ध गराउने सञ्चालकहरू रहेका छन्। उनीहरूले आवश्यक अनुमति नलिई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भर्ती तथा श्रम सेवा प्रदान गरेको मन्त्रालयले जनाएको छ।

साउदीमा लाइसेन्सबिना भर्ती वा श्रम सेवा प्रदान गरेको पहिलो पटक प्रमाणित भए २ लाख साउदी रियाल जरिवाना हुने व्यवस्था छ। दोस्रो पटक उल्लंघन गरेमा जरिवाना २ लाख २० हजार रियाल पुग्छ भने तेस्रो पटक यस्तो उल्लंघन दोहोरिएमा २ लाख ५० हजार रियालसम्म जरिवाना हुन सक्ने मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयले भर्ती तथा श्रम सेवा क्षेत्रमा निगरानीका लागि स्थलगत निरीक्षणसँगै डिजिटल माध्यमको समेत प्रयोग गरिरहेको जनाएको छ। वेबसाइट, विद्युतीय एप, सामाजिक सञ्जाल तथा अन्य डिजिटल प्लेटफर्ममा प्रकाशित भर्तीसम्बन्धी विज्ञापन र सेवाको समेत निगरानी भइरहेको छ। साथै प्राप्त उजुरीमाथि अनुसन्धान गरी सेवा प्रदायकसँग आवश्यक लाइसेन्स भए–नभएको र उनीहरूले आफ्नो अनुमतिको दायराभित्र रहेर काम गरे–नगरेको जाँच गरिने मन्त्रालयले जनाएको छ।

साउदी सरकारले भर्तीसम्बन्धी सेवा लिने ग्राहकलाई आधिकारिक माध्यम प्रयोग गर्न पनि आग्रह गरेको छ। विशेषगरी घरेलु श्रमिकको भर्तीका लागि साउदीको एकीकृत आधिकारिक भर्ती प्लेटफर्म ‘मुसानेद’ प्रयोग गर्न मन्त्रालयले सुझाव दिएको छ।

मुसानेदमार्फत घरेलु श्रमिक भर्ती, श्रमिकको सेवा स्थानान्तरण, श्रमिकको विवरण तथा लाइसेन्स प्राप्त भर्ती सेवा प्रदायकको जानकारी हेर्न सकिने व्यवस्था छ। यसैगरी स्वीकृत विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएकाले भर्ती प्रक्रियालाई थप पारदर्शी बनाउन र अनधिकृत बिचौलियासँगको कारोबार घटाउन मद्दत पुग्ने मन्त्रालयको भनाइ छ।

साउदीमा ठूलो संख्यामा विदेशी श्रमिक कार्यरत रहेकाले भर्ती प्रक्रियामा हुने अनियमितता नियन्त्रण गर्न पछिल्लो समय सरकारी निगरानी बढाइएको छ। नयाँ कारबाहीले आवश्यक अनुमति र लाइसेन्सबिना भर्ती तथा श्रम सेवा सञ्चालन गर्ने संस्थालाई लक्षित गरिएको देखिन्छ। नेपाली श्रमिकका लागि पनि साउदीमा रोजगारीसम्बन्धी सेवा लिँदा आधिकारिक र लाइसेन्स प्राप्त माध्यमबाट मात्रै प्रक्रिया अघि बढाउनु महत्वपूर्ण हुने देखिन्छ।