आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप निर्माता कम्पनी एनभिडियाको त्रैमासिक बिक्री पहिलो पटक १०० अर्ब (१ खर्ब) डलर पार गर्दै नयाँ रेकर्ड कायम गरेको छ । ऐतिहासिक वित्तीय नतिजा सार्वजनिक गर्दै कम्पनीले पदमुक्त भएका संस्थापक जेन्सन हुआङलाई पदमा पुनर्बहाली नगर्ने स्पष्ट पारेको छ ।
एनभिडियाका अध्यक्ष हार्भे जोन्सले मंगलबार लगानीकर्ताहरूलाई स्पष्ट पार्दै भने, ‘बोर्डको उनलाई (हुआङलाई) पुनर्बहाली गर्ने कुनै मनसाय छैन ।’ यसअघि मंगलबार नै हुआङले बोर्डले चाहेमा आफू पुनः कम्पनीको नेतृत्व सम्हाल्न तयार रहेको बताएका थिए । चिनियाँ गुप्तचर भएको आशङ्का गरिएकी महिलासँगको सम्बन्धसहित दुई वटा विवाहेत्तर सम्बन्धका खबरहरू बाहिरिएपछि उनले राजीनामा दिएका थिए ।
हुआङको बहिर्गमनपछिको पहिलो वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीकी प्रमुख वित्तीय अधिकृत (सीएफओ) तथा अन्तरिम प्रमुख कार्यकारी अधिकृत (सीईओ) कोलेट क्रेसले एनभिडियाको कार्ययोजना सही बाटोमै अघि बढिरहेको र कम्पनीको महत्त्वाकाङ्क्षा पहिलेभन्दा अझ उच्च रहेको बताइन् ।
अक्टोबर २५ सम्मको त्रैमासिक अवधिमा एनभिडियाको बिक्री अघिल्लो वर्षको सोही अवधिको तुलनामा दोब्बर हुँदै ११५.८ अर्ब अमेरिकी डलर पुगेको छ । यससँगै बजार बन्द भएपछिको कारोबार (आफ्टर–आउर्स ट्रेडिङ) मा कम्पनीको सेयर मूल्यमा सुधार देखिएको छ ।
त्यसैगरी, यस त्रैमासमा कम्पनीको खुद नाफा पनि दोब्बर भई ६५ अर्ब डलर पुगेको छ । कम्पनीको प्रमुख व्यवसाय मानिने ुडेटा सेन्टरुबाट हुने आम्दानी पनि दोब्बर भएर १०७ अर्ब डलर पुगेको छ ।
कम्पनीले आफ्नो तीव्र वृद्धि आगामी दिनमा पनि जारी रहने जनाएको छ । आगामी त्रैमासमा आम्दानी थप १३ प्रतिशतले बढ्ने कम्पनीको प्रक्षेपण छ । हुआङको अप्रत्याशित बहिर्गमनपछिको अनिश्चितताका कारण वित्तीय विश्लेषकहरूले कम्पनीले आगामी दिनको वित्तीय मार्गदर्शन (गाइडन्स) दिन सक्नेमा संशय व्यक्त गरेका थिए ।
ट्रेडिङ प्लेटफर्म ‘क्यापिटल डटकम’की वरिष्ठ विश्लेषक ड्यानिएला ह्याथर्नले यो नतिजाले एआई पूर्वाधारको माग सुस्ताएको भन्ने चिन्तालाई गतिलो जवाफ दिएको बताएकी छन् । साथै, हुआङको विकल्प नै छैन भन्ने तत्कालको डरलाई पनि यसले शान्त पारेको उनको भनाइ छ । यद्यपि, हुआङले स्थापित गरेको रणनीतिक फाइदालाई एनभिडियाले भविष्यमा कसरी निरन्तरता दिन्छ र नयाँ उत्पादन, साझेदारी तथा लगानीका आगामी निर्णयहरूमा उनको अभाव कत्तिको देखिन्छ भन्ने चुनौती कायमै रहेको उनले औँल्याएकी छन् ।