साउदी र मलेसियाले पाएन राजदूत

आप्रवासन आप्रवासन

काठमाडौँ। नेपाली श्रमिकका लागि वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मानिने साउदी अरब र मलेसियाका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ।

समितिले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम बुधबार अस्वीकृत गरेको हो। 

साउदी अरबका लागि प्रस्तावित सुनारको नैतिक आचरण तथा जर्मनीबाट डिपोर्ट गरिएको लगायतका विषयमा प्रश्न उठेपछि उनको नाम अस्वीकृत गरिएको जनाइएको छ।

त्यस्तै, मलेसियाका लागि प्रस्तावित खरेलमाथि स्वार्थको द्वन्द्व, आर्थिक अनियमितता, म्यानपावर व्यवसायीसँगको साँठगाँठ तथा योग्यतासम्बन्धी प्रश्न उठेका थिए। यिनै विषयलाई लिएर संसदीय सुनुवाइका क्रममा उनीमाथि प्रश्न उठाइएको थियो।

संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले दुवै प्रस्तावित राजदूतको नाम अस्वीकृत भएको जानकारी दिए।

साउदी अरब र मलेसिया नेपाली श्रमिकका लागि वैदेशिक रोजगारीका आकर्षक गन्तव्य हुन्। यी देशमा ठुलो संख्यामा नेपाली श्रमिक कार्यरत रहेकाले त्यहाँ नेपाली नागरिकको हित संरक्षण, श्रमिकका समस्या समाधान तथा कूटनीतिक समन्वयमा नेपाली राजदूतावासको महत्त्वपूर्ण भूमिका रहन्छ।

यस्तो अवस्थामा दुवै देशका लागि प्रस्तावित राजदूतको नाम अस्वीकृत भएपछि अब नयाँ राजदूत नियुक्तिको प्रक्रिया कसरी अघि बढ्छ भन्ने चासो बढेको छ।

जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको नाम भने अनुमोदन गर्ने बारे संसदीय सुनुवाइ समितिले बुधबार निर्णय गर्न नसकेर ‘होल्ड’ गर्ने निर्णय गरेको छ। 

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले थापालाई राजदूत पदमा नियुक्त गर्न थप कागजपत्र आउन बाँकी रहेको र अध्ययन आवश्यक रहेकोले सरकारको सिफारिसलाई समितिको अर्को बैठकबाट टुङ्ग्याउने निर्णय गरेको हो।

सरकारले गत असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकबाट विभिन्न १३ देशका लागि राजदूत सिफारिस गरेको थियो। तीमध्ये संसदीय सुनुवाइ समितिले १० जनाको नाम अनुमोदन गरिसकेको छ।