श्रम स्वीकृति नवीकरण नभए पनि २३ हजार तिरेर उडे कुवेत

आप्रवासन आप्रवासन

काठमाडौं । कुवेतमा वैदेशिक रोजगारीमा रहेका एक नेपाली श्रमिक बिदा सकेर कुवेत फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रोकिएका छन् । श्रम स्वीकृति नवीकरण नभएको भन्दै अध्यागमनले रोकेपछि अनलाइन प्रणालीबाट समेत तत्काल प्रक्रिया अघि बढ्न नसकेको अवस्थामा ती श्रमिकले २३ हजार रुपैयाँ तिरेर कुवेत उडेको अनलाइनखबरले जनाएको छ।

अनलाइनखबरका अनुसार ती श्रमिकले कुवेत फर्किनका लागि बोर्डिङ पाससमेत लिइसकेका थिए । बिहान करिब ७ बजे विमानस्थलमा पुगेपछि अध्यागमनले श्रम स्वीकृति नवीकरण नभएको भन्दै उनलाई रोकेको थियो । उनको कुवेत जाने उडान बिहान ७ः४५ बजेका लागि तय थियो र उडान छुट्न करिब एक घण्टा मात्रै बाँकी थियो।

श्रम स्वीकृति नवीकरण गर्नुपर्ने विषयमा जानकारी नभएका ती श्रमिकले विमानस्थलमै पुगेपछि अनलाइनमार्फत प्रक्रिया पूरा गर्न खोजेका थिए । तर, त्यस समयमा वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली नचलेपछि उनी थप समस्यामा परेको रिपोर्टमा उल्लेख छ।

यही क्रममा विभिन्न नम्बरबाट फोन आउन थालेको र ‘समस्या समाधान गरिदिने’ भन्दै एक व्यक्तिले २८ हजार रुपैयाँ मागेको उनका आफन्तले बताएका छन्। त्यसपछि ‘दीपक मल्ल’ नाम गरेका व्यक्तिले ह्वाट्स एपमार्फत सम्पर्क गरी आफ्नै नाममा रहेको एनआईसी एसिया बैंकको क्यूआर कोड पठाएको बताइएको छ।

ती श्रमिकले तत्काल आफूसँग २३ हजार रुपैयाँ मात्रै रहेको बताएपछि उक्त रकम पठाएका थिए। बाँकी ५ हजार रुपैयाँ भने कुवेत पुग्नुअघि नेपालमा रहेका आफन्तमार्फत पठाउन भनिएको आफन्तको दाबी छ। रकम नदिए कुवेत पुगेपछि पनि समस्या हुन सक्ने भन्दै दबाब दिइएको उनीहरूको भनाइ छ।

अनलाइनखबरले सार्वजनिक गरेको विवरणअनुसार २३ हजार रुपैयाँ पठाएपछि ती श्रमिक श्रम स्वीकृति नवीकरण नगरी कुवेततर्फ उडेका थिए। रकम पठाइएको प्रमाणमा ‘दीपक मल्ल’को नाममा रहेको एनआईसी एसिया बैंकको क्यूआर कोडमा २३ हजार रुपैयाँ पठाइएको देखिएको रिपोर्टमा उल्लेख छ। बाँकी ५ हजार रुपैयाँका लागि समेत ती श्रमिकका आफन्तलाई ह्वाट्स एपमार्फत पटक–पटक सम्पर्क गरिएको जनाइएको छ।

उक्त विषयमा सम्बन्धित व्यक्तिसँग सम्पर्क गर्दा श्रम स्वीकृति नवीकरण गरेर पुनः अध्यागमन पार गर्ने वा उडान छुटेमा महँगो मूल्यमा अर्को टिकट काटेर कुवेत जानुपर्ने विकल्प दिइएको आफन्तले बताएका छन्।

यस घटनामा अध्यागमनका कर्मचारीको मिलेमतो भएको दाबीसमेत रिपोर्टमा गरिएको छ। तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले भने यसबारे आफूहरूलाई जानकारी नभएको जनाएको छ।

अध्यागमन कार्यालयका सूचना अधिकारी अनुज भण्डारीले श्रम स्वीकृति नवीकरण नभई रकम लिएर कुनै व्यक्तिलाई पठाइएको भए त्यस्तो कार्यमा संलग्न कर्मचारीमाथि कारबाही हुने बताएका छन्। उनका अनुसार श्रम स्वीकृति नवीकरण नगरी त्यसरी रकम लिएर यात्रुलाई पठाउने कार्य गर्न मिल्दैन।

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक बिदामा नेपाल आएर पुनः गन्तव्य मुलुक फर्किंदा श्रम स्वीकृति नवीकरण गर्नुपर्ने व्यवस्था छ। तर, यसबारे पर्याप्त जानकारी नहुँदा कतिपय श्रमिक विमानस्थल पुगेपछि मात्रै समस्यामा पर्ने गरेको देखिन्छ।

त्यसमाथि श्रम स्वीकृति नवीकरणका लागि प्रयोग हुने सरकारी अनलाइन प्रणालीमा प्राविधिक समस्या आउँदा उडानको समय नजिकिएका श्रमिक थप समस्यामा पर्न सक्ने अवस्था देखिएको छ। यस्तो परिस्थितिको फाइदा उठाउँदै बिचौलियाले श्रमिकसँग रकम असुल्ने जोखिमसमेत रहेको रिपोर्टले औंल्याएको छ।

यो समाचार अनलाइनखबरमा प्रकाशित रिपोर्टमा आधारित हो। समाचारको पूर्ण श्रेय तथा स्रोत: अनलाइनखबर