साउदीको सबैभन्दा ठुलो तेल कम्पनी अरामकोमाथि हुथीको ड्रोन हमला, तेलको मूल्य बढ्ने चिन्ता

आप्रवासन आप्रवासन

यमनका हुथी विद्रोही र साउदी अरबबीचको तनाव फेरि चर्किएको छ । हुथी समूहले साउदी अरबको राजधानी रियादस्थित देशको सबैभन्दा ठुलो तेल कम्पनी अरामकोका सुविधामाथि मिसाइल र ड्रोनबाट हमला गरेको दाबी गरेको छ । त्यसको जवाफमा यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले राजधानी सना र सादा क्षेत्रमा हुथीका महत्त्वपूर्ण सैन्य तथा रणनीतिक संरचनामाथि हमला गरेको जनाएको छ ।

यो घटनाले यमन र साउदी अरबबीच लामो समयदेखि जारी संघर्ष फेरि तीव्र बन्ने संकेत दिएको छ । साथै, अरामकोजस्तो विश्वको प्रमुख तेल कम्पनीको पूर्वाधारलाई निशाना बनाइएको दाबीपछि अन्तर्राष्ट्रिय तेल बजारमा समेत आपूर्तिसम्बन्धी चिन्ता बढ्न सक्ने देखिएको छ ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारका सशस्त्र सेनाको मिडिया सेन्टरले शनिबार सना र सादामा हुथीको नियन्त्रणमा रहेका क्षेत्रमा सैन्य कारबाही भइरहेको पुष्टि गरेको हो । सरकारी प्रवक्ताले हुथीका महत्त्वपूर्ण सैन्य संरचनालाई निशाना बनाइएको र उनीहरूको सैन्य क्षमता नष्ट गर्ने अभियान जारी रहने चेतावनी दिएका छन् ।सरकारी पक्षको कारबाही हुथीले रियादमा अरामकोका सुविधामाथि मिसाइल र ड्रोन प्रयोग गरेर हमला गरेको दाबी गरेपछि सुरु भएको हो । हुथीका सैन्य प्रवक्ता ब्रिगेडियर जनरल याह्या सरीले उक्त हमला साउदी अरबले सना तथा हुथीको नियन्त्रणमा रहेका अन्य क्षेत्रमा गरेको सैन्य कारबाहीको जवाफ भएको बताएका छन् ।

हुथीका अनुसार पछिल्लो २४ घण्टामा सना र आफूहरूको नियन्त्रणमा रहेका क्षेत्रमा साउदी पक्षबाट ६० वटा हवाई तथा मिसाइल हमला भएका थिए । समूहले यमनविरुद्ध साउदी हमलाको कुल संख्या १ हजार ४१० पुगेको दाबी गरेको छ । यी दाबीहरू हुथी पक्षबाट आएका हुन् ।

अरामकोलाई निशाना बनाएको दाबी

हुथी समूहले रियादस्थित अरामकोमा लक्षित गरी ‘विशेष सैन्य अभियान’ सञ्चालन गरेको जनाएको छ । यसका लागि ब्यालिस्टिक मिसाइल र ड्रोन प्रयोग गरिएको उसको दाबी छ ।

समूहले आफ्नो अभियान सफल भएको र लक्षित स्थानमा आगलागी भएको दाबी गरेको छ । हुथीले भविष्यमा पनि यमनमाथि हुने सैन्य कारबाहीको जवाफ दिने चेतावनी दिएको छ ।

हुथीले साउदी अरबको सैन्य गतिविधि नरोकिएसम्म आफ्नो प्रतिकार जारी रहने संकेत पनि दिएको छ । उसले यमनमाथिको हमला र नाकाबन्दी अन्त्य नभएसम्म तनाव बढाउने नीति जारी राख्ने बताएको छ ।

यस घटनाले यमनको युद्ध केवल दुई पक्षबीचको सीमित सैन्य संघर्षमा नरहेर क्षेत्रीय ऊर्जा सुरक्षासँग समेत जोडिएको जोखिम देखाएको छ । रियादमा रहेको अरामकोका संरचना र तेल पूर्वाधारमाथि हुने कुनै पनि ठुलो आक्रमणले साउदी अरबको तेल उत्पादन तथा निर्यात क्षमतामाथि असर पार्न सक्ने भएकाले अन्तर्राष्ट्रिय बजारले यस्ता घटनालाई संवेदनशील रूपमा हेर्ने गर्छ ।

