ब्राजिलको राष्ट्रपतिमा पराजित बोल्सोनारो कसरी अमेरिका भाग्न सफल भए ?

आप्रवासन आप्रवासन

 हालै सम्पन्न ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पराजित उम्मेदवार तथा सिनेटर फ्लाभियो बोल्सोनारो अमेरिका भाग्न सफल भएका छन् । 

ब्राजिलको सर्वोच्च अदालतले राहदानी (पासपोर्ट) बुझाउन दिएको आदेशलाई अटेर गर्दै उनी परिवारसहित फ्लोरिडाको मियामी पुगेका हुन् । 

आइतबारको चुनावमा वामपन्थी उम्मेदवार तथा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग पराजित भएपछि बोल्सोनारोले हार स्वीकार गरेका थिएनन् । भ्रष्टाचार र मनी लाउन्डरिङको आरोपमा अनुसन्धानको घेरामा रहेका उनलाई ब्राजिलको सर्वोच्च अदालतले राहदानी बुझाउन आदेश दिएको थियो । तर उनले आफ्नो राहदानी नबुझाएपछि अधिकारीहरूले त्यसलाई रद्द गरिदिएका थिए । त्यसको केही समयपछि नै उनी बेपत्ता भएका थिए । 

बोल्सोनारो सिधै ब्राजिलबाट अमेरिका उडेका होइनन्, उनले निकै घुमाउरो बाटो प्रयोग गरेका थिए । अर्जेन्टिनाको अध्यागमन अधिकारीहरूका अनुसार उनले मंगलबार राति (स्थानीय समयअनुसार १०:५० बजे) जमिनको बाटो हुँदै ब्राजिलबाट अर्जेन्टिनाको सीमा पार गरेका थिए । 

चुनाव हारेपछि देश छाडेर बोल्सोनारो भागेको आशंका, भिसा दिने ट्रम्प प्रशासनको निर्णय

चुनाव हारेपछि देश छाडेर बोल्सोनारो भागेको आशंका, भिसा दिने ट्रम्प प्रशासनको निर्णय

उनीसँगै पत्नी फर्नान्डा र दुई छोरीहरू (लुइजा र क्यारोलिना) पनि थिए । अर्जेन्टिनाको प्युर्टो इगुआजुबाट उनीहरू एउटा निजी विमानमा चढे । उक्त विमान इन्धन भर्नका लागि इक्वेडरको गुवायाकिल सहरमा रोकिएको थियो । त्यहाँबाट उडान भरेर उनीहरू सिधै अमेरिकाको मियामीस्थित ओपा–लोका एक्जेक्युटिभ विमानस्थलमा अवतरण गरेको बीबीसीले समाचारमा उल्लेख गरेको छ । 

राहदानी रद्द भए पनि अमेरिकी विदेश मन्त्रालयले बोल्सोनारो र उनको परिवारलाई भिसा उपलब्ध गराएको बताएको छ । यद्यपि उनीहरूलाई कुन प्रकारको भिसा दिइएको हो भन्ने खुलाइएको छैन । 

यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोल्सोनारोको अमेरिका भ्रमणलाई समर्थन गरेका छन् । ट्रम्पले बोल्सोनारो परिवारलाई 'असल मानिस' को संज्ञा दिँदै ब्राजिलको चुनावलाई 'अनौठो र भयानक' भनी टिप्पणी गरेका छन् । 

राहदानी बुझाउने म्यादअघि नै ब्राजिल छाडेर अमेरिका पुगे बोल्सोनारो

राहदानी बुझाउने म्यादअघि नै ब्राजिल छाडेर अमेरिका पुगे बोल्सोनारो

नवनिर्वाचित राष्ट्रपति लुला दा सिल्भाले भने बोल्सोनारोको यसरी देश छाड्ने कदमलाई 'लज्जास्पद' भनेका छन् । उनले भनेका छन्, 'जसले केही लुकाउनु छैन, उसले डराउनु पर्ने कुनै कारण हुँदैन ।' 

मियामी विमानस्थलमा ओर्लिने क्रममा बोल्सोनारोलाई छाता ओढाएर फोटोग्राफर र मिडियाबाट लुकाउने प्रयास गरिएको थियो । उनी परिवारसहित अमेरिका पुगे पनि उनको अन्तिम गन्तव्य मियामी नै हो वा उनी त्यहाँबाट अन्यत्र कतै जानेछन् भन्ने अझै स्पष्ट हुन सकेको छैन ।