पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र सेना प्रमुख फिल्ड मार्सल असिम मुनिर विश्वका सबैभन्दा प्रभावशाली मुस्लिमहरूको सूचीमा संयुक्त रूपमा पहिलो स्थानमा परेका छन्।
उनीहरूसँगै साउदी अरबका राजा सलमान बिन अब्दुलअजिज अल साउद, क्राउन प्रिन्स मोहम्मद बिन सलमान र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पनि संयुक्त रूपमा पहिलो स्थानमा राखिएको छ।
विश्वका ५०० प्रभावशाली मुस्लिमहरूको यो सूची ‘द मुस्लिम ५००’ का नामले परिचित छ। यो यसको २०२७ को १८औँ वार्षिक संस्करण हो। यसलाई जोर्डनको राजधानी अम्मानस्थित ‘रोयल इस्लामिक स्ट्राटेजिक स्टडिज सेन्टर’ ले प्रकाशित गर्दै आएको छ।
यस पटकको सूचीमा भारतका २२ जना परेका छन्। जसमा धार्मिक विद्वान् तथा धर्मगुरुबाहेक बलिउड अभिनेता, संगीतकार, राजनीतिज्ञ, व्यवसायी र वैज्ञानिक सामेल छन्।
भारतका तर्फबाट ‘जमियत उलेमा-ए-हिन्द’ का अध्यक्ष मौलाना महमुद मदनीले सबैभन्दा माथिल्लो वरीयता पाएका छन्। उनी विश्वका ५०० प्रभावशाली मुस्लिममध्ये १८औँ स्थानमा छन् र शीर्ष ५० मा पर्ने एक मात्र भारतीय हुन्।
पाकिस्तानी नेताहरू पहिलो स्थानमा पर्नुको कारण
‘द मुस्लिम ५००’ का अनुसार पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र सेना प्रमुख असिम मुनिरलाई संयुक्त रूपमा पहिलो स्थान मिल्नुको मुख्य कारण ‘मक्का संयुक्त रक्षा सम्झौता’ हो। यो सम्झौता सन् २०२६ अगस्ट ७ मा भएको थियो।
उक्त सम्झौतामार्फत साउदी अरबको आर्थिक शक्ति, टर्कीको प्रविधि तथा औद्योगिक क्षमता र पाकिस्तानको सैन्य शक्तिलाई एउटा साझा सुरक्षा गठबन्धनअन्तर्गत ल्याउने प्रयास गरिएको प्रकाशनमा उल्लेख छ। यसलाई ‘एकमाथि आक्रमण हुनु सबैमाथिको आक्रमण हो’ भन्ने नीतिका रूपमा प्रस्तुत गरिएको छ।
यस सम्झौताले क्षेत्रीय राजनीति र मुस्लिम देशहरूबीचको कूटनीतिक सम्बन्धलाई प्रभावित बनाएको बताइएको छ। यही कारणले गर्दा यो गठबन्धनलाई अगाडि बढाउने पाँचै जना नेतालाई संयुक्त रूपमा पहिलो स्थान दिइएको हो।
गत वर्ष शहबाज सरिफ र असिम मुनिर शीर्ष ५० मा थिएनन्। उनीहरू कुनै वरीयताबिना बाँकी ४५० जनाको सूचीमा सामेल थिए। यस पटक सिधै पहिलो स्थानमा पुग्नुलाई यस संस्करणको सबैभन्दा ठूलो फेरबदलका रूपमा लिइएको छ।
पाकिस्तानका अन्य नामहरूमा धार्मिक विद्वान् मुफ्ती मुहम्मद तकी उस्मानी सातौँ स्थानमा छन्। मौलाना तारिक जमिल् ३२औँ, मौलाना नजरुर रहमान ४१औँ र शेख मुहम्मद इलियास अत्तार कादरी ४४औँ स्थानमा रहेका छन्।
संयुक्त रूपमा पहिलो स्थानमा रहेका पाँच नेतापछि इरानका सर्वोच्च नेता आयतोल्लाह सैयद मुज्तबा खामेनी चौथो स्थानमा छन्। उनी यस वर्ष पहिलो पटक यस सूचीमा समेटिएका हुन्।
त्यसपछि जोर्डनका राजा अब्दुल्लाह द्वितीय पाँचौँ र कतारका अमिर शेख तमिम बिन हमद अल थानी छैटौँ स्थानमा छन्।
इजिप्टको अल–अजहर विश्वविद्यालयका ग्रान्ड इमाम शेख अहमद अल–तैयब नवौँ स्थानमा छन्। संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यान १२औँ र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम १३औँ स्थानमा रहेका छन्।
यस वर्षको सूचीमा भारतका कुल २२ जना समेटिएका छन्। जसमा धार्मिक विद्वान्, राजनीतिक नेता, चलचित्रकर्मी, संगीतकार र व्यवसायी छन्।

ती २२ जनामध्ये शीर्ष ५० मा अटाउने एक्लो नाम मौलाना महमुद मदनीको हो। उनले १८औँ स्थान पाएका छन्। उनी भारतको पुरानो र ठूलो मुस्लिम सामाजिक–धार्मिक संगठन ‘जमियत उलेमा-ए-हिन्द’ का राष्ट्रिय अध्यक्ष हुन्।
प्रकाशनका अनुसार महमुद मदनीको प्रभाव धार्मिक नेतृत्वका साथै सामाजिक र राजनीतिक गतिविधिमा पनि जोडिएको छ। उनले भारतमा मुस्लिम समुदायविरुद्ध हुने घृणाजन्य मामिलामा निरन्तर आवाज उठाउँदै आएका छन्। जमियत उलेमा-ए-हिन्दमार्फत नागरिक अधिकार र वक्फ सम्पत्तिसँग जोडिएका मुद्दाहरूमा पनि उनको सक्रिय भूमिका रहँदै आएको छ।
