एपीईसी सम्मेलनको साइडलाइनमा ट्रम्प–किमबिच भेटवार्ताको सम्भावना

आप्रवासन आप्रवासन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको चीनमा हुन लागेको एसिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) सम्मेलनको साइडलाइनमा भेटवार्ता हुन सक्ने सम्भावना बढेको विश्लेषकहरूले बताएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि किम सम्मेलनमा सहभागी भए भेट्न सक्ने संकेत गरेपछि ट्रम्प–किम भेटको सम्भावना बढेको हो । ट्रम्पले सोमबार चीनमा यसै साता किमसँग भेट हुन सक्ने बताएका थिए । चीनको सेन्जेनमा एपीईसी सम्मेलन हुँदैछ।

अमेरिकाका पूर्व राष्ट्रिय गुप्तचर अधिकारी सिड्नी सेलरका अनुसार पछिल्ला सातामा उत्तर कोरिया, चीन र रुसका अधिकारीबीच भएका उच्चस्तरीय भ्रमण तथा भेटघाट सम्मेलनको तयारीसँग सम्बन्धित हुन सक्छन् । विश्लेषक जोन डेलुरीले पनि किम सेन्जेन पुगेमा ट्रम्पसँग भेट्ने सम्भावना रहेको बताएका छन्।

तर, केही विश्लेषकले भेटवार्ताको सम्भावनाप्रति शंका व्यक्त गरेका छन् । चीनले किमको भ्रमणका लागि तयारी गरिरहेको स्पष्ट संकेत नदेखिएको उनीहरूको भनाइ छ । दक्षिण कोरियाको विदेश मन्त्रालयले पनि ट्रम्प–किम वार्ताको सम्भावना अझै न्यून रहेको जनाएको छ।

ट्रम्प र किमबीच सन् २०१९ मा भएको अन्तिम शिखर वार्ता उत्तर कोरियाको आणविक कार्यक्रम नियन्त्रण र प्रतिबन्ध हटाउने विषयमा सहमति हुन नसकेपछि टुंगिएको थियो । उत्तर कोरियाले आणविक निशस्त्रीकरणको विषय वार्ताको एजेन्डाबाट हटाउनुपर्ने अडान राख्दै आएको छ । किमले पुनः वार्ता सुरु गर्नुअघि उत्तर कोरियालाई आणविक शक्तिसम्पन्न राष्ट्रका रूपमा स्वीकार गरिनुपर्ने चाहना राखेको विश्लेषकहरूको भनाइ छ ।

ट्रम्प–किम भेटवार्ता भए पनि त्यसबाट तत्काल ठोस सहमति ननिस्कने, तर सम्बन्ध सुधारको प्रतीकात्मक कदम हुन सक्ने विश्लेषकहरूको आकलन छ।

यसैबीच, दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङ र जापानी प्रधानमन्त्री साने ताकाइची पनि एपीईसी सम्मेलनमा सहभागी हुँदैछन् । लीले ट्रम्पले किमलाई पुनः संवादमा ल्याउन सक्ने आशा व्यक्त गरेका छन् भने ताकाइचीले उत्तर कोरियाद्वारा सन् १९७० र १९८० को दशकमा अपहरण गरिएका जापानी नागरिकको विषय समाधान गर्न किमसँग शिखर वार्ताको प्रयास गर्दै आएकी छन्।