बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले युरोपेली सङ्घ (इयु) बाट बाहिरिने (ब्रेक्जिट) निर्णयले बेलायतलाई फाइदाभन्दा बढी नोक्सान पुर्याएको भन्दै इयुसँगको सम्बन्धलाई पुनः सुमधुर बनाउनुपर्ने बताएका छन् ।
सोमबार लन्डनको गिल्डहलमा आयोजित वार्षिक 'लर्ड मेयर्स ब्याङ्क्वेट' लाई सम्बोधन गर्दै प्रधानमन्त्री बर्नहमले विश्वव्यापी रूपमा बढ्दो एक्लोपनवादको सामना गर्न इयुसँग निकट सम्बन्ध आवश्यक रहेको बताएका हुन् ।
सन् २०१६ को जनमतसङ्ग्रहपछि इयुबाट बाहिरिने प्रक्रियाको परिणामलाई हान्स क्रिस्चियन एन्डरसनको प्रसिद्ध कथा 'द इम्पेरर्स न्यु क्लोथ्स' (राजाको नयाँ लुगा) सँग तुलना गर्दै उनले विगत १० वर्षमा बेलायतले पाउनुभन्दा धेरै गुमाएको स्पष्ट पारे । बेलायतले अपनाएको 'हार्ड ब्रेक्जिट' देशका लागि पर्याप्त नभएको उल्लेख गर्दै उनले सीमा, कानुन र अर्थतन्त्रमाथि पुनः नियन्त्रण कायम गर्ने ब्रेक्जिट पक्षधरहरूको वाचा पूरा हुन नसकेको बताए । उनका अनुसार इयु राष्ट्रहरूसँगको व्यापारमा तीव्र गिरावट आएको छ भने यसबाट बेलायतको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा ४ देखि ८ प्रतिशतसम्मको आर्थिक क्षति पुगेको अनुमान छ ।
आगामी शुक्रबार ब्रसेल्समा हुन लागेको बेलायत–इयु शिखर सम्मेलनको पूर्वसन्ध्यामा प्रधानमन्त्री बर्नहमको यस्तो धारणा सार्वजनिक भएको हो । उक्त सम्मेलनले लामो समयदेखि उपेक्षित महसुस गरेका बेलायतका विभिन्न क्षेत्रका नागरिकको दैनिक जीवनमा वास्तविक सुधार ल्याउन सक्ने उनको विश्वास छ ।
इयुसँग हुने कुनै पनि सम्झौता लेबर पार्टीको घोषणापत्र र आधारभूत सीमाभित्र रहनुपर्ने, सन् २०१६ को जनमतसङ्ग्रहको मर्मअनुसार ब्रेक्जिट सम्झौतामा सुधार गर्ने हुनुपर्ने तथा उपेक्षित क्षेत्रका जनतालाई प्रत्यक्ष लाभ दिने आफ्नो 'मेकरफिल्ड परीक्षण' मा खरो उत्रिनुपर्ने तीनवटा सर्त उनले अघि सारेका छन् ।
ब्रेक्जिटका लागि मतदान भएको एक दशक र सन् २०२० मा औपचारिक रूपमा बाहिरिएको छ वर्षपछि २७ सदस्यीय इयुसँग सम्बन्ध पुनःस्थापित गर्ने बर्नहमको प्रतिबद्धतामा ब्रसेल्स बैठकलाई एक महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ । उक्त बैठकमा बेलायत र इयुबीच खाद्य तथा पेय पदार्थको व्यापार, ऊर्जा र कार्बन उत्सर्जनका साथै युवाहरूलाई बेलायत र इयुका देशहरूमा निश्चित अवधिका लागि काम गर्न दिने योजनाबारे सहमति हुने अपेक्षा गरिएको छ ।
सन् २०१६ यताको राजनीतिक अस्थिरताका बीच बेलायतको सातौँ प्रधानमन्त्री बनेका बर्नहमले बेलायत अब विश्व मञ्चमा फर्किएको दाबी गरे । ब्रेक्जिटलाई विश्वव्यापी संरक्षणवाद र एक्लोपनतर्फको पहिलो कदमको संज्ञा दिँदै उनले नाटोमा फुट र कमजोर युरोप चाहने रुस जस्ता विरोधीहरूको इच्छा ब्रेक्जिटबाट पूरा भएको टिप्पणी गरे । ब्रसेल्स सम्मेलनपछि इयु साझेदारहरूसँग दीर्घकालीन सम्बन्धका विषयमा छलफल सुरु गर्ने बताउँदै उनका प्रवक्ता टम वेल्सले यसमा कुनै पूर्वानुमान नगरिएको र जुनसुकै नतिजाको अन्तिम निर्णायक बेलायती जनता नै हुने स्पष्ट पारे ।