साउदी अरबको आग्रहपछि चीनले यमनका हुथी विद्रोहीलाई नियन्त्रणमा लिन इरानसँग आन्तरिक रूपमा आग्रह गरेको दाबी गरिएको छ ।
पछिल्लो एक सातामा हुथीहरूले लाल सागरको तटीय क्षेत्र तथा बाब अल–मन्देब आसपास सैन्य गतिविधि तीव्र पारेपछि साउदी अरबले चीनसँग सहयोग मागेको तीन इरानी स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
स्रोतहरूका अनुसार हुथीहरूको तीव्र सैन्य विस्तारले साउदी अरबको तेल निर्यात र लाल सागरमार्फत हुने अन्तर्राष्ट्रिय समुद्री यातायात थप जोखिममा परेको छ । यसैकारण रियादले बेइजिङसँग सहयोग मागेको हो ।
चीनले सार्वजनिक रूपमा क्षेत्रीय तनाव कम गर्न, संवाद अघि बढाउन र समुद्री मार्गमा सुरक्षित आवागमन पुनःस्थापित गर्न आह्वान गर्दै आएको छ । यद्यपि रोयटर्सका अनुसार चीनको आन्तरिक आग्रह सार्वजनिक अभिव्यक्तिभन्दा केही कडा छ । बेइजिङले इरानलाई हुथीहरूमाथिको आफ्नो प्रभाव प्रयोग गरी लाल सागर र ऊर्जा आपूर्ति मार्गमा संकट थप फैलिन नदिन आग्रह गरेको स्रोतहरूको दाबी छ
चीनले यो सन्देश इरानसमक्ष कसरी पुर्यायो भन्ने स्पष्ट भइसकेको छैन । बुधबार चीन भ्रमणमा रहेका इरानी विदेशमन्त्री अब्बास अराघ्चीमार्फत उक्त सन्देश दिइएको हो वा होइन भन्ने विषयमा पनि स्रोतहरूले केही खुलाएका छैनन् ।
तीन इरानी स्रोतका अनुसार चीनको आग्रहमा तेहरानले क्षेत्रीय स्थिरता र शान्तिका लागि सबैभन्दा पहिले इरानमाथि जारी अमेरिकी–इजरायली युद्ध अन्त्य हुनुपर्ने जवाफ दिएको थियो । इरानले हुथीहरूलाई मत्थर पार्ने प्रयास नगरेको खण्डमा आर्थिक दबाब दिने वा अन्य कुनै कदम चाल्ने चेतावनी भने चीनले नदिएको स्रोतहरूको भनाइ छ ।
स्रोतका अनुसार चिनियाँ विदेश मन्त्रालयले क्षेत्रीय तनाव यमन र लाल सागरसम्म फैलिन नहुने बताएको छ । सबै देशको सार्वभौमिकता र सुरक्षाको सम्मान हुनुपर्ने तथा जनजीवनका लागि महत्त्वपूर्ण संरचनालाई निशाना बनाउन नहुने बताउँदै चीनले विवादको समाधान संवाद र वार्ताबाट खोज्न आह्वान गरेको छ । इरानी विदेश मन्त्रालय र साउदी सरकारको सञ्चार कार्यालयले भने यसबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् ।
चीनका लागि लाल सागर र होर्मुज किन महत्त्वपूर्ण ?
चीनका लागि यो विषय क्षेत्रीय सुरक्षा मात्र नभई ऊर्जा सुरक्षासँग पनि जोडिएको छ । इरान एक दशकभन्दा बढी समयदेखि चीनको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहँदै आएको छ भने चीन इरानी तेलको प्रमुख खरिदकर्ता हो । कमोडिटीसम्बन्धी तथ्याङ्क विश्लेषण गर्ने कम्पनी ‘केप्लर’ का अनुसार सन् २०२५ मा इरानको समुद्री मार्गबाट निर्यात भएको तेलमध्ये ८० प्रतिशतभन्दा बढी चीनले खरिद गरेको थियो । यसको औसत मात्रा दैनिक करिब १४ लाख ब्यारेल थियो ।
इरानले स्ट्रेट अफ होर्मुजमा नाकाबन्दीजस्तो अवस्था सिर्जना गरिसकेको छ । यसले विश्व ऊर्जा बजारमा दबाब बढाइरहेको अवस्थामा लाल सागरमा हुथी आक्रमण थप तीव्र भए मध्यपूर्वका दुई महत्त्वपूर्ण तेल तथा व्यापारिक समुद्री मार्ग एकैपटक प्रभावित हुन सक्छन् ।