तेलको मूल्य बढ्ने जोखिम

साउदी अरब विश्वकै प्रमुख तेल उत्पादक तथा निर्यातकर्ता मुलुक हो । त्यसैले उसको तेल पूर्वाधारमा हुने आक्रमणले विश्व बजारमा तत्काल मनोवैज्ञानिक दबाब सिर्जना गर्न सक्छ ।

अरामकोमाथिको पछिल्लो हमलाको दाबीपछि कच्चा तेलको मूल्य बढ्न सक्ने चिन्ता देखिएको छ । यमन र साउदी अरबबीच सैन्य तनाव लामो समयसम्म जारी रहेमा तेल आपूर्ति तथा पश्चिम एसियाका महत्त्वपूर्ण ऊर्जा मार्गमा थप जोखिम उत्पन्न हुन सक्ने सामग्रीमा उल्लेख छ ।

विशेषगरी यमनको भौगोलिक अवस्थिति महत्त्वपूर्ण छ । यमन विश्वको प्रमुख तेल उत्पादक मुलुक नभए पनि विश्व व्यापार र ऊर्जा आपूर्तिका लागि महत्त्वपूर्ण समुद्री मार्गको नजिक रहेको छ । त्यस क्षेत्रमा सैन्य तनाव बढ्दा जहाज आवागमन, बीमा लागत र तेल ढुवानीको जोखिम बढ्न सक्छ ।

यसअघि पनि हुथी समूहका गतिविधिले पश्चिम एसियाको समुद्री व्यापार र ऊर्जा आपूर्तिलाई प्रभावित पार्ने चिन्ता बढाउँदै आएको छ । त्यसैले अहिले अरामकोलाई लक्षित गरिएको भनिएको हमलाले संघर्षको नयाँ चरण सुरु हुन सक्ने आशंका जन्माएको छ ।

साउदी–हुथी संघर्ष फेरि किन चर्किदैछ ?

यमनमा लामो समयदेखि सरकार समर्थित शक्ति र हुथी विद्रोहीबीच संघर्ष हुँदै आएको छ । साउदी अरबले यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई समर्थन गर्दै आएको छ भने हुथीले यमनको ठुलो भूभागमा आफ्नो नियन्त्रण कायम राखेको छ ।

दुवै पक्षले आफूले गरेको सैन्य कारबाहीलाई अर्को पक्षको हमलाको जवाफका रूपमा प्रस्तुत गर्दै आएका छन् । पछिल्लो घटनामा पनि यही क्रम देखिएको छ ।

हुथीले साउदी हमलाको जवाफमा अरामकोलाई निशाना बनाएको दाबी गरेको छ भने साउदी समर्थित यमनी सरकारले हुथीका सैन्य संरचनामाथि आक्रमण गर्दै उनीहरूको सैन्य क्षमता नष्ट गर्ने चेतावनी दिएको छ । यसले प्रतिशोधको चक्र अझ तीव्र बन्ने जोखिम देखाएको छ ।

क्षेत्रीय तनाव थप बढ्ने खतरा

पछिल्लो घटनाको सबैभन्दा ठुलो चिन्ता यमन र साउदी अरबबीचको युद्ध फेरि व्यापक क्षेत्रीय संकटमा परिणत हुने जोखिम हो । यदि हुथीले साउदी अरबका तेल तथा ऊर्जा पूर्वाधारलाई निरन्तर निशाना बनायो र त्यसको जवाफमा साउदी पक्षले यमनमा ठुलो स्तरको हवाई कारबाही बढायो भने संघर्षको दायरा फराकिलो हुन सक्छ । त्यसले पश्चिम एसियाको पहिले नै तनावपूर्ण सुरक्षा अवस्थालाई थप जटिल बनाउन सक्छ ।

यसको प्रभाव तेल बजारमा मात्र सीमित नहुन सक्छ । ऊर्जा मूल्य बढेमा विश्वभर इन्धनको लागत बढ्ने र त्यसको प्रभाव यातायात, उत्पादन तथा उपभोक्ता मूल्यमा समेत पर्न सक्छ । यद्दपि, अहिलेका लागि अरामकोका कुन–कुन संरचनामा कति क्षति भयो भन्ने विस्तृत विवरण सार्वजनिक भएको छैन भने त्यहाँस्थित नेपाली कामदारको स्थितिलाई लिएर कुनै विवरण बाहिर आएको छैन ।