यौन अपराधमा दोषी ठहरिएका अमेरिकी नागरिक जेफ्री एपस्टिनको कारागारभित्र भएको मृत्यु आत्महत्या नभई हत्या भएको एक फरेन्सिक विज्ञले दाबी गरेका छन् ।
प्राध्यापक माइकल फ्रिम्यानले न्युयोर्क सहरको मेडिकल एक्जामिनरको फाइल तथा शवपरीक्षणका तस्बिरहरूको समीक्षा गर्दा एपस्टिनको पछाडिबाट घाँटी थिचेर हत्या गरिएको देखिएको बताएका हुन् ।
यौन तस्करीको मुद्दामा सुनुवाइको प्रतीक्षामा रहेका एपस्टिन सन् २०१९ को अगस्ट १० मा न्युयोर्कस्थित मेट्रोपोलिटन करेक्सनल सेन्टरको कोठामा मृत फेला परेका थिए । तत्कालीन समयमा शवपरीक्षण गर्ने प्रमुख मेडिकल एक्जामिनर डा. बार्बरा स्याम्पसनले एपस्टिनको चोटपटक आत्महत्यासँग मेल खाने र हत्या भएको भए देखिनुपर्ने प्रतिरक्षात्मक चोटहरू नदेखिएको भन्दै यसलाई आत्महत्या ठहर गरेकी थिइन् । उनले आफ्नो उक्त निष्कर्षमा अडिग रहेको बताउँदै आएकी छिन् ।
जर्ज फ्लोइडको मृत्यु लगायत अमेरिकामा प्रहरी हिरासतमा भएका मृत्युका घटनाहरूमा महान्यायाधिवक्ताहरूका लागि मृत्युको कारण पत्ता लगाउने विज्ञका रूपमा काम गरिसकेका प्राध्यापक फ्रिम्यानले सोमबार साँझ लन्डनमा आफ्नो निष्कर्ष प्रस्तुत गर्दै उक्त अनुसन्धान तथा मेडिकल एक्जामिनरका फाइलहरू सार्वजनिक गरेका हुन् । एपस्टिनका भाइ मार्क एपस्टिनले उपलब्ध गराएको प्रतिवेदन र तस्बिरका आधारमा अध्ययन गरेको बताउँदै फ्रिम्यानले यसका लागि आफूले कुनै पारिश्रमिक नलिएको र यो स्वतन्त्र विश्लेषण भएको स्पष्ट पारेका छन् । यद्यपि, उनको यो अनुसन्धानको अन्य विज्ञहरूबाट समीक्षा (पियर रिभ्यु) भने भइसकेको छैन ।
फ्रिम्यानका अनुसार एपस्टिनको देब्रे काँधमा गहिरो रक्तस्राव भएको र अनुहारमा हिर्काइएको जस्तो चोट देखिनुले उनीमाथि आक्रमण भएको सङ्केत गर्छ । उनले एपस्टिनको घाँटीमा डोरी वा कपडाले कसेको डाममाथि नङले कोतरेको जस्तो निशान देखिएको बताउँदै पछाडिबाट घाँटी कसिँदा पीडितले त्यसलाई हटाउन खोज्दा यस्तो निशान बस्ने तर्क गरेका छन् । पहिले घाँटी कसेर हत्या गरिसकेपछि सोही डोरी वा कपडाको प्रयोग गरी शवलाई खाट (बंक बेड) मा झुण्ड्याइएको हुनसक्ने उनको भनाइ छ । चोटपटकको प्रकृति र शव भेटिएको अवस्था आपसमा मेल नखाने भएकाले यो हत्या नै भएको एकमात्र निष्कर्ष निस्कने उनले दाबी गरे ।
तत्कालीन समयमा शवपरीक्षण गर्ने चिकित्सकले अमेरिकी न्याय विभागको महानिरीक्षकको कार्यालयलाई एपस्टिनको चोटपटक घाँटी थिचेर हत्या गरिएको भन्दा झुण्डिएर आत्महत्या गरेकोसँग बढी मिल्दोजुल्दो रहेको बयान दिएका थिए । न्याय विभागको अनुसन्धान प्रतिवेदन अनुसार एपस्टिनलाई मृत अवस्थामा फेला पार्ने सुरक्षा गार्डले तत्काल अर्का सहकर्मीलाई बोलाएर शवलाई भुइँमा झारेका थिए र कृत्रिम श्वासप्रश्वास दिने प्रयास गरेका थिए । फ्रिम्यानले भने हिरासतमा झुण्डिएर मृत्यु भएको घटनामा शव तल झार्नुअघि तस्बिर खिचिनुपर्नेमा त्यसो नभएको प्रति प्रश्न उठाएका छन् ।
आफ्नो विश्लेषण सही ठहरिएमा एपस्टिनको हत्या कसले गरेको हुनसक्छ भन्ने प्रश्नमा फ्रिम्यानले यसबारे आफूलाई कुनै जानकारी नभएको र त्यो आफ्नो अनुसन्धानको विषय नरहेको बताए । बीबीसीका अनुसार सन् २००८ मा नाबालिगलाई वेश्यावृत्तिमा लगाएको कसुरमा दोषी ठहर भएका एपस्टिन ११ वर्षपछि पुनः नाबालिग किशोरीहरूको यौन तस्करी सञ्जाल चलाएको अभियोगमा पक्राउ परेका थिए ।