काठमाडौँ । खराब मौसम र अपर्याप्त भिजिबिलिटीका कारण आज आन्तरिक हवाई उडानहरू प्रभावित भएका छन्। मौसममा आएको खराबीका कारण पहाडी र तराईका केही गन्तव्यहरूको उडान तालिका प्रभावित भएको हो।
बुद्ध एयरले दिएको जानकारी अनुसार भिजिबिलिटी कम भएका कारण भरतपुर र तुम्लिङटार विमानस्थल अहिलेसम्म खुल्न सकेका छैनन्। यी गन्तव्यहरूमा मौसम सफा भएर भिजिबिलिटी नबढेसम्म उडान सुचारु हुन नसक्ने कम्पनीले जनाएको छ।
पोखरा विमानस्थलको भिजिबिलिटी भने क्रमिक रूपमा बढ्दो अवस्थामा रहेको छ। भिजिबिलिटीमा थप सुधार आएपछि पोखराका लागि उडानहरू नियमित हुने अपेक्षा गरिएको छ।
त्यसैगरी, मौसमकै प्रतिकूलताका कारण आजका लागि तय गरिएका सम्पूर्ण माउन्टेन उडानहरू रद्द भएका छन्। भिजिबिलिटी कम हुँदा हिमाल नदेखिने र उडानसमेत जोखिमपूर्ण हुने भएकाले आजको माउन्टेन उडान गर्न नसकिएको बुद्ध एयरले स्पष्ट पारेको छ।