युक्रेनलाई नेटोमा लैजान अमेरिकाको नयाँ प्रस्ताव, के मान्लान् पुटिन र जेलेन्स्की?

आप्रवासन आप्रवासन

रुससँगको युद्ध सुरु भएको झन्डै पाँच वर्ष पुग्न लाग्दा अमेरिकाले युक्रेनलाई उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) मा सामेल गराउने नयाँ विकल्प अघि सारेको छ। आफ्नो रक्षाको सुनिश्चितताका लागि युक्रेनले लामो समयदेखि नेटो सदस्यताको चाहना राख्दै आएको थियो। 

यद्यपि, राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले यसका लागि युक्रेनले आफ्नो पूर्वी भूभाग डोनबास क्षेत्र रुसलाई सुम्पिनुपर्ने संकेत गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध अन्त्यका लागि डोनबास क्षेत्र छाड्नुपर्ने मुख्य सर्त राख्दै आएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार गत हप्ता युनाइटेड अरब इमिरेट्स (यूएई) को अबुधाबीमा सम्पन्न शान्ति वार्ताका क्रममा ट्रम्पका वार्ताकारद्वय स्टिभ विटकफ र जारेड कुश्नरले यो प्रस्ताव राखेका हुन्। अबुधाबी वार्तापछि कुश्नर र विटकफले बिहीबार मस्कोमा पुटिनसँग भेटवार्ता गरेका थिए। त्यसपछि उनीहरूले शुक्रबार आयरल्यान्डको राजधानी डब्लिनमा जेलेन्स्कीलाई भेटेर यसबारे जानकारी गराएका थिए।

युक्रेनले आफ्नो सिमाना सुरक्षित गर्न सेप्टेम्बर २०२२ मा नेटो सदस्यताका लागि औपचारिक आवेदन दिएको थियो। यता मस्कोले भने युक्रेन नेटो सदस्य बन्नु रुसका लागि असह्य हुने र त्यसको ‘कडा जवाफ’ दिने चेतावनी दिँदै आएको छ।

अमेरिकी प्रस्तावमा के छ?

शनिबार पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले कुश्नर र विटकफले पूर्वी डोनबासको नियन्त्रण छाडे युक्रेन नेटोको सदस्य बन्न सक्ने सुझाव दिएको बताए। अमेरिकी अधिकारीहरूले युक्रेनी पक्षसमक्ष प्रश्न राखेका थिए, ‘यदि युक्रेन नेटोमा सामेल भयो भने के युक्रेन डोनबासबाट पछि हट्छ?’

युक्रेन र रुसबिचको यो वार्ता निकै जटिल भए पनि यसले युरोपेली सुरक्षाको भविष्य तय गर्ने भएकाले नेटोको विषय फेरि कार्यसूचीमा फर्किएको जेलेन्स्कीको भनाइ छ। पुटिनले सुरुदेखि नै युक्रेनको नेटो सदस्यताको विरोध गर्दै रुसको सीमा जोडिएका देशहरूबाट नेटोले आफ्ना सेना फिर्ता बोलाउनुपर्ने माग राख्दै आएका छन्। 

vlodimir-zelensky_rmvfIQrB4g.webp

यस विषयमा जेलेन्स्कीले भने, ‘यो खतरनाक छ। मेरो विचारमा यस्तै कुराले युद्ध वा तनाव बढाउँछ। युरोपमा वास्तविक सुरक्षा भनेको युरोपेली युनियन र नेटो नै हो। यसबाहेक युरोपमा अन्य कुनै सुरक्षा छैन।’

जर्मन मार्सल फन्डका विज्ञ इयान लेसरका अनुसार यदि यो प्रस्ताव सत्य हो भने निकै महत्त्वपूर्ण छ। यसले शान्तिका लागि युक्रेन भूभाग त्याग गर्न तयार हुनुपर्छ भन्ने अमेरिकी प्रशासनको पुरानै सोचलाई प्रस्ट रूपमा बाहिर ल्याएको उनको विश्लेषण छ। 

