नेतन्याहुले आइजनकोटलाई एकताको प्रस्ताव गरेको इजरायली मन्त्रीको दाबी

आप्रवासन आप्रवासन

 इजरायलकी यातायात तथा सडक सुरक्षा मन्त्री मिरी रेगेभले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले एकताका लागि हात अघि बढाएको बताएकी छन् । नेतन्याहूको तर्फबाट एकताको प्रस्ताव अघि सारिएको उल्लेख गर्दै उनले यस्तो दाबी गरेकी हुन् ।

इजरायलको राजनीतिक–सुरक्षा क्याबिनेटकी सदस्यसमेत रहेकी मन्त्री रेगेभले सामाजिक सञ्जाल ‘एक्सुमा लेख्दै गादी आइजनकोटका अगाडि दुईवटा विकल्प रहेको बताएकी छन् । उनका अनुसार आइजनकोटले इजरायलको हित रोज्ने वा विगतमा आफूले चरमपन्थीका समर्थक तथा प्यालेस्टिनी राज्य निर्माणका पक्षधर भनी टिप्पणी गरेका व्यक्तिहरूको हित रोज्ने भन्ने निर्णय लिनुपर्ने अवस्था आएको छ ।

मन्त्री रेगेभले अगाडि लेखेकी छन्, ‘चरमपन्थी समर्थकहरूको साथ लिएर बनाइएको सरकार चाँडै ढल्नेछ। जसले आफ्ना मतदातासँग झूट बोलेको छ, उसले आफ्नै हातले आफ्नो राजनीतिक भविष्य समाप्त पार्नेछ ।’

इजरायलमा नयाँ सरकार गठनका लागि विभिन्न प्रयासहरू जारी रहेका बेला गादी आइजनकोटको ‘याशर’ पार्टीले भने नेतन्याहूको लिकुड पार्टीसँगको प्रस्तावित बैठक रद्द गरिदिएको थियो ।

‘द जेरुसेलम पोस्ट’का अनुसार गठबन्धन सरकार निर्माणका सम्भावना र वार्ता प्रक्रियालाई अगाडि बढाउन बुधबारका लागि दुई पक्षबिच बैठक तय भएको थियो । तर, कार्यवाहक प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संसद्‌मा दिएको भाषणपछि आइजनकोटको पार्टीले उक्त छलफल रद्द गर्ने निर्णय गरेको हो ।

बैठक रद्द भएपछि याशर पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको थियो, ‘कार्यवाहक प्रधानमन्त्रीको विभाजनकारी भाषण र संसद्को शपथ ग्रहण समारोहका क्रममा उनले देखाएको लज्जास्पद व्यवहारले नेतन्याहूको शासनमा बाँकी रहेको राजनीतिज्ञको जस्तो गरिमामा समेत ठेस पुर्‍याएको छ ।’