संस्थाको वैधानिकता वा शिक्षाको गुणस्तरमाथि प्रश्न उठाउँदा प्रचलित कानुनमा रहेको व्यवस्था, शिक्षण संस्था तथा कार्यक्रमको स्वीकृति र विश्वविद्यालयको एक्रेडिटेसन, डिग्रीको विश्वसनीयता, अन्तर्राष्ट्रिय मान्यता, शैक्षिक प्रतिष्ठा र अध्ययन पूरा गरेका विद्यार्थीलाई रोजगार बजारले दिएको अवसर एवं स्वीकार्यतालाई आधार बनाएर निष्कर्ष निकाल्नुपर्ने उसको आग्रह छ ।
मंगलबार पत्रकार सम्मेलनमा आईप्यान अध्यक्ष लक्ष्मण केसीले शिक्षा मन्त्रालयको अनुमतिमा सञ्चालन भइरहेका कार्यक्रम कुनै पनि बेला कानुनी आधारबिना बन्द हुन सक्ने भन्ने दाबी गलत भएको बताए । शिक्षा ऐन, २०२८ को दफा १९ अन्तर्गत जारी ‘विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३’ ले यस्ता कार्यक्रमको सञ्चालन र नियमनको व्यवस्था गरेको उनले जानकारी दिए ।
केसीका अनुसार नेपालमा सात देशका ३५ विदेशी विश्वविद्यालयसँग सम्बन्धित कार्यक्रम सञ्चालनमा छन् । यस्ता कार्यक्रम सञ्चालन गर्न अनुमति पाएका ५८ संस्थामा ३७ हजार २०८ विद्यार्थी अध्ययनरत छन् । यस क्षेत्रबाट करिब पाँच हजार प्रत्यक्ष र १५ हजार अप्रत्यक्ष रोजगारी सिर्जना भएको तथा करिब २५ अर्ब रुपैयाँ लगानी भएको आईप्यानको दाबी छ । वार्षिक करिब ५० करोड रुपैयाँ प्रत्यक्ष र एक अर्ब रुपैयाँभन्दा बढी अप्रत्यक्ष राजस्व योगदान हुने तथा १५ देखि २० अर्ब रुपैयाँ बराबरको आर्थिक गतिविधि सिर्जना हुने आईप्यानले जनाएको छ ।
नेपालमै अन्तर्राष्ट्रिय डिग्री अध्ययन गर्न पाउँदा विद्यार्थी परिवारसँग रहन सक्ने र विदेशको बसोबास तथा दैनिक खर्च जोगिने केसीले बताए । कतिपय कार्यक्रममा विदेश गएर पढ्दाको कुल खर्चभन्दा नेपालमा अध्ययनको खर्च करिब १५ गुणासम्म कम हुन सक्ने आईप्यानको दाबी छ । यसले वार्षिक करिब ५० देखि ६० अर्ब रुपैयाँको सम्भावित विदेशी मुद्रा बहिर्गमन घटाउन सहयोग गर्ने उसको अनुमान छ । यद्यपि विदेश जाने सबै विद्यार्थी नेपालकै कार्यक्रममा भर्ना हुन्थे भन्ने निष्कर्ष त्यसबाट निकाल्न नमिल्ने आईप्यानले स्पष्ट पारेको छ ।
‘पछिल्लो समय आईटी जनशक्ति उत्पादनमा हाम्रो मुख्य भूमिका छ,’ केसी बताउँछन्, ‘नेपालमा आईटी शिक्षाको ट्रेन्डसेटर विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालित कलेजहरू हुन ।’
आईआईडीएसको अध्ययनअनुसार सन् २०२२ मा नेपालबाट करिब ५१५ मिलियन अमेरिकी डलर (झन्डै ६८ अर्ब रुपैयाँ) बराबरको आईटी सेवा निर्यात भएको थियो भने सन् २०२५ सम्म यो क्षेत्र करिब एक अर्ब अमेरिकी डलर (झन्डै १ खर्ब ४५ अर्ब रुपैयाँ) नजिक पुगेको अनुमान छ। उनका अनुसार यो वृद्धि पछिल्लो समय अध्ययन पूरा गरेका नेपाली आईटी विद्यार्थी, आईटी कम्पनी, फ्रीलान्सर र निजी क्षेत्रको पहलबाट सम्भव भएको हो।
बिग डेटा एनालाइससिजस्ता एआईसम्बन्धी कोर्सहरू, एवं साइबर सेक्युरिटी, नेटवर्क सेक्युरिटी जस्ता साइबर सुरक्षा कोर्स एवं होटल तथा हस्पिटालिटी म्यानेजमेन्ट, इन्टेरियर डिजाइन, उद्यमशीलता र मल्टिमिडिया एवं एनिमेसनजस्ता विषयको अध्यापन नेपालमै गर्ने कामको थालनी विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित कलेजहरूले गरेको केसीले बताए ।
