पोर्चुगलको नागरिकता

नेपालीलाई पोर्चुगलको नागरिकता पाउन अब थप मुस्किल

आप्रवासन आप्रवासन

पोर्चुगलले विदेशीलाई नागरिकता दिन सकिने प्रावधानमा थप कडाइ गर्ने भएको छ । सरकारले राष्ट्रियता कानुन संशोधन गर्दै आप्रवासीलाई नागरिकता दिन सकिने हालको व्यवस्थामा हेरफेर गर्न लागेको पोर्चुगलको पत्रिका द पोर्चुगल न्युजले जनाएको हो ।

पोर्चुगलका प्रेसिडेन्सी मन्त्री एन्टोनियो लेइटाओ अमारोले नयाँ प्रस्तावसहित राष्ट्रियता कानुन संशोधनको घोषणा गरेका हुन् ।

प्रस्तावित नयाँ नियम अनुसार अब पोर्चुगल भाषी देशका आप्रवासीलाई पोर्चुगलको नागरिकता पाउन ७ वर्षको कानुनी बसोबास आवश्यक हुनेछ। तर नेपालीसहितका गैर पोर्चुगिज भाषी देशका नागरिकले भने पोर्चुगलमा १० वर्ष बसेपछि मात्र नागरिकताका लागि आवेदन दिन पाउने छन् । हाल पोर्चुगलमा ५ वर्ष कानुनी रूपमा बसोबास गरेपछि नागरिकता लिन सकिने व्यवस्था छ।

यस्तै, अब आवेदकको भाषाबाहेक पोर्चुगलको संस्कृति, नागरिक अधिकार तथा कर्तव्य र लोकतान्त्रिक सिद्धान्तबारे पनि परीक्षण गरिने भएको छ ।

यसबाहेक, पोर्चुगलमा जन्मिएमा विदेशीका सन्तानले समेत अब स्वत नागरिकता नपाउने भएका छन् । त्यस्ता सन्ततिले बाबुआमा ३ वर्षसम्म पोर्चुगलमा बसेको प्रमाण पेस गरेमा मात्र नागरिकताका लागि आवेदन दिन सक्ने छन् ।

प्रस्तावित नयाँ व्यवस्थाले पोर्चुगलमा रहेका हजारौँ नेपाली समेत मारमा पर्ने देखिन्छ ।

पिआर र नागरिकता पाउन सहज हुन्छ भन्ने हेतुले ठुलो सङ्ख्यामा नेपालीहरू अन्य देशबाट पोर्चुगल पुग्ने गरेका छन् । गत सेप्टेम्बरसम्मको तथ्याङ्कअनुसार पोर्चुगलमा वैध हैसियतमा २९ हजार ९७२ जना नेपाली छन् ।