काठमाडौं । न्युजिल्यान्डले भिजिटर भिसाको आवेदन प्रक्रियालाई थप डिजिटल बनाउँदै अधिकांश भिजिटर भिसा आवेदन नयाँ अनलाइन प्रणालीमा स्थानान्तरण गरेको छ। अब अधिकांश प्रकारका भिजिटर भिसाका लागि नयाँ आवेदन दिँदा पुरानो प्रणालीको सट्टा Immigration New Zealand (INZ) को ‘Enhanced Immigration Online’ प्रणाली प्रयोग गर्नुपर्ने भएको छ।
INZ का अनुसार सेप्टेम्बर २४, २०२६ देखि अधिकांश भिजिटर भिसाका नयाँ आवेदन पुरानो अनलाइन प्रणालीबाट सिर्जना गर्न नपाइने व्यवस्था लागू भएको हो। नयाँ आवेदन अब Enhanced Immigration Online मार्फत मात्र दिनुपर्नेछ। यो परिवर्तन न्युजिल्यान्डले भिसा आवेदन र प्रशोधनलाई एउटै डिजिटल प्रणालीमा लैजाने योजनाअन्तर्गत गरिएको हो।
यो परिवर्तन सामान्य भिजिटर भिसासहित व्यवसायिक भ्रमण, शैक्षिक भ्रमण, अभिभावक तथा हजुरबा–हजुरआमा, अभिभावकको साथमा जाने, चिकित्सा उपचार, खेलकुद कार्यक्रम, सञ्चारकर्मी तथा अन्य विभिन्न प्रयोजनका भिजिटर भिसामा लागू भएको छ। समूहमा भ्रमण गर्नेका लागि ‘ग्रुप भिजिटर भिसा’ र भ्रमण समूहसँग जाने ‘टुर एस्कर्ट भिजिटर भिसा’ पनि अगस्ट २४ देखि नै नयाँ प्रणालीमा सारिएका थिए।
नयाँ प्रणालीमा आवेदन दिँदा आवश्यक कागजात अनलाइनमै अपलोड गर्न सकिनेछ। आवेदनको अवस्था पनि अनलाइनबाटै हेर्न सकिने र आवेदकलाई आवश्यक जानकारी तथा सूचनाहरू इमेलमार्फत उपलब्ध गराउने व्यवस्था रहेको INZ ले जनाएको छ। प्रणालीले आवेदकको भिसाको प्रकार, राष्ट्रियता र यात्रासम्बन्धी विवरणअनुसार आवश्यक प्रमाण तथा कागजातबारे मार्गदर्शनसमेत उपलब्ध गराउँछ।
यस परिवर्तनसँगै पुरानो प्रणालीमा पहिले नै आवेदन बुझाइसकेका व्यक्तिले भने पुनः नयाँ आवेदन दिनुपर्ने छैन। सेप्टेम्बर २४ भन्दा अगाडि पुरानो प्रणालीबाट बुझाइसकेका आवेदनहरूलाई INZ ले पुरानै प्रक्रियाअनुसार अघि बढाउने जनाएको छ। त्यस्ता आवेदकले निर्णय नहुँदासम्म आवश्यक कागजात थप्न वा INZ ले मागेको जानकारी उपलब्ध गराउन पुरानो प्रणाली प्रयोग गर्न सक्नेछन्।
तर पुरानो प्रणालीमा आवेदनको मस्यौदा अर्थात् आवेदन सुरु गरेर अझै बुझाउन बाँकी रहेको अवस्थामा भने समयसीमा महत्वपूर्ण छ। INZ का अनुसार त्यस्ता मस्यौदा आवेदनलाई अक्टोबर ७, २०२६ सम्म पूरा गरी बुझाउन सकिनेछ। अक्टोबर ८ देखि पुरानो प्रणालीमा बाँकी रहेका सम्बन्धित मस्यौदा आवेदन हटाइनेछन्। त्यसपछि आवेदन दिन चाहनेले नयाँ Enhanced Immigration Online प्रणालीबाट फेरि नयाँ आवेदन सुरु गर्नुपर्नेछ।
यस्तै, न्युजिल्यान्डले कागजी आवेदनलाई समेत क्रमशः हटाउँदै लगेको छ। अक्टोबर १, २०२६ देखि केही बाँकी भिजिटर तथा ट्रान्जिट भिसाका कागजी आवेदनसमेत सामान्य अवस्थामा स्वीकार नगर्ने व्यवस्था गरिएको छ। यसअन्तर्गत पिटकेर्न आइल्यान्डर, निजी पानीजहाज वा विमान, छोटो अवधिको मनोरञ्जन, खेलकुद कार्यक्रम, सुपर याट, टुर एस्कर्ट र सञ्चारकर्मीका लागि दिइने केही भिजिटर भिसा पर्छन्। यी आवेदन Enhanced Immigration Online बाट दिनुपर्नेछ।
नयाँ प्रणालीमा आवेदन गर्दा कागजी प्रक्रिया कम हुने, आवश्यक कागजात अनलाइनबाटै पठाउन सकिने, आवेदनको अवस्था हेर्न सकिने र आवेदनमा आवश्यक जानकारी पूरा गर्न प्रणालीले मार्गदर्शन गर्ने INZ ले जनाएको छ। आवेदनका क्रममा राहदानीसम्बन्धी विवरण स्वचालित रूपमा लिन सकिने सुविधासमेत उपलब्ध रहेको छ।
तर सबै भिजिटर भिसा एकैपटक नयाँ प्रणालीमा सारिएका भने छैनन्। न्युजिल्यान्डका सैनिक, विद्यार्थी तथा कामदारका साझेदार वा सन्तानका केही भिजिटर भिसा नयाँ प्रणालीमा पहिले नै स्थानान्तरण भइसकेका छन्। न्युजिल्यान्डका नागरिकका साझेदार तथा सन्तानका केही भिजिटर भिसा भने तत्कालका लागि पुरानै आवेदन माध्यममा उपलब्ध रहने INZ ले जनाएको छ।
न्युजिल्यान्ड जाने योजना बनाइरहेका नेपालीका लागि यो परिवर्तन विशेषगरी आवेदन सुरु गर्ने समय र प्रयोग गर्ने प्रणालीका हिसाबले महत्वपूर्ण छ। नयाँ भिजिटर भिसा आवेदन दिनुअघि आफ्नो भिसा श्रेणी नयाँ Enhanced Immigration Online मा परेको छ कि छैन भन्ने कुरा INZ को आधिकारिक प्रणालीमा जाँच गरेर मात्र आवेदन प्रक्रिया अघि बढाउनु उपयुक्त हुन्छ।
न्युजिल्यान्ड सरकारले भिसा आवेदन प्रक्रियालाई थप सरल, छिटो र प्रयोगकर्तामैत्री बनाउने उद्देश्यले क्रमशः सबै भिसा आवेदनलाई Enhanced Immigration Online मा लैजाने योजना अघि बढाएको जनाएको छ।