लेसरले भने, ‘नेटोको पाटो अझै शंकास्पद छ। युक्रेनका लागि यो आकर्षक भए पनि मस्को यसमा सहमत हुन कठिन छ र नेटोका केही सदस्य राष्ट्रले पनि यसमा संशय व्यक्त गर्न सक्छन्।’

यस्तै, बेलायतको युनिभर्सिटी अफ योर्कका राजनीतिशास्त्री क्रिस फेदरस्टोनले यो प्रस्ताव अमेरिकाको पूर्ववर्ती अडानभन्दा निकै फरक रहेको बताए। उनका अनुसार बाइडेन प्रशासनले सैन्य सहायता दिए पनि स्थलगत संलग्नताको विरोध गरेको थियो। 

ट्रम्प रुसप्रति सहानुभूति राख्ने र जेलेन्स्कीसँग मतभेद भएका नेता मानिन्छन्, त्यसैले यो प्रस्ताव अप्रत्याशित छ। फेदरस्टोनले भने, ‘भविष्यमा रुसले फेरि द्वन्द्व सुरु गरेमा नेटो सदस्यताले युक्रेनलाई ठूलो सुरक्षा दिनेछ। तर, ट्रम्पले अन्य नेटो साझेदारहरूलाई यस प्रस्तावमा सहमत गराउन सक्छन् वा सक्दैनन् भन्ने मुख्य प्रश्न हो।’

  • युक्रेनका लागि यसको अर्थ

रुसी आक्रमण सुरु भएको केही महिनापछि युक्रेनले नेटो सदस्यताका लागि आवेदन दिएको थियो। त्यसयता युक्रेनी नेतृत्वले प्रक्रियालाई छिटो अघि बढाउन नेटो राष्ट्रहरूसँग निरन्तर लबिइङ गरिरहेको छ। तर जारी युद्धबिच युक्रेनलाई सदस्यता दिने विषयमा नेटो सदस्य राष्ट्रहरू नै विभाजित छन्। 

लिथुआनिया र पोल्यान्डजस्ता सीमा जोडिएका राष्ट्रहरू युक्रेनको पक्षमा खुलेर उभिएका छन्। केही देशले भने युक्रेनमा रहेको भ्रष्टाचार नियन्त्रण हुनुपर्ने र युद्ध अन्त्यलाई सदस्यताको पूर्वसर्त बनाउनुपर्ने धारणा राख्दै आएका छन्।

putin-zelensky_qXALjlQ50W.webp

राष्ट्रपति ट्रम्प भने युक्रेनलाई सदस्यता दिने विषयमा अनुदार रहँदै आएका थिए। नयाँ प्रस्तावले नेटो सदस्यताको आशा जगाए पनि किभका लागि यो सम्झौता स्वीकार्न सहज छैन। शनिबार जेलेन्स्कीले जमिन साटेर नेटो सदस्यता लिने कुरा यसअघि कहिल्यै नउठेको प्रस्ट पार्दै युक्रेनले आफ्नो कुनै पनि भूभाग नछाड्ने दोहोर्या ए। 

यद्यपि, सुरक्षा ग्यारेन्टी, बलियो सेना कायम राख्ने अधिकार र पुनर्निर्माणका लागि आवश्यक कोष सुनिश्चित हुने गरी शान्ति सम्झौता भएमा जमिन छाड्ने विषयमा आफू राष्ट्रिय जनमत सङ्ग्रह गराउन तयार रहेको उनले बताए।

विश्लेषक फेदरस्टोनका अनुसार लामो समयदेखि लडिरहेको युक्रेनलाई भूभाग त्याग गर्न लगाउनु उसको सार्वभौमसत्तामाथिको ठूलो धक्का हुनेछ। त्यसैले युक्रेनलाई अमेरिकाबाट सुरक्षाको ठोस प्रतिबद्धता आवश्यक पर्ने देखिन्छ।