लाल सागर र बाब अल–मन्देब विश्व व्यापारका लागि महत्त्वपूर्ण समुद्री मार्ग हुन् । यी जलमार्गमा जहाजमाथि निरन्तर आक्रमण वा बन्दरगाहलाई निशाना बनाउने गतिविधि भए ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा थप अवरोध आउन सक्ने चिन्ता बढेको छ ।
एक पश्चिमी कूटनीतिज्ञले रोयटर्सलाई बताएअनुसार चीन इरानलाई हुथी गतिविधि नियन्त्रण गर्न दबाब दिन सक्ने सीमित देशमध्ये एक हो । मध्यपूर्व मामिलाका विश्लेषक एलेक्स वातान्काका अनुसार चीनले इरानमाथि पर्ने अमेरिकी दबाबको विरोध गर्न सक्ने भए तापनि मध्यपूर्वमा उसको हित इरानसँग भन्दा निकै व्यापक छ । चीनले आफ्नो तेल आयातको ठूलो हिस्सा मध्यपूर्वबाट ल्याउने र गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) का देशहरूसँग उसको वार्षिक व्यापार करिब ३०० अर्ब डलर रहेको उनले बताएका छन् ।
इरानले होर्मुजमार्फत दबाब सिर्जना गर्न सक्ने अवस्था रहे तापनि यस्तो दबाब लामो समयसम्म कायम रहे त्यसले इरान आफैँलाई आर्थिक र रणनीतिक रूपमा आवश्यक पर्ने चीनलाई समेत प्रभावित पार्ने वातान्काको भनाइ छ ।
अमेरिकी प्रतिबन्ध र युद्धका कारण इरानको अर्थतन्त्र दबाबमा रहेका बेला चीन इरानका लागि महत्त्वपूर्ण आर्थिक साझेदार हो । इरानी तेल उद्योगमा लगानी गर्न तथा अर्थतन्त्रलाई राहत दिन सक्ने वित्तीय क्षमता भएका सीमित देशमध्ये चीन एक हो ।
चीनले सन् २०२३ मा इरान र साउदी अरबबीच कूटनीतिक सम्बन्ध पुनःस्थापित गराउन महत्त्वपूर्ण भूमिका खेलेको थियो । लामो समयको तनावपछि दुई देशबीच सम्बन्ध सुधार्ने उक्त पहललाई चीनको पश्चिम एसियामा बढ्दो कूटनीतिक प्रभावको महत्त्वपूर्ण उदाहरणका रूपमा लिइन्छ ।
यद्यपि इरान–चीन सम्बन्धका आफ्नै सीमाहरू छन् । सन् २०२१ मा दुई देशले २५ वर्षे सहकार्य सम्झौता गरे तापनि चीनबाट इरानमा गैर–तेल क्षेत्रमा अपेक्षित स्तरको व्यापार र लगानी नआएको भन्दै इरानभित्रै आलोचना हुँदै आएको छ ।
अहिले तेहरानका लागि चीनलाई बेवास्ता गर्न कठिन भए तापनि हुथीसम्बन्धी निर्णयमा चिनियाँ चासो मात्र निर्णायक नहुने इरानी स्रोतहरूले बताएका छन् । इरानले रणनीतिक, आर्थिक र राजनीतिक पक्षलाई समेत ध्यानमा राखेर निर्णय गर्ने उनीहरूको भनाइ छ ।
यमनमा सन् १९९० को दशकमा उदाएको हुथी आन्दोलनले साउदी अरबको प्रभाव र हस्तक्षेपको विरोध गर्दै आफ्नो शक्ति विस्तार गरेको थियो । पश्चिमी मुलुक तथा इरानी स्रोतहरूका अनुसार हुथीलाई इरानले हतियार, तालिम र आर्थिक सहयोग दिँदै आएको छ ।
हुथीहरू इरानसँग जोडिएको क्षेत्रीय सशस्त्र सञ्जालको एउटा महत्त्वपूर्ण हिस्सा मानिन्छन् । पछिल्लो समय उनीहरूको सैन्य गतिविधि यमनबाट बाहिर लाल सागर तथा बाब अल–मन्देब क्षेत्रको समुद्री सुरक्षासँग समेत जोडिएको छ ।
यही कारण चीनले इरानमार्फत हुथीमाथि प्रभाव प्रयोग गर्ने प्रयास गरेको हुन सक्ने विश्लेषण गरिएको छ । यद्यपि तेहरानले बेइजिङको आग्रहअनुसार कदम चाल्छ वा चाल्दैन भन्ने अहिलेसम्म स्पष्ट छैन । अब मुख्य प्रश्न चीनले आफ्नो आग्रह कार्यान्वयन गराउन इरानमाथि कति प्रभाव प्रयोग गर्न सक्छ भन्ने हो । इरान र चीन दुवैलाई एकअर्काको आवश्यकता रहेको अवस्थामा होर्मुज खुला राख्नु र लाल सागर हुँदै हुने समुद्री यातायात सुरक्षित गर्नु चीनको तत्कालीन रणनीतिक हित बनेको देखिन्छ ।