गाजामा इजरायलले गरेको एक आक्रमणको पाकिस्तानसहित १८ मुस्लिम देशले निन्दा गरेका छन् । गाजाको खान युनिसमा रहेको नासेर मेडिकल कम्प्लेक्सलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणको ती देशले कडा निन्दा गर्दै विज्ञप्ति जारी गरेका हुन्।
शनिबार कतारी विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत सो घटनाको निन्दा गर्दै १८ मुस्लिम देशहरूको संयुक्त विज्ञप्ति पोस्ट गरेको बीबीसीले जनाएको छ ।
सो संयुक्त विज्ञप्तिमा कतार, जोर्डन, संयुक्त अरब इमिरेट्स (युएई), इन्डोनेसिया, पाकिस्तान, टर्की, अल्जेरिया, जिबूती, साउदी अरेबिया, सुडान, सोमालिया, ओमान, प्यालेस्टाइन, कुवेत, लेबनान, लिबिया, इजिप्ट र मौरिटानियाका विदेश मन्त्रीहरूले हस्ताक्षर गरेका छन्।
इजरायली हवाई आक्रमणमा बिरामी र चिकित्सा कर्मचारी मारिएको भन्दै निन्दा गरिएको छ । इजरायलको सो आक्रमणबाट अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन भएको जनाइएको छ ।
विज्ञप्तिमा विदेश मन्त्रीहरूले प्यालेस्टिनी नागरिकहरूमाथि इजरायलको निरन्तर आक्रमणको निन्दा गरेका छन् ।
यस्ता आक्रमणले युद्धविराम सम्झौता र गाजापट्टीमा सुरक्षा र स्थिरता पुनर्स्थापित गर्ने प्रयासहरूलाई कमजोर बनाएको समेत विज्ञप्तिमा जनाइएको छ । विदेशमन्त्रीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा समेत असहमति जनाएका छन् ।