विमानस्थलबाट श्रम स्वीकृति नभएका यात्रु उडेपछि अध्यागमन अधिकृत विभाग तानिए

आप्रवासन आप्रवासन

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिना श्रम स्वीकृति वैदेशिक रोजगारीमा जाने कामदारलाई  सेटिङमा उडाएको भेटिएको छ । असोज ५ गते कुवेत प्रस्थान गर्न लागेका एक यात्रुलाई गैरकानुनी रूपमा प्रस्थान अनुमति (डिपार्चर) दिएको पाइएपछि विमानस्थलस्थित अध्यागमन कार्यालयका अध्यागमन अधिकृत चेत बहादुर सेजुवाल विभागमा तानिएका हुन् ।

यात्रु उडिसकेपछि मात्रै वैदेशिक रोजगार विभागको प्रणालीबाट श्रम स्वीकृतिको प्रक्रिया अगाडि बढाइएको भेटिएको छ । अध्यागमन विभागको ‘नेपाली पोर्ट प्रणाली’ र विमानस्थलको सीसीटीभी फुटेजको प्रारम्भिक अनुसन्धानले घटनाको नालीबेली खुलाएको छ । 

ती यात्रु असोज ५ गते बिहान करिब ६ बजेर ३० बजे अध्यागमन क्षेत्रमा प्रवेश गरेका थिए । श्रम स्वीकृति नभएको अवस्थामा पनि उनले अध्यागमन डेस्कमा करिब आधा घण्टासम्म कुराकानी गरेका थिए । सोही क्रममा तेस्रो व्यक्तिसँग समेत सम्पर्क भएको र सेटिङ मिलाएपछि बिहान ७ बजेर १० मिनेटमा प्रस्थान अनुमति दिइएको विभागले गरेको प्रारम्भिक छानबिनले देखाएको छ ।

वैदेशिक रोजगारीमा हिँडेका यात्रुलाई डिपार्चर अनुमति दिलाउन अर्का एकजना बिचौलियाको पनि भूमिका देखिएको छ । डिपार्चर अनुमति अधिकृत सेजुवालले दिएको भेटिएको छ । जापानमा बस्ने अर्का व्यक्ति र बिचौलियाको बिचमा २३ हजार रकम समेत लेनदेन भएको भेटिएको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले बताए । विभागले गरेको प्रारम्भिक छानबिनमा जापानमा बस्ने व्यक्तिले क्युआरमार्फत बिचौलियालाई रकम पठाएको र अधिकृतले रकम आएको यकिन गरेर डिपार्चर दिएको भेटिएको छ ।

यस प्रकरणमा प्रस्थान अनुमति दिने विमानस्थलमा कार्यरत अध्यागमन अधिकृतको प्रत्यक्ष संलग्नता रहेको प्रारम्भिक निष्कर्ष निकालिएको छ । घटनामा संलग्न देखिएका अध्यागमन अधिकृतमाथि विस्तृत अनुसन्धान गर्न अख्तियारमा लेखेर पठाइएको निर्देशक ढकालले बताए ।