कुवेत। कुवेतमा अवैध रूपमा मदिरा उत्पादन तथा भण्डारण गर्ने गतिविधिमा संलग्न रहेको आरोपमा तीन नेपालीसहित चार जना विदेशी नागरिक पक्राउ परेका छन्। कुवेतको मीना अब्दुल्लाह औद्योगिक क्षेत्रमा विद्युत् ट्रान्सफर्मरभित्र लुकाएर सञ्चालन गरिएको अवैध मदिरा उत्पादन केन्द्र फेला पारेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा तीन जना नेपाली र एक जना भारतीय नागरिक रहेका छन्। कुवेतको आहमदी गभर्नरेट सुरक्षा निर्देशनालयले सञ्चालन गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरू पक्राउ परेको कुवेतको सञ्चारमाध्यम अरब टाइम्सले नोभेम्बर १५, २०२६ मा प्रकाशित समाचारमा उल्लेख गरेको छ।
कुवेतको गृह मन्त्रालयका अनुसार पक्राउ परेका चारै जना मदिराको नशामा रहेको अवस्थामा सुरक्षा अधिकारीहरूले नियन्त्रणमा लिएका थिए। उनीहरूमाथि थप अनुसन्धान गर्ने क्रममा प्रहरीले मीना अब्दुल्लाह औद्योगिक क्षेत्रमा रहेको एउटा बिग्रिएको विद्युत् ट्रान्सफर्मरभित्र अवैध रूपमा मदिरा उत्पादन तथा भण्डारण गर्ने स्थान फेला पारेको थियो।
प्रहरीले उक्त स्थानमा छापा मारेर मदिराजन्य पदार्थ राखिएका १९४ वटा बोतल बरामद गरेको छ। प्रत्येक बोतलको क्षमता १.५ लिटर रहेको बताइएको छ। यसबाहेक विभिन्न आकारका पाँचवटा ब्यारेल पनि फेला परेका छन्। तीमध्ये एउटा ब्यारेलमा मदिराजन्य पदार्थ रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, बोतलमा मदिरा भर्न प्रयोग गरिने तीनवटा सिरिन्ज र बरामद गरिएका बोतल राखिएका २८ वटा झोलासमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार औद्योगिक क्षेत्रभित्र रहेको प्रयोगविहीन तथा बिग्रिएको विद्युत् ट्रान्सफर्मरलाई अवैध मदिरा उत्पादन र भण्डारण गर्ने स्थानका रूपमा प्रयोग गरिएको थियो। बाहिरबाट सजिलै शंका नहुने गरी सञ्चालन गरिएको उक्त गतिविधिबारे अनुसन्धानपछि सुरक्षा अधिकारीहरूले कारबाही अघि बढाएका थिए।
पक्राउ परेका चारै जना र बरामद गरिएका सबै सामग्रीलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा बुझाइएको कुवेतको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयले देशभर अवैध गतिविधि नियन्त्रण गर्न सुरक्षा निगरानी, स्थलगत निरीक्षण तथा कारबाहीलाई निरन्तरता दिने जनाएको छ। सार्वजनिक सुरक्षा र सामाजिक सुरक्षामा असर पार्ने गैरकानुनी गतिविधिविरुद्ध कडा निगरानी राखिने पनि मन्त्रालयले स्पष्ट पारेको छ।
कुवेतमा मदिराको उत्पादन, बिक्री तथा सेवन कानुनी रूपमा प्रतिबन्धित छ। पछिल्लो घटनामा तीन नेपाली पक्राउ परेपछि कुवेतमा कार्यरत नेपाली समुदायसमेत यस घटनाप्रति सचेत हुनुपर्ने देखिएको छ।