युरोपमा प्रचण्ड गर्मी

युरोपमा प्रचण्ड गर्मी, धेरै शहरहरुमा काममा प्रतिबन्ध

आप्रवासन आप्रवासन

युरोपका धेरै देशमा प्रचण्ड गर्मी हुन थालेपछि जनजीवन प्रभावित बनेको छ । युरो न्युजका अनुसार इटाली, स्पेन, ग्रिस, पोर्चुगल लगायतका देशमा तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ ।

यसले गर्दा इटाली र स्पेनका धेरै शहरमा दिउँसोको समयमा काममा लगाउन प्रतिबन्ध लगाइएको छ । इटालीका २१ वटा शहरमा रेड अलर्ट जारी गरेर चर्को गर्मीको समयमा काममा लगाउन रोक लगाइएको छ ।

यस्तै, स्पेनको सेभिलसँगै दक्षिणी शहरहरुको तापक्रम ४२ डिग्री सेल्सियस पुगेको छ । यसले गर्दा स्पेनी स्वास्थ्य अधिकारीहरूले ती क्षेत्रमा दिउँसोको समयमा अधिक श्रम चाहिने कार्यहरू नगर्न भनेको छ ।

तापक्रम बढ्दै गएपछि ग्रिस, पोर्चुगल र फ्रान्समा आगलागी र  डढेलोका घटनाहरू बढेका छन् । ती देशका प्रभावित क्षेत्रहरूमा अग्नि नियन्त्रक जहाजहरूसमेत परिचालन गरिएको छ भने धेरै गाउँबाट स्थानीयहरूलाई अन्यत्र स्थानान्तरण गरिएको छ ।

प्रचण्ड गर्मी र तातो हावाबाट युरोपमा रहेको नेपाली समेत प्रभावित बनेका छन् । त्यसैले युरोपको ती क्षेत्रमा रहने नेपालीहरूले उच्च सतर्कता अपनाउन आवश्यक देखिन्छ ।