अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हाले एसिया भ्रमणमा छन् ।
उनको भ्रमण कूटनीतिक भेटघाटमा मात्र सीमित छैन, प्रशासनभित्रको शक्ति सङ्घर्ष, चीनप्रतिको नीतिमा देखिएको मतभेद, विदेशमन्त्री मार्को रुबियोप्रतिको आशक्ति र उत्तर कोरियाली नेता किम जोङ उनसँग सम्भावित भेटको चर्चाले पनि ध्यान खिचेको छ ।
रोयटर्सले ट्रम्पको एसिया भ्रमणका पाँच महत्त्वपूर्ण पक्ष औँल्याएको छः
१. अमेरिकाको आन्तरिक समस्या ट्रम्पसँगै एसिया पुग्यो
ट्रम्प अमेरिका छाडेर हजारौँ किलोमिटर टाढा एसिया पुगे पनि अमेरिकाभित्रका समस्याले उनको भ्रमणलाई पछ्याइरहेका छन् । अमेरिकामा हवाई उडान, अनलाइन बैंकिङ, माइक्रोसफ्टलगायतका विभिन्न सेवा प्रभावित हुने गरी व्यापक अवरोध देखिएको छ । यसले ट्रम्प प्रशासनका सहयोगी र रिपब्लिकन सांसदहरूलाई समेत चिन्तित बनाएको छ । केही सांसदले सरकारसँग घटनाबारे विस्तृत जानकारी मागेका छन् ।
ह्वाइट हाउसकी पूर्वप्रेस सचिव क्यारोलिन लेभिटले आफ्नो बैंक खाताको अवस्था जाँच्दा चिन्ता लागिरहेको बताएकी छन् । उपराष्ट्रपति जेडी भान्सले पनि आफूलाई साथीहरूले सम्भावित संकटका लागि खाद्यान्न, पानी र सुरक्षित आश्रयको व्यवस्था गर्नुपर्ने हो कि भनेर सोधेको बताएका छन् । तर उनले तत्काल कुनै ठुलो संकट आउन लागेको सङ्केत नरहेको आश्वस्त पारेका छन् । ट्रम्पले भने यी अवरोधलाई सामान्य घटना भन्दै चिन्ता नगर्न आग्रह गरेका छन् ।
२. चीन नीतिमा मन्त्रीहरूबीच विवाद
ट्रम्पको मन्त्रिपरिषद्भित्रको अर्को विवाद चीनप्रतिको नीतिलाई लिएर देखिएको छ । अर्थमन्त्री स्कट बेसेन्ट र वाणिज्यमन्त्री हावर्ड लटनिकबीच चीनसँगको व्यापार तथा प्रविधि नीतिमा मतभेद बढेको छ । बेसेन्ट चीनतर्फ अवैध रूपमा पठाइएका एनभिडियाका चिपमाथि कडा कारबाही गर्न चाहन्छन् । तर लटनिकले यस विषयमा चीनसँग पुनः व्यापार युद्ध सुरु हुन सक्ने भन्दै सावधानी अपनाउनुपर्ने धारणा राखेका छन् ।
एनभिडियाका चिप चीनतर्फ पुर्याउने सम्भावित माध्यम र कम्पनीहरूको भूमिकाबारे पछिल्लो समय थप अनुसन्धान हुन थालेपछि विवाद झन् चर्किएको हो । दुवै मन्त्री एउटै विमानबाट मनिला पुगे पनि त्यहाँको बैठकमा उनीहरूबीच सहज सम्बन्ध देखिएन । उनीहरू एकअर्कालाई हेर्नसमेत अनिच्छुक देखिएको रोयटर्सले उल्लेख गरेको छ । ट्रम्पले भने दुवैको फरक दृष्टिकोण स्वीकार्य रहेको भन्दै अन्तिम निर्णय आफूले गर्ने बताएका छन् ।
३. एयर फोर्स वानमा ह्यारी हुडिनीको वृत्तचित्र
