काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोनमार्फत विशेष छलफल गर्दै नेपाली श्रमिकको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउन आग्रह गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री शाहले मलेसियाका समकक्षी इब्राहिमसँग आज भएको छलफलमा नेपाली श्रमिकको हितसँग जोडिएका विभिन्न विषयमा कुराकानी गरेका हुन्। छलफलका क्रममा उनले मलेसियाको रोजगारी क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा अन्त्य गर्नुपर्ने विषयमा विशेष जोड दिएका छन्।
प्रधानमन्त्री शाहले नेपाली श्रमिकका लागि मलेसियाको रोजगारीलाई थप व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउन आवश्यक रहेको बताएका छन्। श्रमिक भर्ती प्रक्रियामा हुने अनावश्यक हस्तक्षेप, बिचौलियाको भूमिका तथा अस्वस्थ प्रतिस्पर्धाले श्रमिकमाथि अतिरिक्त आर्थिक भार र शोषणको जोखिम बढाउन सक्ने भएकाले त्यस्ता प्रवृत्तिको अन्त्य आवश्यक रहेको उनको भनाइ थियो।
छलफलका क्रममा प्रधानमन्त्री शाहले मलेसियामा नेपाली श्रमिकले भोगिरहेका समस्या समाधानका लागि दुई देशबीच निरन्तर समन्वय आवश्यक रहेको बताएका छन्। उनले नेपाली श्रमिकको अधिकार र हित सुनिश्चित हुने गरी भर्ती तथा रोजगारी प्रक्रियालाई पारदर्शी बनाउनुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्री शाहले मलेसियाका प्रधानमन्त्री इब्राहिमलाई आफूले उठाएका विषयमा सकारात्मक पहलका लागि आग्रह गर्दै नेपाल र मलेसियाबीच श्रमसम्बन्धी सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन्। विशेषगरी नेपाली श्रमिकको भर्ती प्रक्रियामा देखिने सिन्डिकेट र बिचौलियाको प्रभाव हटाएर श्रमिकले निष्पक्ष र पारदर्शी रूपमा रोजगारीको अवसर पाउने वातावरण बनाउनुपर्नेमा उनले जोड दिएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार इब्राहिमले पनि प्रधानमन्त्री शाहले उठाएका विषयमा चासो देखाएका छन्। उनले मलेसियाको रोजगारी क्षेत्रमा रहेका समस्या समाधानका लागि आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपालका लागि मलेसिया लामो समयदेखि प्रमुख वैदेशिक रोजगार गन्तव्यमध्ये एक हो। ठूलो संख्यामा नेपाली श्रमिक मलेसियामा कार्यरत रहेकाले त्यहाँको भर्ती प्रक्रिया, रोजगारीको अवस्था, श्रमिकको अधिकार तथा रोजगारदातासँग सम्बन्धित विषय नेपालका लागि महत्वपूर्ण मानिन्छ।
पछिल्लो समय मलेसियाले विदेशी श्रमिक भर्ती प्रक्रियालाई नयाँ प्रणालीमार्फत व्यवस्थापन गर्ने तयारी गरेसँगै नेपाल र मलेसियाबीच श्रमिक भर्तीको विषयमा समेत चासो बढेको छ। यस्तो अवस्थामा प्रधानमन्त्री शाह र मलेसियाका प्रधानमन्त्री इब्राहिमबीच भएको छलफललाई नेपाली श्रमिकको भर्ती प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउने विषयमा उच्च राजनीतिक तहको संवादका रूपमा हेरिएको छ।
प्रधानमन्त्री शाहले नेपाली श्रमिकको हितमा कुनै पनि अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पार्दै यसको स्थायी समाधानका लागि संयुक्त पहल आवश्यक रहेको बताएका छन्। दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउँदै नेपाली श्रमिकको अधिकार र हित संरक्षण गर्ने विषयमा सहकार्य अघि बढाउनुपर्ने उनको जोड छ।
