पोल्यान्डको संवैधानिक अदालतमा शक्ति सङ्घर्ष : राष्ट्रपति र न्यायाधीशबिच भनाभन

आप्रवासन आप्रवासन

पोल्यान्डको संवैधानिक अदालत (टीके) मा नियन्त्रणको विषयलाई लिएर राष्ट्रपति कारोल नाभ्रोस्की र न्यायाधीशहरूबिच धक्कामुक्की र भनाभन चलेको छ । लामो समयदेखि जारी संवैधानिक सङ्कट शुक्रबार राति उत्कर्षमा पुगेपछि राष्ट्रपति र सरकारबिचको शक्ति सङ्घर्ष थप चर्किएको हो ।

राष्ट्रपति नाभ्रोस्कीले शनिबार दिउँसो राजनीतिक दलका नेताहरूसँग सङ्कट समाधानका लागि छलफल गर्ने घोषणा गरेका छन् । तर, प्रधानमन्त्री डोनाल्ड टस्क नेतृत्वको सरकारले छलफलमा कस्तो भूमिका खेल्छ भन्ने स्पष्ट भइसकेको छैन । अदालत परिसरमा दङ्गा नियन्त्रण प्रहरी र सरकार विरोधी प्रदर्शनकारी तैनाथ छन् ।

विदेश भ्रमणमा उडिरहेका राष्ट्रपति प्लेननै फर्काएर अदालतमा घक्कामुक्की गर्न पुगे 

शुक्रबार सेनेगलको राजकीय भ्रमणका लागि उडिरहेका राष्ट्रपति नाभ्रोस्कीले अदालतमा सङ्कट उत्पन्न भएपछि आफ्नो विमानलाई बीच आकाशबाटै फर्काएर वार्सा ल्याउन आदेश दिएका थिए ।

शनिबार बिहान करिब १ बजे प्रधानमन्त्री टस्कका निकट सहयोगी माचिएज बेरेकले राष्ट्रपति अदालत भवनमा प्रवेश गरिरहेको भिडियो सार्वजनिक गरेका थिए । भिडियोमा राष्ट्रपति र न्यायाधीशहरूबिच अदालतको प्रवेशद्वारमा विवाद भइरहेको देखिन्छ ।

राष्ट्रपतिले न्यायाधीश आन्ना कोर्विन–पियोत्रोव्स्कालाई आफ्नो बाटोबाट हट्न भन्दै उनलाई धकेलेर अघि बढेको देखिएको छ । कोर्विन–पियोत्रोव्स्का अदालतको नियन्त्रण आफ्नो पक्षमा ल्याउन सक्रिय न्यायाधीश हुन् ।

राष्ट्रपति कार्यालयका सहयोगी मार्सिन प्रिज्दाचले कोर्विन–पियोत्रोव्स्का र अर्का न्यायाधीश क्रिस्टियन मार्केविचले राष्ट्रपतिको मर्यादाको ख्याल नगरेको आरोप लगाएका छन् । तर, बेरेकले राष्ट्रपतिले नै न्यायाधीशलाई बलपूर्वक धकेलेको दाबी गरे ।

अदालतभित्र प्रवेश गरेपछि पनि राष्ट्रपति र न्यायाधीशहरूबिच विवाद जारी रहेको अर्को भिडियोमा देखिन्छ । त्यसक्रममा नाभ्रोस्कीले न्यायाधीशहरूलाई ‘तपाईंहरू संवैधानिक अदालतका न्यायाधीश होइन’ भनेको सुनिन्छ ।

वर्षौँदेखिको संवैधानिक सङ्कट

पोल्यान्डको संवैधानिक अदालतमा जारी विवाद पूर्ववर्ती राष्ट्रवादी–कन्जरभेटिभ ल एन्ड जस्टिस (पीआईएस) पार्टीको सरकारको पालामा भएको न्यायाधीश नियुक्तिसँग जोडिएको छ । सन् २०२३ मा टस्क नेतृत्वको गठबन्धन सरकार सत्तामा आएपछि अदालतको वैधता स्वीकार गर्न अस्वीकार गर्दै आएको छ । 

सरकारले अघिल्लो सरकारले गरेका अदालतका तीन न्यायाधीश गैरकानुनी रूपमा नियुक्त भएको र अदालत राजनीतिक नियन्त्रणमा पुगेको आरोप लगाउँदै आएको छ । अदालतका प्रमुख न्यायाधीश बोग्दान स्वेन्च्कोस्कीको नियुक्तिलाई पनि सरकारले वैध मानेको छैन ।

पोल्यान्डको संसद्ले यस वर्ष मार्चदेखि रिक्त न्यायाधीश पदहरूमा नियुक्ति प्रक्रिया अघि बढाएको थियो । हालसम्म आठ नयाँ न्यायाधीश चयन गरिएका छन् । तर, कानुनअनुसार संसद्बाट नियुक्त न्यायाधीशले राष्ट्रपति समक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

राष्ट्रपति नाभ्रोस्कीले आठमध्ये पाँच न्यायाधीशलाई शपथ गराउन अस्वीकार गरेका छन् । तीमध्ये कोर्विन–पियोत्रोव्स्का, मार्केविच र बेरेक पनि छन् । पाँच न्यायाधीशले संसदमै छुट्टै शपथ ग्रहण गरी राष्ट्रपतिको कार्यालयमा शपथ पत्र बुझाएका थिए । तर, अदालतका प्रमुख स्वेन्च्कोस्कीले उनीहरूलाई अदालतमा प्रवेश गराउन मानेका थिएनन् ।

शुक्रबार साँझ ती न्यायाधीश अदालतमा प्रवेश गरेपछि कोर्विन–पियोत्रोव्स्काले स्वेन्च्कोस्कीलाई जिम्मेवारी निर्वाह गर्न असफल भएको भन्दै निलम्बन गरेको घोषणा गरिन् । उनले आफू सबैभन्दा अनुभवी न्यायाधीश भएकाले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेको बताइन् ।

अदालतबाहिर विपक्षी नेताहरूले घटनालाई ‘कू’ को संज्ञा दिएका थिए । राष्ट्रपति नाभ्रोस्कीले पनि संवैधानिक व्यवस्थाको उल्लङ्घन र संवैधानिक निकायमाथि बलपूर्वक कब्जा गरिएको आरोप लगाएका छन् । 

प्रधानमन्त्री टस्कले भने कानुनी शासन पुनर्स्थापनाका लागि निर्णायक कदम आवश्यक रहेको बताएका छन् । न्यायमन्त्री वाल्देमार जुरेकले स्वेन्च्कोस्कीमाथि अभियोजन अघि बढाउन उनको कानुनी उन्मुक्ति हटाउने प्रयास भइरहेको जानकारी दिएका छन् ।

राष्ट्रपतिसँगको वार्तामा दक्षिणपन्थी विपक्षी दल र टस्कका गठबन्धनका केही साझेदार सहभागी हुने भएका छन् । तर, वामपन्थी दल लेविकाले भने राष्ट्रपतिलाई नै सङ्कटको जिम्मेवार ठहर गर्दै वार्तामा सहभागी नहुने जनाएको छ । पोल्यान्डको संवैधानिक अदालतमा जारी विवादले देशको न्यायिक स्वतन्त्रता र संवैधानिक शासनमाथि गम्भीर प्रश्न खडा गरेको छ ।