उनका अनुसार नेपालमै यस्ता विषयको अध्ययन सुरु भएपछि विश्व बजारको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन भइरहेको छ भने विद्यार्थीले ठुलो लगानी गरेर विदेश जानुपर्ने अवस्थासमेत क्रमशः घट्दै गएको छ। वैदेशिक अध्ययनतर्फको आकर्षण उल्लेख गर्दै केसीले आर्थिक वर्ष २०८०/८१ मा एक लाख १२ हजार ५९३ र २०८१/८२ मा एक लाख २३ हजार ५८९ जनाले अध्ययन अनुमतिपत्र लिएको जानकारी दिए । आईप्यानले प्रस्तुत गरेको विवरणअनुसार ती वर्षमा शिक्षा प्रयोजनका लागि क्रमशः एक खर्ब २४ अर्ब ९५ करोड र एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ बाहिरिएको थियो ।युवा विद्यार्थी विदेश पलायन रोक्नका लागि स्वदेशमै गुणस्तरीय, प्रतिस्पर्धी र अन्तर्राष्ट्रियस्तरको उच्च शिक्षा उपलब्ध गराउँदै युवाका लागि रोजगारी र उद्यमको वातावरण पनि बलियो बनाउनुपर्ने केसीले बताए।
राष्ट्रिय तथ्याङ्क कार्यालयको नेपाल शिक्षा संस्था सर्वेक्षण, २०८१ ले पनि सरकारी स्वामित्वबाहेकका शिक्षा संस्थाको व्यापक योगदान देखाएको छ । आर्थिक वर्ष २०८०/८१ को अवस्थालाई समेटेको सर्वेक्षणअनुसार ती संस्थामा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी चार लाख ६६ हजार ८०५ थिए । यस्ता शिक्षा संस्थाको कुल मूल्य अभिवृद्धि करिब एक खर्ब ६० अर्ब रुपैयाँ र संलग्न जनशक्ति तीन लाख ११ हजार ५१६ रहेको सर्वेक्षणमा उल्लेख छ । यी तथ्याङ्क समग्र सरकारी स्वामित्वबाहेकका शिक्षा संस्थाका हुन्, विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त ५८ संस्थाको छुट्टै योगदानका होइनन् ।
गुणस्तरको विषयमा केसीले सम्बन्धन प्राप्त कलेज र विदेशी विश्वविद्यालयको शाखा क्याम्पस स्वामित्व तथा सञ्चालनका हिसाबले फरक मोडल भएको बताए । कुनै मोडललाई स्वतः उत्कृष्ट वा कमजोर मान्न नमिल्ने भन्दै उनले पाठ्यक्रम, शिक्षकको योग्यता, पूर्वाधार, मूल्याङ्कन र विद्यार्थीको सिकाइ उपलब्धिका आधारमा प्रत्येक कार्यक्रम जाँच्न आग्रह गरे । सम्बन्धन दिने विश्वविद्यालयले पाठ्यक्रम र शैक्षिक मापदण्ड निर्धारण गर्नुका साथै साझेदार कलेजको अनुगमन गर्ने पनि उनले बताए ।
शिक्षा मन्त्रालयले विज्ञसहितको टोलीबाट संस्थाहरूको स्थलगत अनुगमन गर्दै आएको केसीले जानकारी दिए । उनका अनुसार नयाँ नियमावलीले सम्बन्धन प्राप्त संस्थालाई तीन वर्षभित्र गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था गरेको छ । विदेशी विश्वविद्यालयलाई बुझाउनुपर्ने शुल्क मन्त्रालयको स्वीकृति र सिफारिसका आधारमा बैंकिङ प्रणालीमार्फत भुक्तानी हुने र त्यसको विवरण मन्त्रालयमा पेस गरिने उनले बताए । कुनै संस्थाले अनियमितता गरेको प्रमाण भए नियामक निकायबाट छानबिन गराउन आईप्यानले आग्रह गरेको छ ।
आर्टिफिसियल इन्टेलिजेन्स वा साइबर सुरक्षाका छोटा तालिमलाई पूर्ण शैक्षिक डिग्रीसँग तुलना गर्न नहुने केसीले बताए । कार्यक्रमको अवधि, क्रेडिट, पाठ्यक्रम र मूल्याङ्कन विधि जाँचेर मात्र धारणा बनाउनुपर्ने उनको भनाइ छ । लिखित परीक्षासँगै असाइनमेन्ट, अनुसन्धान परियोजना र प्रस्तुतिबाट समेत विद्यार्थीको मूल्याङ्कन हुन सक्ने उनले जानकारी दिए ।
केसीले नेपाललाई भविष्यमा विदेशी विद्यार्थीको अध्ययन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य पनि सुनाए । त्यसका लागि योग्य संस्थाको मूल्याङ्कन, विद्यार्थी भिसा र विदेशी विद्यार्थीलाई आवश्यक सेवासम्बन्धी स्पष्ट व्यवस्था गर्न उनले सरकारसँग आग्रह गरे।
अनुमति प्राप्त संस्था र कार्यक्रमको अद्यावधिक सूची सार्वजनिक गर्न, गुणस्तर जाँचका मापदण्ड स्पष्ट पार्न तथा विद्यार्थीका गुनासा सम्बोधन गर्ने प्रक्रिया प्रभावकारी बनाउन पनि उनले माग गरे ।