सूचीमा उनको प्रभावको एउटा आधार संगठनको बलियो सञ्जाल पनि हो। प्रकाशनका अनुसार यस संगठनसँग करिब १ करोड २० लाख मानिस जोडिएका छन् भने यसको धार्मिक शिक्षा सञ्जालमा ३० लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
भारतका बाँकी २१ जनालाई कुनै वरीयता वा क्रम निर्धारण नगरी सूचीकृत गरिएको छ। उनीहरू विभिन्न क्षेत्रका व्यक्तित्वहरू हुन्।
चलचित्र र संगीत जगतबाट बलिउड अभिनेता शाहरुख खान र आमिर खान यस सूचीमा परेका छन्। शाहरुख खान पहिलो पटक यस सूचीमा सामेल भएका हुन्।

अभिनेत्री शबाना आजमी र संगीतकार एआर रहमान पनि सूचीमा छन्। शबाना आजमी हिन्दी सिनेमामा आफ्नो योगदानका साथै सामाजिक मुद्दामा सक्रिय भूमिकाका लागि परिचित छिन्। उनी हालै ककरोच जनता पार्टीको विरोध प्रदर्शनमा पनि सहभागी भएकी थिइन्, जहाँ पूर्व केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिएको थियो। यता एआर रहमानको संगीतले अन्तर्राष्ट्रिय स्तरमै पहिचान पाएको छ। उनले प्राप्त गरेका ओस्कार र ग्रामी जस्ता सम्मानले उनको विश्वव्यापी प्रभावलाई पुष्टि गर्छन्।
धार्मिक तथा शैक्षिक क्षेत्रबाट शेख अबुबक्र अहमद, मौलाना कमरउज्जमाँ आजमी, सैयद इब्राहिमुल खलील अल–बुखारी, मिरवाइज उमर फारुक, मौलाना साद कान्धलवी, मौलाना जुहैर उल हसन कान्धलवी, मौलाना सैयद अरशद मदनी, डा. बहाउद्दीन नदवी, डा. सानियासैन खान, डा. जाकिर नायक, मुफ्ती अबुल कासिम नोमानी, मौलाना शाकिर अली नुरी र सैयदना मुफद्दल सैफुद्दीन जस्ता नामहरू सामेल छन्।
राजनीतिक क्षेत्रबाट ‘अल इन्डिया मजलिसे इत्तेहादुल मुस्लिमीन’ (एआईएमआईएम) का प्रमुख एवम् हैदराबादका सांसद असदुद्दीन ओवैसी तथा एआईयूडीएफका संस्थापक बदरुद्दीन अजमल समेटिएका छन्।
व्यापार तथा परोपकार क्षेत्रबाट विप्रोका संस्थापक अध्यक्ष अजिम प्रेमजीको नाम समावेश छ। उनले आफ्नो सम्पत्तिको ठूलो हिस्सा शिक्षा र सामाजिक कार्यका लागि दान गरेका छन्।
भारत र पाकिस्तानबाहेक इरान, टर्की, साउदी अरब, इजिप्ट, प्यालेस्टाइन र इन्डोनेसियाका धेरै व्यक्तित्व सूचीमा अटाएका छन्।
इरानका सर्वोच्च नेता आयतोल्लाह मुज्तबा खामेनी शीर्ष ५० को चौथो स्थानमा छन्। उनीबाहेक इरानबाट धार्मिक विद्वान् ग्रान्ड आयतोल्लाह अब्दुल्लाह जवादी अमोली, आयतोल्लाह सैयद मुस्तफा मोहागेघ दमाद र ग्रान्ड आयतोल्लाह नासिर मकारिम सिराजी पनि सूचीमा छन्।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान संयुक्त रूपमा पहिलो स्थानमा छन् भने देशको गुप्तचर निकायका प्रमुख इब्राहिम कालिन २०औँ स्थानमा छन्।
साउदी अरबका राजा सलमान र क्राउन प्रिन्स मोहम्मद बिन सलमान संयुक्त रूपमा पहिलो स्थानमा रहँदा यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यान १२औँ स्थानमा छन्।
मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम १३औँ र इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तो १६औँ स्थानमा छन्। इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसी २२औँ स्थानमा छन् भने त्यहाँका ग्रान्ड इमाम शेख अहमद अल–तैयब नवौँ स्थानमा छन्।
खेलकुद क्षेत्रबाट इजिप्टका चर्चित फुटबलर मोहम्मद सलाह ३९औँ स्थानमा छन्। उनी लिभरपुलका लागि खेलिसकेका विश्वकै चर्चित खेलाडीमध्ये पर्छन्।
अमेरिकाबाट न्युयोर्कका मेयर जोहरान ममदानी ४९औँ स्थानमा छन्। उनी सूचीमा समेटिने प्रमुख राजनीतिक अनुहारहरूमध्ये एक हुन्।
प्यालेस्टाइनबाट राष्ट्रपति महमुद अब्बास ४५औँ, प्राज्ञिक व्यक्तित्व मुस्तफा अबु स्वे ४७औँ र गाजास्थित कमाल अदवान अस्पतालका पूर्व निर्देशक डा. हुसाम अबु सफिया ५०औँ स्थानमा रहेका छन्।