चिनियाँ कम्युनिस्ट पार्टीले अधिकारीहरूमाथि निगरानी बढाउने

आप्रवासन आप्रवासन

 चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले आफ्ना अधिकारीहरूको सम्पत्ति र अनलाइन गतिविधिमाथि कडा निगरानी बढाउने तयारी गरेको छ । आइतबार सार्वजनिक भएको एक पार्टी दस्तावेजमा आफ्ना अधिकारीहरूको सम्पत्ति र अनलाइन गतिविधिमाथि निगरानी बढाउने खाका प्रस्तुत छ ।

सीसीपीको शक्तिशाली केन्द्रीय समितिको यो दस्तावेज सिन्ह्वा न्यूज एजेन्सीद्वारा प्रकाशित भएको हो । यो बेइजिङमा यस साता सम्पन्न पार्टीको वार्षिक पूर्ण बैठकपछि आएको हो जसले शासन व्यवस्था र भ्रष्टाचार नियन्त्रणमा जोड दिएको थियो ।

चीनमा राष्ट्रपति सी जिनपिङले एक दशकभन्दा बढी समयदेखि भ्रष्टाचारविरुद्ध कडा अभियान चलाएका छन् । यस क्रममा हजारौँ अधिकारी फसेका छन् भने शक्तिशाली केन्द्रीय समितिका दर्जनौँ सदस्य र थुप्रै उच्च सैन्य अधिकारीहरूलाई पदमुक्त गरिएको छ ।

आइतबार सार्वजनिक भएको प्रस्तावले पार्टीको नीति दिशा स्पष्ट पार्दै अधिकारीहरूमाथि कडा अनुगमनको आह्वान गरेको छ।  “उच्च पदस्थ अधिकारीहरूबाट सुरु गर्दै हामी अधिकारीहरूको सर्वाङ्गीण व्यवस्थापन र नियमित निगरानीलाई कडा बनाउने छौँ । उनीहरूको सम्पूर्ण करियरभरि कडा मापदण्ड लागू गर्ने छौँ,” यसमा भनिएको छ।

“परिवारको सम्पत्ति र खर्च सामान्य आम्दानीभन्दा धेरै बढी भएकाहरूको जाँच गरिने छ र सम्बन्धित प्रमाणीकरण गरिने छ,” प्रस्तावमा उल्लेख छ । अधिकारीहरूका जीवनसाथी र छोराछोरीका व्यापारिक गतिविधिमाथि पनि निगरानी बढाइने बताइएको छ ।

“हामी पार्टी सदस्यहरूको अनलाइन व्यवहारलाई अझ राम्रोसँग नियमन गर्ने छौँ,” प्रस्तावमा उल्लेख छ । प्रस्तावमा पार्टीले ‘भर्चुअल’ मुद्रा र ‘ब्लकचेन’मार्फत हुने भ्रष्टाचारविरुद्ध पनि लड्ने उल्लेख छ । बिहीबार सकिएको पूर्ण बैठकले ‘पार्टीको पूर्ण र कडा शासनलाई अगाडि बढाउने’ निर्णय अपनाएको हो जसमा कार्यकर्ताहरूद्वारा हुने गरेका भनिएका भ्रष्टाचार घटाउने कुरा समावेश छ ।

सिन्ह्वाले थप ३३ जना उच्च पदाधिकारीहरूलाई निष्कासन गरिएको पुष्टि गरेको छ । यसमा पूर्व पोलिटब्युरो सदस्य झाङ यौसिया पनि रहेका छन्। उनी एक समय चीनका सर्वोच्च दर्जाका जनरल रहेका छन् ।

पार्टीका समर्थकहरूले चीनको भ्रष्टाचार नियन्त्रण अभियानले स्वच्छ शासनलाई प्रवद्र्धन गर्ने विश्वास गर्छन् । यद्यपि, विश्लेषकहरूले यी कदमहरू सन् २०२७ को पहिलो छ महिनापछि हुने पार्टी कंग्रेस (सम्मेलन) मा सीको शासन थप लम्ब्याउने बाटो सहज बनाउन लक्षित रहको हुनसक्ने बताएका छन् ।

आइतबारको केन्द्रीय समितिको प्रस्तावले ‘पार्टीभित्रको लोकतन्त्रको प्रभावकारिता सुधार्ने’ आह्वान पनि गरेको छ। सदस्यहरूलाई आफ्ना विचार व्यक्त गर्ने थप माध्यम उपलब्ध गराउने र उनीहरूलाई ‘मन खोलेर बोल्न’ प्रोत्साहित गर्ने कुरा यसमा छ।

“हामीले पार्टीभित्र लोकतन्त्र अभ्यास गर्ने प्रणालीलाई कायम राख्नु र सुधार गर्नुपर्छ, पार्टी सदस्यहरूको प्रमुख स्थानको सम्मान गर्नुपर्छ र उनीहरूका लोकतान्त्रिक अधिकारको रक्षा गर्नुपर्छ,” केन्द्रीय समितिको प्रस्तावमा भनिएको छ ।