ट्रम्पको एसिया भ्रमणका क्रममा अमेरिकी राष्ट्रपतिको विशेष विमान एयर फोर्स वानमा एउटा अनौठो दृश्य पनि देखियो । विमानमा रहेका टेलिभिजनमा सामान्यतया ट्रम्पको मनपर्ने समाचार च्यानल फक्स न्युज प्रसारण हुने गर्छ । तर मनिलातर्फको १८ घण्टे उडानका क्रममा अचानक हंगेरीमा जन्मिएका चर्चित जादुगर ह्यारी हुडिनीमाथिको वृत्तचित्र प्रसारण भयो ।
एआईबाट तयार गरिएका दृश्यसमेत समावेश भएको उक्त वृत्तचित्रपछि पुनः फक्स न्युज प्रसारण हुन थालेको थियो । सन् १९२६ मा निधन भएका हुडिनीलाई ट्रम्पकै गृहनगर न्युयोर्कको क्विन्समा समाधिस्थ गरिएको छ ।
४. रुबियोको प्रशंसामा ट्रम्प, भान्ससँग प्रतिस्पर्धाको सङ्केत
ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उत्तराधिकारी कसलाई बनाउने भन्ने स्पष्ट पारेका छैनन् । तर विदेशमन्त्री मार्को रुबियोको निरन्तर प्रशंसाले रिपब्लिकन पार्टीभित्र उनको सम्भावित राजनीतिक भविष्यबारे चर्चा बढाएको छ ।
ट्रम्पले यसअघि पनि रुबियो र उपराष्ट्रपति जेडी भान्समध्ये कसलाई मन पराउनुहुन्छ भनेर ह्वाइट हाउस आउने पाहुनासँग सोध्ने गरेका थिए । भान्सले सन् २०२८ को निर्वाचनमा उम्मेदवारी दिने सम्भावनाबारे विचार गरिरहेको जनाइएको छ । रुबियोले भने आफ्नो राजनीतिक योजनाबारे स्पष्ट पारेका छैनन् ।
मनिलामा ट्रम्पले क्षेत्रीय नेताहरूको फोनको जवाफ नदिए रुबियोलाई पदबाट हटाइदिने भन्दै ठट्टा पनि गरे । तर त्यसपछि उनको खुलेर प्रशंसा गर्दै भने, ‘मार्को एकदमै लोकप्रिय छन्, होइन र ?’ यसले रुबियो र भान्सबीच भविष्यमा रिपब्लिकन पार्टीको नेतृत्वका लागि प्रतिस्पर्धा हुन सक्ने अड्कलबाजीलाई थप बल दिएको छ ।
५. किम जोङ उनसँग भेटको सम्भावना
ट्रम्पको एसिया भ्रमणको मुख्य आकर्षण चीनमा हुने राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्ता हो । तर उत्तर कोरियाली नेता किम जोङ उनसँग पनि भेट हुन सक्ने सङ्केत दिएर ट्रम्पले अर्को अप्रत्याशित सम्भावना अघि सारेका छन् ।
आफ्नो पहिलो कार्यकालमा ट्रम्पले किमसँग तीन पटक उच्चस्तरीय शिखर वार्ता गरेका थिए । ती भेटवार्ताले अन्तर्राष्ट्रिय स्तरमा ठुलो चर्चा पाए पनि उत्तर कोरियाको आणविक हतियार कार्यक्रमबारे ठोस समाधान निकाल्न सकेका थिएनन् ।
दोस्रो कार्यकालमा पनि ट्रम्पले किमसँग व्यक्तिगत कूटनीति पुनः सुरु गर्ने प्रयास गरेका छन् । तर अहिलेसम्म त्यसमा सफलता मिलेको छैन । यस पटक भने किम ट्रम्पसँग भेट्न चीन जाने कुनै सङ्केत देखिएको छैन । ट्रम्पले चीनमा सी र पुटिनसँगको त्रिपक्षीय वार्ताको तयारी गरिरहँदा किम चीनको सीमा क्षेत्रनजिकै रहेको एउटा स्की रिसोर्टमा देखिएका थिए ।