वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि आवेदन दिएका श्रमिकलाई शाखा कार्यालयबाटै आवेदन तथा रोजगारी प्रक्रियासम्बन्धी आवश्यक सूचना उपलब्ध गराउन इजाजतपत्र प्राप्त संस्थाहरूलाई निर्देशन दिएको छ।
विभागले २०८३ असोज १६ गते जारी गरेको सूचनामार्फत वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र प्राप्त संस्थाका केही शाखा कार्यालयले सेवाग्राहीले आफ्नो आवेदनको अवस्थाबारे जानकारी माग्दा स्पष्ट र यथार्थ सूचना नदिएको गुनासो प्राप्त भएको जनाएको छ।
विभागका अनुसार कतिपय शाखा कार्यालयले सेवाग्राहीलाई ‘हामीलाई थाहा छैन’ वा ‘काठमाडौंमा रहेको मुख्य कार्यालयमा सम्पर्क गर्नुहोस्’ जस्ता जवाफ दिने गरेका छन्। यसका कारण वैदेशिक रोजगारीमा जान खोजेका व्यक्तिले आफ्नै आवेदन र प्रक्रियाको जानकारी लिन पटक–पटक मुख्य कार्यालय धाउनुपर्ने अवस्था सिर्जना भएको विभागमा गुनासो पुगेको छ।
विशेषगरी शाखा कार्यालयमार्फत वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया सुरु गरिएका व्यक्तिहरूलाई लामो समयसम्म पनि रोजगारीमा नपठाइएको विषयमा समेत गुनासो आएको विभागले जनाएको छ। त्यस्ता विषयमा मुख्य कार्यालयमा सम्पर्क गर्दा शाखा कार्यालय वा त्यहाँ कार्यरत कर्मचारीले गरेका कामकारबाहीको जिम्मेवारी आफूहरूले नलिने भन्दै गैरजिम्मेवार जवाफ दिने गरेको गुनासोसमेत विभागमा परेको छ।
श्रमिकले वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाउँदा आफ्नो आवेदन कहाँ पुगेको छ, आवश्यक कागजात पूरा भए–नभएको, रोजगारदाता को हो, रोजगारीको अवस्था के छ, भिसा आएको छ वा छैन, रोजगार सम्झौताको अवस्था कस्तो छ, श्रम स्वीकृति भएको छ कि छैन र विदेश प्रस्थानका लागि के तयारी गर्नुपर्ने हो भन्ने विषयमा समयमै स्पष्ट जानकारी पाउनुपर्ने हुन्छ।
तर शाखा कार्यालयबाटै यस्ता विषयमा आवश्यक सूचना नदिने, गलत वा अपूर्ण जानकारी दिने तथा सेवाग्राहीलाई अनावश्यक रूपमा दुःख दिने कार्यले वैदेशिक रोजगार व्यवसायीप्रतिको श्रमिकको विश्वास घट्नुका साथै वैदेशिक रोजगारीको प्रक्रियामा पारदर्शिता र जवाफदेहितामा समेत असर पर्न सक्ने विभागले जनाएको छ।
त्यसैले विभागले सेवाग्राहीलाई आवश्यक सूचना नदिने, आवेदनको अवस्थाबारे जानकारी नदिने, गलत वा अपूर्ण सूचना दिने तथा अनावश्यक दुःख वा हैरानी दिने कार्य नगर्न र नगराउन सम्बन्धित इजाजतपत्र प्राप्त संस्थालाई सूचित गरेको छ।
शाखा कार्यालयबाट प्रदान गर्नुपर्ने सेवाबाट पन्छिने वा सेवाग्राहीलाई सहजीकरण नगर्ने अवस्था आएमा त्यसको जिम्मेवारी सम्बन्धित इजाजतपत्रवालाले लिनुपर्ने विभागले स्पष्ट पारेको छ। त्यस्तै, वैदेशिक रोजगारीमा जान खोजेका व्यक्तिलाई झुटो आश्वासन दिएको अवस्थामा पनि सम्बन्धित इजाजतपत्रवालामाथि जिम्मेवारी तोकिने विभागको भनाइ छ।
विभागले शाखा कार्यालयहरूले वैदेशिक रोजगारीमा जान खोजेका व्यक्तिले माग गरेको सूचना समयमै उपलब्ध गराउने व्यवस्था गर्नसमेत निर्देशन दिएको छ। सेवाग्राहीलाई आवश्यक सहजीकरण नगरिएको पाइएमा शाखा कार्यालयको अनुमति रद्द गर्नेसम्मको कारबाही हुन सक्ने चेतावनी विभागले दिएको छ।
त्यसका साथै यस्ता कार्यमा संलग्न इजाजतपत्र प्राप्त संस्थामाथि वैदेशिक रोजगार ऐन, २०६४, वैदेशिक रोजगार नियमावली, २०६४ तथा प्रचलित कानूनबमोजिम कारबाही गरिने विभागले जनाएको छ।
विभागको यो सूचनाले वैदेशिक रोजगार व्यवसायीका शाखा कार्यालयलाई पनि सेवाग्राहीप्रति जवाफदेही बन्नुपर्ने स्पष्ट सन्देश दिएको छ। अब शाखामार्फत वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाइरहेका श्रमिकले आफ्नो आवेदन, भिसा, रोजगार सम्झौता, श्रम स्वीकृति तथा प्रस्थान तयारीलगायतका विषयमा आवश्यक जानकारी शाखा कार्यालयबाटै समयमै पाउनुपर्नेछ।