ट्रम्पले डेनमार्क र ग्रिनल्यान्डसँग गरे सुरक्षा सम्झौता, अमेरिकालाई सैन्य उपस्थिति विस्तारको बाटो

आप्रवासन आप्रवासन

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा अमेरिकाको सुरक्षा तथा सैन्य उपस्थिति विस्तार गर्ने गरी डेनमार्क र ग्रिनल्यान्डसँग नयाँ सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभा चलिरहेका बेला मंगलबार न्युयोर्कमा ट्रम्प, ग्रिनल्यान्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सेन र डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सेनले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सीबीएस न्युजका अनुसार नयाँ सम्झौताले ग्रिनल्यान्डमाथि डेनमार्कको सार्वभौमिकतालाई पुनः पुष्टि गरे पनि अमेरिकालाई त्यहाँको हवाई क्षेत्र र भूभागमा व्यापक सैन्य पहुँच प्रदान गरेको छ। सम्झौताअनुसार अमेरिकाले हाल सञ्चालनमा रहेको पिटुफिक स्पेस बेस विस्तार गर्न सक्नेछ भने नार्सार्सुआक र मेस्टर्सभिगमा थप सैन्य आधार स्थापना गर्न सक्ने व्यवस्था गरिएको छ।

ग्रिनल्यान्डमा रहेको पिटुफिक स्पेस बेस अमेरिकाको सबैभन्दा उत्तरी सैन्य प्रतिष्ठान हो। यसले क्षेप्यास्त्रबाट आउने सम्भावित जोखिमको पूर्वचेतावनी तथा अन्तरिक्ष निगरानीजस्ता काममा भूमिका खेल्दै आएको छ। नयाँ सम्झौताले आवश्यकताअनुसार थप ‘डिफेन्स एरिया’ स्थापना गर्ने सम्भावनासमेत खुला राखेको छ, तर त्यस्ता क्षेत्रका लागि तीनै पक्षको स्वीकृति आवश्यक हुनेछ।

सम्झौतामा गैर–नेटो देशहरूलाई सम्बन्धित पक्षहरूको सहमतिबिना ग्रिनल्यान्डमा सैन्य आधार स्थापना गर्न रोक लगाइएको छ। साथै, गैर–नेटो र गैर–युरोपेली संघका देशबाट हुने संवेदनशील विदेशी लगानीमाथि निगरानी कडा बनाउने व्यवस्था गरिएको छ। यसको उद्देश्य चीन र रुसजस्ता अमेरिकी प्रतिस्पर्धी मुलुकको प्रभाव विस्तार रोक्नु रहेको अमेरिकी पक्षले जनाएको छ।

सम्झौताको अर्को महत्वपूर्ण पक्ष यसको अवधि हो। सीबीएस न्युजका अनुसार सम्झौतामा कुनै निश्चित म्याद तोकिएको छैन र भविष्यमा ग्रिनल्यान्ड डेनमार्कबाट स्वतन्त्र भए पनि सम्झौता कायम रहने व्यवस्था गरिएको छ।

हस्ताक्षरअघि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै ट्रम्पले नयाँ सम्झौताले ग्रिनल्यान्डमा अमेरिकालाई सुरक्षा तथा अन्य आवश्यकताका विषयमा दीर्घकालीन अधिकार दिने बताएका थिए। उनले अमेरिकाले ग्रिनल्यान्डमा थप दुई सैन्य आधार निर्माण गर्न सक्ने बताएका छन्।

ग्रिनल्यान्डका प्रधानमन्त्री निल्सेनले नयाँ सम्झौताले बदलिँदो विश्व सुरक्षा अवस्थालाई सम्बोधन गर्ने बताएका छन्। डेनमार्ककी प्रधानमन्त्री फ्रेडरिक्सेनले भने सम्झौताले डेनमार्क अधीनको राज्यको क्षेत्रीय अखण्डता तथा ग्रिनल्यान्डका जनताको आत्मनिर्णयको अधिकारलाई सम्मान गर्ने बताएकी छन्।

ग्रिनल्यान्डलाई लिएर ट्रम्प र डेनमार्कबीच लामो समयदेखि विवाद रहँदै आएको थियो। ट्रम्पले यसअघि ग्रिनल्यान्ड अमेरिकाको रणनीतिक सुरक्षाका लागि महत्वपूर्ण रहेको भन्दै डेनमार्कबाट उक्त भूभाग खरिद गर्नुपर्ने धारणा अघि सारेका थिए। उनले सैन्य बल प्रयोगको सम्भावनालाई समेत खुला राखेपछि डेनमार्क, ग्रिनल्यान्ड र अन्य नेटो सदस्य राष्ट्रहरूले त्यसको विरोध गरेका थिए।

नयाँ सम्झौताले भने ग्रिनल्यान्डमाथि अमेरिकी स्वामित्व कायम गर्ने व्यवस्था गरेको छैन। बरु डेनमार्कको सार्वभौमिकता कायम राख्दै ग्रिनल्यान्डमा अमेरिकी सुरक्षा र सैन्य पहुँच विस्तार गर्ने संरचना बनाएको छ। डेनमार्क र ग्रिनल्यान्डका नेताहरूले पनि सम्झौताले आफ्नो सार्वभौमिकता र आत्मनिर्णयको अधिकार कायम राखेको बताएका छन्।

आर्कटिक क्षेत्रमा बढ्दो सुरक्षा प्रतिस्पर्धाका बीच भएको यो सम्झौतालाई अमेरिका, डेनमार्क र ग्रिनल्यान्डबीचको लामो समयदेखिको तनावपछि भएको महत्वपूर्ण सुरक्षा सहमतिको रूपमा सीबीएस न्युजले उल्लेख गरेको छ।

स्रोत : CBS News