ईपिएसमार्फत श्रमिक

२१% ले घटे ईपिएसमार्फत कोरियाले भित्र्याउने श्रमिक

आप्रवासन आप्रवासन

ईपिएसमार्फत दक्षिण कोरिया जाने श्रमिक झन्डै २१ प्रतिशतले घटेका छन् । कोरियाली पत्रिका द कोरिया टाइम्सका अनुसार ई–९ भिसामार्फत कोरिया भित्रिने विदेशी श्रमिक २० दशमलव ९ प्रतिशतले घटेका हुन् ।

सन् २०२५ को जुन १० सम्ममा कोरियाले ईपिएसमार्फत २८ हजार ५२० जना श्रमिक भित्र्याएको छ । जबकि, सन् २०२४ को जुन १० सम्ममा ३६ हजार ४८ जना श्रमिक कोरिया गएका थिए ।

यो वर्ष सबैभन्दा धेरै उत्पादन क्षेत्र तर्फ जाने श्रमिक घटेका छन् । सन् २०२५ को जुन १० सम्ममा उत्पादन क्षेत्र तर्फ २१ हजार ४४३ श्रमिक कोरिया पुगेका छन् । अघिल्लो वर्षको सोही अवधिमा उत्पादन क्षेत्र तर्फ २८ हजार ८८७ श्रमिक कोरिया गएका थिए ।

यसबाहेक, मत्स्यपालन क्षेत्रमा २१ प्रतिशत र निर्माण क्षेत्रमा ३१ प्रतिशतले श्रमिक घटेका छन् ।

कोरियाको श्रम तथा रोजगार मन्त्रालयले आर्थिक मन्दीका कारण श्रमिकको मागमा कमी आएको जनाएको छ ।

कोरियाले सन् २०२२ मा ८८ हजार १०२ र २०२३ मा  १ लाख १४८ जना श्रमिक भित्र्याएको थियो । तर सन् २०२४ मा त्यस्तो सङ्ख्या ७८ हजार २५ मा झरेको थियो ।

जारी मन्दीका कारण यो वर्ष समेत कोरियाले भित्र्याउने श्रमिकको सङ्ख्यामा कमी आउने प्रक्षेपण छ ।

यसले ईपिएसमार्फत कोरिया जाने तयारी गरिरहेका नेपाली समेत प्रभावित हुने देखिन्छ ।

कोरियाले नेपालसहित १७ वटा मुलुकबाट श्रमिक भित्र्याउँदै आएको छ ।