अमेरिकामा धार्मिक तथा राजनीतिक प्रभावसमेत स्थापित गरेका धर्मगुरु जिम जोन्सले सन् १९७८ नोभेम्बर १८ मा दक्षिण अमेरिकी देश गुयानास्थित जोन्सटाउनमा ९०० भन्दा बढी आफ्ना अनुयायीको सामूहिक हत्या गराएका थिए । मृतकमध्ये ३०० भन्दा बढी बालबालिका थिए ।
आधुनिक इतिहासकै सबैभन्दा ठूलो सामूहिक आत्महत्याका रूपमा चिनिएको यो घटनालाई बाँच्न सफल अनुयायीहरूले भने सामूहिक हत्या बताएका छन् ।
जिम जोन्सले सन् १९५६ मा अमेरिकाको इन्डियानापोलिसमा ‘पिपुल्स टेम्पल’ नामक धार्मिक संस्था स्थापना गरेका थिए । समाजवादी विचारमा आधारित उक्त संस्थाले आफ्ना सदस्यलाई स्वास्थ्य सेवा र अन्य सामाजिक सुविधा उपलब्ध गराउँथ्यो । जोन्सले जातीय समानता, सहिष्णुता र सामुदायिक एकताको प्रचार गर्थे । यसका कारण विभिन्न उमेर, जाति र आर्थिक पृष्ठभूमिका मानिस उनीप्रति आकर्षित भए ।
संस्थाको प्रभाव बढ्दै गएपछि जोन्सले क्यालिफोर्नियामा आफ्नो गतिविधि विस्तार गरे । सन् १९७१ मा सानफ्रान्सिस्को पुगेपछि उनी स्थानीय राजनीतिमा समेत प्रभावशाली बने । उदारवादी मेयर जर्ज मोस्कोनले उनलाई नगरको आवास प्राधिकरणको अध्यक्ष नियुक्त गरेका थिए । अमेरिकी उपराष्ट्रपति पदका उम्मेदवार वाल्टर मोन्डेल र राष्ट्रपति जिम्मी कार्टरकी पत्नी रोजलिन कार्टरसँग समेत उनको सम्पर्क थियो ।
तर, सन् १९७० को दशकमा जोन्स एम्फेटामिन र बार्बिचुरेट्सजस्ता लागुऔषधको दुरुपयोग गर्न थाले । उनी क्रमशः शंकालु र नियन्त्रणमुखी बन्दै गए । सन् १९७७ मा सार्वजनिक भएको एक खोजमूलक समाचारमा संस्थाबाट बाहिरिएका सदस्यहरूले अनुशासनका नाममा सार्वजनिक रूपमा कुटपिट हुने गरेको खुलासा गरेका थिए ।
त्यसपछि अमेरिकी अधिकारीको कारबाहीबाट बच्न जोन्स आफ्ना अनुयायीसहित गुयानामा निर्माण भइरहेको बस्तीमा पुगे । ‘जोन्सटाउन’ नाम दिइएको उक्त बस्तीमा करिब एक हजार अनुयायीलाई बसाइएको थियो । बाहिरी संसारसँगको सम्पर्क सीमित गरेर जोन्सले उनीहरूलाई परिवार र पुरानो जीवनबाट अलग राखे । त्यहाँ रेडियो, बिबिसिलगायत बाहिरी सञ्चारमाध्यमको पहुँच थिएन । जोन्सको भाषण चौबीसै घण्टा लाउडस्पिकरमार्फत सुनाइन्थ्यो ।
जोन्सले अमेरिकाबाट आफूहरूलाई समाप्त पार्न शक्ति परिचालित भइरहेको भन्दै अनुयायीमा डर र शंका फैलाएका थिए । परिवारका सदस्यले एकअर्काको निगरानी गर्नुपर्ने र भाग्न खोज्ने व्यक्तिको सूचना दिनुपर्ने अवस्था सिर्जना गरिएको थियो ।
नरसंहारको सुरुवात
जोन्सका अनुयायीहरूलाई जबर्जस्ती राखिएको आशंकामा आफन्तहरूले अमेरिकी अधिकारीसमक्ष उजुरी र अभियान चलाएका थिए । त्यसपछि अमेरिकी सांसद लियो रायन सन् १९७८ नोभेम्बरमा जोन्सटाउनको अवस्था बुझ्न पत्रकारसहित त्यहाँ पुगे ।
भ्रमणका क्रममा केही अनुयायीले आफूहरू घर फर्कन चाहेको भन्दै सांसदको टोलीलाई गोप्य सन्देश दिएका थिए । उनीहरूलाई बाहिर लैजान सहमति भएपछि थप मानिसले पनि जोन्सटाउन छाड्न इच्छा देखाए । यसबाट आक्रोशित जोन्सका समर्थक बन्दुकधारीले विमानस्थलमा सांसद रायन र पत्रकारसहित पाँच जनाको हत्या गरे ।
त्यसपछि जोन्सले बस्तीमा भेला भएका अनुयायीलाई अमेरिकी अधिकारीले उनीहरूका बालबालिका र वृद्धवृद्धामाथि यातना दिने भन्दै डर देखाए । उनले आत्महत्या गर्नु नै एकमात्र विकल्प भएको भन्दै साइनाइड मिसाइएको फलफूलको पेय पदार्थ सेवन गर्न लगाए । यसरी ९०० भन्दा बढी मानिसको ज्यान गयो ।
घटनाबाट बाँच्न सफल पूर्वअनुयायी लाउरा जोन्स्टन कोलले यसलाई सामूहिक आत्महत्या नभई सामूहिक हत्या भएको बताएकी थिइन् । उनका अनुसार जोन्सले झुट र भय फैलाएर मानिसको बाँच्ने इच्छासमेत समाप्त पारेका थिए । यस घटनामा परिवारका सदस्य गुमाएका टिम कार्टरले यसलाई निरर्थक मृत्यु र ठूलो मानवीय क्षतिका रूपमा स्मरण गरेका छन् ।
बीबीसीबाट