एसिया भ्रमणको सुरुआत गर्दै ट्रम्प फिलिपिन्समा, मनिलापछि चीनमा पुटिन र सीसँग वार्ता गर्ने

आप्रवासन आप्रवासन

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो एसिया भ्रमणको पहिलो चरणअन्तर्गत मंगलबार फिलिपिन्सको राजधानी मनिला आइपुगेका छन् । उनको यो एसिया भ्रमणको अन्त्य चीनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हुने उच्चस्तरीय वार्तापछि हुनेछ ।

मनिलास्थित भिल्लामोर एयर बेसमा ‘एयर फोर्स वन’ बाट ओर्लँदा राष्ट्रपति ट्रम्पका लागि रातो कार्पेट बिछ्याएर स्वागत गरिएको थियो । त्यस क्रममा सैन्य ब्यान्डले उनको मन पर्ने गीत ‘वाई.एम.सी.ए’. बजाएको थियो । विमानस्थलको स्वागतपछि उनी हेलिकप्टरमार्फत होटलतर्फ प्रस्थान गरेका थिए ।

आसियान सम्मेलनको क्रममा ट्रम्पले आफ्नो पहिलो बैठक ‘क्वाड’ साझेदार राष्ट्रहरूका नेताहरूसँग गरेका छन् । बैठकमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी (जसलाई ट्रम्पले ‘निकै कडा मानिस’ भनेका छन्), जापानकी सानाए ताकाइची र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज सहभागी थिए ।

बैठकमा अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘हाम्रा देशहरू स्वतन्त्र, खुला, स्थिर र समृद्ध इन्डो–प्यासिफिकका चार स्तम्भ हुन् । हामीबीच उत्कृष्ट सम्बन्ध छ र हामी नजिकबाट समन्वय गर्छौँ...मेरो फोन सधैँ खुला छ ।’

दक्षिण–पूर्वी एसियाका थुप्रै मुलुकहरू राष्ट्रपति ट्रम्पले लगाएको ट्यारिफ र इरानसँगको युद्धका कारण प्रभावित भएका छन् । तर, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का लागि आवश्यक पार्टपुर्जा निर्माण गर्ने यस क्षेत्रबाट अमेरिकातर्फको निर्यात भने एआई विस्तारका कारण गत वर्ष ३० प्रतिशतले वृद्धि भएको छ । अमेरिका यस क्षेत्रका थप देशहरूलाई चीनबाट टाढा राख्दै आफ्नो ‘प्याक्स सिलिका’ प्रविधि तथा एआई इकोसिस्टममा ल्याउन चाहन्छ । यद्यपि, यस क्षेत्रमा चीनको रहेको व्यापक प्रभावलाई ट्रम्पले फिलिपिन्समा बिताउने केही घण्टामै चुनौती दिन भने सहज छैन ।

मनिलामा रात बिताएपछि अमेरिकी राष्ट्रपति ट्रम्प एसिया–प्यासिफिक नेताहरूको शिखर सम्मेलनमा सहभागी हुन चीनको शेन्जेनतर्फ प्रस्थान गर्नेछन् । त्यहाँ उनले चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आणविक वार्ता गर्ने कार्यक्रम छ ।

पुटिनसँग छुट्टै (एकान्त) वार्ताको सम्भावनाबारे सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, ‘यदि अवसर मिल्यो भने, म तयार छु ।’