  • रुसका लागि यसको अर्थ र डोनबासको महत्त्व

पछिल्लो अमेरिकी प्रस्तावप्रति क्रेमलिनले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। रुसले युक्रेनको नेटो सदस्यतालाई आफ्नो राष्ट्रिय सुरक्षाका लागि ‘रेड लाइन’ मान्दै आएको छ। सन् २०२२ मा आक्रमण सुरु गर्दा पुटिनले यसैलाई प्रमुख कारण बनाएका थिए। 

वार्ताहरू भए पनि रुसले आफ्नो अडान फेर्ने कुनै संकेत देखाएको छैन। रुसले युक्रेनलाई तटस्थ र निशस्त्रीकरणको स्थितिमा देख्न चाहन्छ। साथै डोनबासका अतिरिक्त जापोरिजिया र खेरसन क्षेत्रमाथि पनि उसले दाबी कायमै राखेको छ।

अमेरिकी प्रस्तावले वास्तवमा रुसलाई एउटा सम्झौता अघि सारेको छ- युक्रेनको नेटो सदस्यतामाथिको अडान फिर्ता लिने र बदलामा पूरै डोनबास क्षेत्र प्राप्त गर्ने।

ukraine-war_YhZD85XtxI.jpg

पूर्वी युक्रेनमा पर्ने डोनबास ऐतिहासिक रूपमै औद्योगिक केन्द्र र आर्थिक इन्जिन हो। यहाँ बहुसङ्ख्यक मानिस युक्रेनी मूलका भए पनि रुसी भाषीहरूको पनि बाक्लो उपस्थिति छ। रुसले त्यहाँका रुसी भाषीमाथि विभेद भएको आरोप लगाउँदै यस क्षेत्रमाथि कब्जा जमाउने प्रयास गरिरहेको छ। 

लुहान्स्क र डोनेस्क प्रान्त मिलेर बनेको यस क्षेत्रको करिब ८८ प्रतिशत भाग हाल रुसको नियन्त्रणमा छ। रुस बाँकी भागबाट पनि युक्रेनी सेना हट्नुपर्ने माग गरिरहेको छ।

पूर्वनेटो अधिकारी ह्यारी नेडेल्कुका अनुसार यो प्रस्तावले रुसका लागि डोनबास क्षेत्र कति महत्त्वपूर्ण छ भन्ने परीक्षण गर्नेछ। उनका अनुसार रुसले युक्रेनको नेटो सदस्यता कहिल्यै स्वीकार नगर्ने स्पष्ट छ। अमेरिकालाई देखाउन र युक्रेनमाथि बढीभन्दा बढी क्षति पुर्याटउन मात्र रुसले नयाँ विषय उठाएर वार्ताको दायरा फराकिलो बनाउन खोजेको उनको ठम्याइ छ।

  • अमेरिकाको भनाइ

अमेरिकाले औपचारिक रूपमा जमिन त्याग्ने सर्तमा नेटो सदस्यता दिने प्रस्ताव सार्वजनिक गरेको छैन। जेलेन्स्कीको अभिव्यक्ति बाहिरिएपछि कुश्नरले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै सञ्चारमाध्यममा दुवै पक्षका चरम अडान र राजनीतिक अभिव्यक्तिहरू मात्र बाहिर आएको टिप्पणी गरे। 

युद्ध अन्त्यका लागि भइरहेका यी वार्ताहरू ‘निजी छलफल’ भएको उल्लेख गर्दै उनले भने, ‘यी छलफलहरूबाट केही नयाँ विचार निस्किएका छन् र तिनको खोजी भइरहेको छ। केहीले सिधै नतिजा दिन सक्छन् भने केहीले बाँकी रहेका असमझदारी मेटाउन नयाँ प्रस्तावको रूप लिन सक्छन्।’

युद्ध अन्त्य गर्न दुवै पक्षबाट व्यावहारिक सम्झौता आवश्यक हुने उनले बताएका छन्। यसअघि बिहीबार कुश्नरले पुटिन शान्ति वार्तामा युरोपलाई समावेश गर्न सहमत भएको जानकारी दिँदै भनेका थिए, ‘युरोपेलीहरू वार्ताको टेबलमा नबसेसम्म हामी यो सम्झौता टुंग्याउन सक्दैनौँ।’

अल जजिरा