इमरान खानको भावुक पत्र– जेलबाट जीवित फर्किन मुस्किल छ

आप्रवासन आप्रवासन

 पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले जेलमा आफ्नो स्वास्थ्य अवस्था बिग्रँदै गएको बताएका छन् । उनले देशका तीनवटा प्रमुख अदालतका न्यायाधीशलाई एक भावुक पत्र लेख्दै यस्तो बताएका हुन् । उनले आफू र पत्नी बुशरा बीबीको उपचारको व्यवस्था मिलाउन माग गरेका छन् ।

इमरानले आफूलाई मस्तिष्कघात वा हृदयाघात हुन सक्ने चिकित्सकले चेतावनी दिएको दाबी गरेका छन् । जेलमा दैनिक २२ घण्टासम्म एक्लै राखिने गरेको उल्लेख गर्दै उनले जीवितै जेलबाट बाहिर निस्कन कठिन हुने अवस्था आएको बताएका छन् ।

उनले संघीय संवैधानिक अदालत, सर्वोच्च अदालत र इस्लामाबाद उच्च अदालतका न्यायाधीशलाई पत्र पठाएका हुन् । उनका वकिल सलमान सफदरले पत्र सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेका छन् ।

पत्रमा इमरानले परिवारका सदस्य र वकिलसँग भेटघाट गर्न, छोराहरूसँग फोनमा कुरा गर्न, पुस्तक पढ्न र टेलिभिजन हेर्नसमेत प्रतिबन्ध लगाइएको आरोप लगाएका छन् । यस वर्ष आफ्ना वकिललाई चार पटक मात्रै भेट्न दिइएको र पत्नी बुशरा बीबीका वकिललाई एक पटक मात्र भेट्न अनुमति दिइएको उनको भनाइ छ ।

इमरानका अनुसार जेलको मेडिकल बोर्डले उनको मानसिक स्वास्थ्यमा समस्या रहेको स्वीकार गर्दै पत्नी र परिवारसँग नियमित भेटघाट, पुस्तक पढ्ने तथा टेलिभिजन हेर्ने सुविधा दिन सिफारिस गरेको थियो । तर, उक्त सिफारिस कार्यान्वयन नभएको उनले बताएका छन् ।

उनले आफ्नो दाहिने आँखाको ८५ प्रतिशत ज्योति गुमेको दाबीसमेत गरेका छन् । गत फेब्रुअरी १० मा वकिलसँगको भेटका क्रममा आँखाको समस्याबारे जानकारी भएको तर परिवार र कानुनी सल्लाहकारलाई त्यसबारे जानकारी नगराइएको उनको आरोप छ ।

त्यस्तै, जेलमा रहँदा आफ्नो रक्तचाप बढ्दै गएको उल्लेख गर्दै उनले नोभेम्बर १० मा रक्तचाप १९२ र १९३ सम्म पुगेको बताएका छन् ।

पत्नी बुशरा बीबीको स्वास्थ्य अवस्थाबारे पनि इमरानले चिन्ता व्यक्त गरेका छन् । उनका अनुसार बुशराको आँखाको रेटिनामा समस्या देखिएपछि अप्रिलमा जटिल शल्यक्रिया गरिएको थियो । उक्त शल्यक्रियाबारे परिवारलाई पर्याप्त जानकारी नदिइएको र त्यसपछि उनलाई पुनः एकान्त कारागारमा राखिएको इमरानको आरोप छ ।

यसै महिना पत्नीलाई भेट्दा उनले प्रकाश सहन नसक्ने र आँखा खोल्नसमेत कठिनाइ भएको इमरानले बताएका छन् । समयमै अर्को शल्यक्रिया नगरिए बुशराको आँखाको ज्योति सधैँका लागि गुम्न सक्ने उनको चेतावनी छ ।

तोशाखाना मुद्दामा दोषी ठहर भएपछि इमरान सन् २०२३ अगस्टदेखि रावलपिण्डीस्थित अडियाला जेलमा बन्द छन् । जेलमा परिवारसँगको भेटघाटमा प्रतिबन्ध लगाइएको भन्दै उनका दिदीबहिनीले समेत विरोध प्रदर्शन गरेका थिए ।