कुवेतमा ३ हजार दिनारभन्दा बढी रकम बोकेर यात्रा गर्दा घोषणा अनिवार्य

संगम पहरी संगम पहरी

कुवेतमा ३ हजार कुवेती दिनार वा सोभन्दा बढी नगद रकम बोकेर प्रवेश गर्ने वा कुवेतबाट बाहिरिने यात्रुले अनिवार्य रूपमा भन्सारमा रकम घोषणा गर्नुपर्ने भएको छ। कुवेतको सामान्य भन्सार प्रशासनले नगदसँगै धारकले बोक्ने वित्तीय उपकरणको मूल्य ३ हजार दिनार वा सोभन्दा बढी भए त्यसको विवरण पनि सम्बन्धित निकायलाई बुझाउनुपर्ने जनाएको छ।

भन्सार प्रशासनले अक्टोबर १ मा सामाजिक सञ्जालमार्फत यात्रुलाई यस्तो रकम बोकेर कुवेत प्रवेश वा प्रस्थान गर्दा अनिवार्य रूपमा घोषणा गर्न पुनः सचेत गराएको हो। यो व्यवस्था कुवेती दिनारमा मात्र नभई अन्य विदेशी मुद्रामा ३ हजार कुवेती दिनार बराबर हुने रकममा पनि लागू हुन्छ। अर्थात्, विदेशी मुद्रा बोकेर यात्रा गर्ने यात्रुले पनि त्यसको कुवेती दिनार बराबरको मूल्य हेरेर घोषणा गर्नुपर्ने हुन्छ।

यो नियम कुवेत प्रवेश गर्ने र कुवेतबाट बाहिरिने दुवै यात्रुका लागि लागू हुन्छ। त्यसैले कुवेतमा कार्यरत नेपाली श्रमिक, नेपालबाट कुवेत जाने यात्रु वा कुवेतबाट नेपाल फर्किने नेपालीले आफूले बोकेको नगद रकम निर्धारित सीमाभन्दा बढी छ भने यात्रा गर्नुअघि घोषणा गर्ने प्रक्रियाबारे जानकारी राख्नुपर्ने हुन्छ।

कुवेत भन्सारका अनुसार घोषणा नगरी तोकिएको सीमाभन्दा बढी रकम बोकेर यात्रा गरेमा सम्बन्धित व्यक्तिमाथि कानुनी कारबाही हुन सक्छ। यस्तो कारबाही कुवेतको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा हुने वित्तीय लगानी नियन्त्रणसम्बन्धी कानुन नम्बर १०६/२०१३ तथा अर्थमन्त्रीको निर्णय नम्बर ३७/२०१३ अन्तर्गत हुने जनाइएको छ।

भन्सार घोषणा गर्न यात्रुले अब अनलाइन माध्यम प्रयोग गर्न सक्ने व्यवस्था छ। कुवेतको सामान्य भन्सार प्रशासनको वेबसाइटमा रहेको विद्युतीय सेवामार्फत रकमको घोषणा गर्न सकिन्छ। त्यस्तै, सरकारी ‘सहल’ आवेदनमार्फत सामान्य भन्सार प्रशासनका सेवाभित्र रहेको ‘इलेक्ट्रोनिक डिक्लेरेसन अफ फन्ड्स’ सेवा प्रयोग गरेर पनि विवरण बुझाउन सकिने व्यवस्था गरिएको छ।

यो विद्युतीय सेवा यसअघि नै सञ्चालनमा ल्याइएको थियो। फेब्रुअरी २०२६ मा कुवेत भन्सारले ‘सहल’ आवेदनमार्फत ३ हजार कुवेती दिनारभन्दा बढी वा विदेशी मुद्रामा त्यसको बराबर रकम बोकेर कुवेत प्रवेश वा बाहिरिने यात्रुले अनलाइन घोषणा गर्न सक्ने सुविधा सुरु गरेको थियो। घोषणा गरेपछि विद्युतीय प्रमाण तयार हुने र सम्बन्धित नाकामा भन्सार अधिकारीले त्यसलाई जाँच गर्न सक्ने व्यवस्था गरिएको छ।

३ हजार दिनारको सीमा पुगेको वा नाघेको रकम घोषणा गर्नुपर्ने भए पनि रकम बोकेर यात्रा गर्न नै प्रतिबन्ध लगाइएको भने होइन। मुख्य आवश्यकता रकमको स्रोत तथा यात्रुसँग रहेको रकमको विवरण सम्बन्धित निकायलाई जानकारी गराउनु हो। कुवेतका अधिकारीहरूले यस्तो व्यवस्था सीमापार ठूलो रकमको आवागमनमा पारदर्शिता कायम गर्ने तथा सम्पत्ति शुद्धीकरण र अवैध वित्तीय गतिविधि नियन्त्रण गर्ने कानुनी व्यवस्थासँग सम्बन्धित रहेको बताएका छन्।

कुवेतमा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत रहेकाले नेपाल आउने–जाने क्रममा यो व्यवस्था विशेष ध्यान दिनुपर्ने विषय हो। विशेषगरी लामो समयपछि नेपाल फर्किँदा ठूलो रकम नगदमै बोकेर आउने वा कुवेत प्रवेश गर्दा ठूलो रकम साथमा ल्याउने यात्रुले रकमको कुल मूल्य ३ हजार कुवेती दिनारको सीमामा पुग्छ कि पुग्दैन भन्ने यकिन गरी आवश्यक परे भन्सार घोषणा गर्नुपर्ने हुन्छ।

कुवेत भन्सारले यात्रुलाई निर्धारित सीमाभन्दा बढी रकम बोकेको अवस्थामा नियमअनुसार घोषणा गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ। आवश्यक घोषणा नगरी रकम लुकाएर वा विवरण नदिई यात्रा गर्दा कानुनी झमेलामा पर्न सकिने भएकाले नेपालीसहित सबै यात्रुले यात्रा गर्नुअघि लागू नियम र घोषणा प्रक्रियाबारे जानकारी लिनुपर्ने देखिन्छ।