जर्मनीको प्रमुख वित्तीय संस्था डायचे बैंकका पुराना कारोबारी गतिविधिबारे गम्भीर खुलासा भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको अनुसन्धानले बैंकले जोखिम व्यवस्थापन तथा अनुपालन (कम्प्लायन्स) अधिकारीहरूले दिएका पटक–पटकका चेतावनी बेवास्ता गर्दै रुसी अर्बपतिहरू र यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्ध कायम राखेको देखाएको छ ।
अनुसन्धानका क्रममा बैंकका १ करोड ५० लाखभन्दा बढी आन्तरिक दस्तावेज लीक भएको पाइएको छ । ती दस्तावेजमा इमेल, आन्तरिक अनुसन्धान प्रतिवेदन, सञ्चालक समितिका बैठकका विवरण, वित्तीय कारोबारसम्बन्धी अभिलेख तथा कर्मचारीबीचका च्याट समावेश छन् ।
‘इनसाइड डायचे बैंक’ नाम दिइएको यस अन्तर्राष्ट्रिय अनुसन्धानमा फाइनान्सियल टाइम्स, द न्युयोर्क टाइम्स, डेर स्पिगल र ले मोन्ड लगायत सञ्चारमाध्यमका २०० भन्दा बढी पत्रकार सहभागी थिए ।
पुटिननिकट रुसी अर्बपतिसँग कारोबार
अनुसन्धानअनुसार, रुसी राष्ट्रपति भ्लादिमिर पुटिननिकट अर्बपति व्यवसायीहरूसँगको सम्बन्ध डायचे बैंकका लागि नियमन र वित्तीय जोखिमको प्रमुख चुनौती बनेको थियो ।
बैंकका जोखिम व्यवस्थापन अधिकारीहरूले रुसी प्रभावशाली व्यवसायीहरूसँग कारोबार गर्दा वित्तीय अपराधमा संलग्न हुने जोखिम बढ्नुका साथै बैंकको प्रतिष्ठामा समेत क्षति पुग्न सक्ने भन्दै पटक–पटक चेतावनी दिएका थिए ।
तर, ती चेतावनीका बाबजुद बैंकले उनीहरूसँगको व्यावसायिक सम्बन्ध कायम राखेको र वित्तीय कारोबार जारी राखेको अनुसन्धानमा उल्लेख छ ।
लीक भएका दस्तावेजमा रुसी अर्बपति ओलेग डेरिपास्का र भिक्टर वेक्सेलबर्गको नामसमेत उल्लेख छ । बैंकका आन्तरिक टोलीहरूले उनीहरूसँग सम्बन्धित कारोबारमा जोखिम पहिचान गरेका थिए । यद्यपि, बैंकले उनीहरूसँगको कारोबार रोक्न आवश्यक कदम नचालेको अनुसन्धानले देखाएको छ ।
एपस्टिनसँग जोडिएका ५ हजार ६०० करोडभन्दा बढीका शंकास्पद भुक्तानी
अनुसन्धानको अर्को महत्त्वपूर्ण खुलासा यौन अपराधी जेफ्री एपस्टिनसँग डायचे बैंकको सम्बन्धबारे छ । फाइनान्सियल टाइम्स को अनुसन्धानअनुसार, बैंकले एपस्टिनसँग सम्बन्धित करिब ५ हजार ६०६ करोड रुपैयाँभन्दा बढीका शंकास्पद वित्तीय भुक्तानीको कारोबार गरेको थियो । यो रकम यसअघि सार्वजनिक भएका विवरणमा उल्लेख गरिएको भन्दा निकै बढी हो ।
यी कारोबारमा महिलाहरूलाई गरिएको भुक्तानी, परोपकारी संस्थाका लागि प्राप्त रकमको कथित दुरुपयोग तथा धनी र प्रभावशाली व्यक्तिहरूसँग सम्बन्धित वित्तीय लेनदेन समावेश रहेको बताइएको छ ।
विशेषगरी, सन् २००८ मा नाबालिगलाई यौन शोषण तथा वेश्यावृत्तिमा लगाएको अभियोगमा दोषी ठहर भइसकेका एपस्टिनलाई डायचे बैंकले सन् २०१३ मा आफ्नो ग्राहक बनाएको थियो ।
एपस्टिनको विगत र उनीसँग सम्बन्धित सम्भावित जोखिमबारे बैंकभित्रै पटक–पटक चेतावनी दिइएको थियो । तर, बैंक व्यवस्थापनले ती चेतावनीलाई बेवास्ता गर्दै उनलाई ग्राहक बनाएको अनुसन्धानमा उल्लेख छ ।
बैंकका प्रमुख कार्यकारीमाथि पनि प्रश्न
अनुसन्धानले डायचे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) क्रिश्चियन स्विङको भूमिकामाथि समेत प्रश्न उठाएको छ ।
सन् २०१८ मा नेतृत्व सम्हालेपछि स्विङले बैंकको वित्तीय तथा संस्थागत अवस्था सुधार्न महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ । तर, लीक भएका दस्तावेजले उनले निजी रूपमा बढी जोखिम लिएर कारोबार गर्नुपर्ने पक्षमा वकालत गरेको, अनुपालन व्यवस्थामाथि प्रश्न उठाएको र बैंकका केही समस्याबारे सेयरधनीलाई पर्याप्त जानकारी नदिएको देखाएको अनुसन्धानमा उल्लेख छ ।
यसले बैंकको जोखिम व्यवस्थापन, आन्तरिक निगरानी र संस्थागत पारदर्शितामाथि गम्भीर प्रश्न खडा गरेको छ ।
वित्तीय संस्थाको निगरानी प्रणालीमाथि प्रश्न
डायचे बैंकसँग सम्बन्धित यी खुलासाले विश्वकै प्रमुख वित्तीय संस्थाहरूमा जोखिम व्यवस्थापन र अनुपालन प्रणाली कति प्रभावकारी छन् भन्ने प्रश्न उठाएको छ । विशेषगरी, वित्तीय अपराधको जोखिमबारे आन्तरिक अधिकारीहरूले जानकारी गराउँदा पनि बैंकको उच्च व्यवस्थापनले त्यसलाई बेवास्ता गरेको आरोपले संस्थागत जवाफदेहिताको विषयलाई थप गम्भीर बनाएको छ ।
१ करोड ५० लाखभन्दा बढी आन्तरिक दस्तावेजको अनुसन्धानबाट सार्वजनिक भएका यी विवरणले डायचे बैंकका पुराना कारोबार, प्रभावशाली व्यक्तिहरूसँगको सम्बन्ध र आन्तरिक निर्णय प्रक्रियाबारे थप खुलासा हुने सम्भावना देखाएको छ ।