अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआई चिप निर्माता कम्पनी एनभिडियाका पूर्वप्रमुख (सिइओ) जेन्सन हुआङलाई उनको पद फिर्ता दिइए त्यसमा आफ्नो कुनै आपत्ति नरहने बताएका छन् ।
ह्वाइट हाउसबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले हुआङको भविष्यबारे आफ्नो धारणा राखेका हुन् । उनले भने ‘शायद एउटा पाठ अर्कोभन्दा बढी महत्त्वपूर्ण छ, तर उनलाई पुनः पदमा देख्दा मलाई पक्कै नराम्रो लाग्ने छैन ।’
दुई महिलासँग कथित सम्बन्ध रहेको खुलासा भएपछि हुआङले गत साता एनभिडियाको प्रमुख पदबाट राजीनामा दिएका थिए। तीमध्ये एक महिलामाथि चीनका लागि जासुसी गरेको आशंका गरिएको छ भने अर्की एनभिडियाकै कर्मचारी रहेको दाबी गरिएको छ । विश्वकै सर्वाधिक मूल्यवान् कम्पनीहरूमध्ये एक रहेको एनभिडिया एआई उद्योगको तीव्र विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।
यसैबिच, प्रविधि क्षेत्रका दिग्गज व्यवसायीहरू हुआङको पुनरागमनको समर्थनमा खुलेर लागेका छन्। स्पेसएक्सका प्रमुख एलन मस्क र एपिक गेम्सका सिइओ टिम स्विनीलगायतले एनभिडियाको सञ्चालक समितिलाई हुआङलाई पुनः कम्पनी प्रमुख बनाउन अपिल गरेका छन् । आन्तरिक छानबिन पूरा नभएसम्म हुआङलाई नै पदमा फर्काउन माग गरिएको एक खुला पत्रमा हालसम्म १ लाख ७५ हजारभन्दा बढी मानिसले हस्ताक्षर गरिसकेका छन् । हुआङले पद छाडेपछि एनभिडियाले कम्पनीकी कार्यकारी उपाध्यक्ष तथा मुख्य वित्तीय अधिकारी (सिएफओ) कोलेट क्रेसलाई अन्तरिम सिइओको जिम्मेवारी दिएको छ ।