यदि तपाईँ मलेसियामा कार्यरत हुनुहुन्छ भने तपाईँका लागि खुसीको खबर छ । अब तपाईँको तलबबाट निश्चित रकम कट्टा गरी रोजगारदाता कम्पनीले त्यति नै रकम थपेर कर्मचारी सञ्चय कोषमा जम्मा गर्नुपर्ने भएको छ ।
मलेसियाको सरकारले आउँदो अक्टोबर महिनादेखि नेपालीसहितका सबै विदेशी कामदारका लागि सञ्चय कोषको व्यवस्था लागु गर्न लागेको हो । जस अनुसार अब कामदारको मासिक तलबको २ प्रतिशत रकम कट्टा हुनेछ जसमा थप २ प्रतिशत रकम रोजगारदाता कम्पनीले थपेर कोषमा जम्मा गर्नुपर्ने छ ।
यसरी जम्मा भएको रकम ब्याजसहित कामदारले करार अवधि पूरा भएपछि वा नियमअनुसार निकासी गर्दा प्राप्त गर्न सक्छन् ।
हाल विदेशी कामदारहरू स्वैच्छिक रूपमा कर्मचारी सञ्चय कोषमा सामेल हुन सक्ने भए पनि बाध्यकारी छैन । तर सरकारले ऐन नै संशोधन गरेर त्यसलाई अक्टोबरदेखि विदेशी कामदारका हकमा समेत अनिवार्य गरेको हो ।
यद्यपि, यसका लागि घरेलु कामदारबाहेक वैध पासपोर्ट र अध्यागमन विभागले जारी गरेको रोजगार पास भएको हुनुपर्नेछ ।
योसँगै मलेसियामा कार्यरत ४ लाख नेपालीसहित २२ लाख वैध विदेशी कामदार प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।