यूएई जाने श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्रमा ५०% छुट, ३ दिनमै प्रमाणीकरण

आप्रवासन आप्रवासन

संयुक्त अरब इमिरेट्स (यूएई) मा वैदेशिक रोजगारीका लागि जाने नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र (PCC) Attestation प्रक्रियामा सहजता हुने भएको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पहलपछि यूएईले आगामी अक्टोबर २०२६ देखि नेपाली श्रमिकको PCC Attestation शुल्कमा ५० प्रतिशत छुट दिने र प्रमाणीकरणको समय घटाएर तीन कार्यदिनभित्रै प्रक्रिया पूरा गर्ने व्यवस्था गर्न लागेको संघले जनाएको छ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्रीको नेतृत्वमा संघका पदाधिकारीसहितको प्रतिनिधिमण्डलले नेपालस्थित यूएईका राजदूतसँग भेट गरी वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिक तथा व्यवसायीले भोगिरहेका विभिन्न समस्याबारे छलफल गरेको थियो। सोही क्रममा संघले यूएई जाने नेपाली श्रमिकका लागि PCC Attestation अनिवार्य नगर्ने व्यवस्था मिलाउन विशेष आग्रह गरेको थियो।

संघका अनुसार PCC Attestation यूएईको आन्तरिक सुरक्षा व्यवस्थासँग सम्बन्धित विषय भएकाले यसको प्रक्रिया पूर्ण रूपमा हटाउन तत्काल सम्भव नभए पनि नेपाली श्रमिकलाई पर्ने आर्थिक तथा प्रक्रियागत भार घटाउने विषयमा यूएई पक्ष सकारात्मक देखिएको छ।

भेटका क्रममा यूएईका राजदूतले अक्टोबर २०२६ देखि वैदेशिक रोजगारीका लागि यूएई जाने नेपाली श्रमिकको PCC Attestation मा हाल लाग्दै आएको शुल्कमा ५० प्रतिशत छुट दिने जानकारी दिएको संघले जनाएको छ। त्यस्तै, हाल PCC Attestation पूरा गर्न लाग्ने समयलाई घटाएर अबदेखि तीन कार्यदिनभित्रै प्रमाणीकरण सम्पन्न हुने व्यवस्था मिलाइएको जानकारीसमेत राजदूतबाट प्राप्त भएको संघको भनाइ छ।

यसअघि PCC Attestation प्रक्रियामा लाग्ने शुल्क र समयका कारण यूएईमा रोजगारीका लागि जाने नेपाली श्रमिकलाई थप आर्थिक तथा प्रक्रियागत झन्झट हुने गरेको थियो। नयाँ व्यवस्थाले श्रमिकको विदेश जाने प्रक्रियालाई केही सहज बनाउने अपेक्षा गरिएको छ।

यस्तै, निकट भविष्यमा नेपालबाट भ्रमण तथा व्यावसायिक भिसामा यूएई जाने नेपाली नागरिकका लागि समेत PCC Attestation गर्न नपर्ने व्यवस्था मिलाउने प्रतिबद्धता यूएईका राजदूतले व्यक्त गरेको संघले जनाएको छ। यो व्यवस्था कार्यान्वयनमा आएमा यूएई जाने नेपाली नागरिकका लागि भिसा प्रक्रियामा थप सहजता हुने अपेक्षा गरिएको छ।

भेटका क्रममा नेपालका अन्तर्राष्ट्रिय विमानस्थलबाट यूएईका नियमित व्यावसायिक उडान सञ्चालन गर्ने विषयमा समेत छलफल भएको थियो। संघका अनुसार यूएईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक उडान सञ्चालन गर्न थालिसकेको छ भने भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत नियमित उडान सञ्चालनका लागि आवश्यक पहल भइरहेको छ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत छिट्टै नियमित उडान सञ्चालन हुने प्रतिबद्धता यूएईका राजदूतबाट प्राप्त भएको संघले जनाएको छ। नेपालका पोखरा र भैरहवा विमानस्थलबाट यूएईसँग नियमित हवाई सेवा विस्तार भएमा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

संघका अनुसार विगतमा हवाई भाडा तुलनात्मक रूपमा कम पर्ने भएकाले कतिपय नेपाली श्रमिक भारत हुँदै गन्तव्य मुलुक जान बाध्य हुने गरेका थिए। नेपालका विभिन्न अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान विस्तार भएमा श्रमिकले नेपालबाटै सहज रूपमा गन्तव्य मुलुकतर्फ यात्रा गर्न सक्ने र यात्राको अतिरिक्त झन्झट तथा खर्चसमेत घट्न सक्ने अपेक्षा गरिएको छ।

संघले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक तथा यस क्षेत्रमा काम गर्ने व्यवसायीलाई पोखरा र भैरहवा विमानस्थलको प्रयोग बढाउन आग्रह गरेको छ। साथै, नेपालका क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित हवाई सेवा सञ्चालनलाई थप सहज, प्रभावकारी र दीगो बनाउन सम्बन्धित पक्षसँग समन्वय र सहकार्य आवश्यक रहेको संघले जनाएको छ।

वैदेशिक रोजगार व्यवसायीले भोग्दै आएका व्यावहारिक समस्याको समाधानका लागि संघले सम्बन्धित सरकारी निकाय तथा नेपालमा रहेका कूटनीतिक नियोगसँग निरन्तर समन्वय, सहकार्य र पहल गर्दै आएको जनाएको छ। यूएईसँगको पछिल्लो छलफल पनि नेपाली श्रमिक तथा वैदेशिक रोजगार व्यवसायीले भोग्दै आएका प्रक्रियागत समस्यालाई सहज बनाउने प्रयासकै निरन्तरता भएको संघको भनाइ छ।