विश्वप्रसिद्ध प्रविधि कम्पनी एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङले यदि सञ्चालक समिति (बोर्ड) ले अनुरोध गरेमा आफू पुनः कम्पनीको नेतृत्व सम्हाल्न तयार रहेको बताएका छन् । अप्रत्याशित राजीनामापछि पहिलो पटक सार्वजनिक रूपमा धारणा राख्दै उनले बोर्डले चाहेमा फेरि सीईओका रूपमा फर्किनु आफ्नो लागि ‘सम्मान’ को विषय हुने उल्लेख गरेका छन् ।
विवाहेत्तर सम्बन्ध तथा चिनियाँ गुप्तचर भएको आशङ्का गरिएकी महिलासँगको सम्बन्धको खबर बाहिरिएपछि पदबाट राजीनामा दिएका हुआङले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै आफ्नो व्यक्तिगत जीवनमा गम्भीर गल्ती भएको स्वीकार गरेका छन् । उनले लेखेका छन्, ‘मैले बोर्डका लागि समस्याहरू सिर्जना गरेँ, जसमा मलाई गहिरो पश्चात्ताप छ। म आफ्ना गल्तीहरूको पूर्ण जिम्मेवारी लिन्छु ।’
उनले कम्पनीका कर्मचारी, लगानीकर्ता र अन्य धेरै शुभचिन्तकहरूबाट आफूलाई पुनः नेतृत्वमा फर्काउन माग गर्दै थुप्रै सन्देश र कलहरू आइरहेको बताएका छन् । हुआङका अनुसार कम्पनीले सामना गरिरहेको जटिल प्रविधि, बजार, प्रतिस्पर्धात्मक र भूराजनीतिक परिस्थितिका बिच मानिसहरूले आफूलाई सिधै सम्पर्क गरिरहेका छन् ।
उनले भनेका छन्, ‘यदि मेरो पुनरागमन सेयरधनी, कर्मचारी, कम्पनी र अमेरिकाको हितमा हुने निर्णय सञ्चालक समितिले गर्छ भने, म ती आग्रहहरूको सम्मान गर्दै सीईओका रूपमा फर्किन पाउँदा गौरवान्वित महसुस गर्नेछु ।’
यद्यपि, बीबीसीका अनुसार एनभिडियाको बोर्डले उनलाई पुनः नेतृत्वमा फर्काउने विषयमा कुनै विचार गरेको छैन । त्यसैले हालको अवस्थामा उनको पुनरागमनको सम्भावना निकै कमजोर देखिएको छ । कम्पनीको बोर्डले एनभिडियाकै एक महिला कार्यकारीसँगको कथित सम्बन्धलगायत उनको आचरणमाथि आन्तरिक छानबिन गरिरहेको छ ।
कम्पनीभित्रको आन्तरिक छानबिनका अतिरिक्त, बेइजिङका लागि गुप्तचरी गरेको आशङ्का गरिएकी महिलासँगको सम्बन्धका कारण अर्बपति हुआङले आगामी हप्ताहरूमा अमेरिकी सांसदहरूका विभिन्न समितिहरूसमक्ष सोधपुछको समेत सामना गर्नुपर्ने भएको छ ।
हालैका दिनहरूमा प्रविधि क्षेत्रका धेरै दिग्गजहरूले एआईको विकासमा हुआङले पुर्याएको योगदानको प्रशंसा गरेका छन् र उनलाई पदमा पुनर्बहाली गर्न माग गर्दै अनलाइन हस्ताक्षर अभियानसमेत चलेको छ ।
एनभिडियाका प्रमुख लगानीकर्ता ब्राड गेर्स्टनरले सुरुमा उनको पुनर्बहालीबारे सोच्न सकिने भन्दै खुला पत्र लेखेका थिए । तर सोमबार एक कार्यक्रममा बोल्दै उनले आफ्नो पत्रको गलत अर्थ लगाइएको स्पष्ट पारेका छन् । हुआङमाथिको छानबिन निष्कर्षमा पुग्नुपर्ने बताउँदै गेर्स्टनरले भनेका छन्, ‘कानुनभन्दा माथि कोही पनि छैन, यदि म बोर्डमा हुन्थेँ भने यस विषयलाई निकै गम्भीरतापूर्वक लिने थिएँ ।’