सी जिनपिङ र पुटिनसँगको शिखर बैठकअघि ट्रम्पले भने– यो हाम्रो जित हो

आप्रवासन आप्रवासन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हुने ऐतिहासिक त्रिपक्षीय शिखर बैठक सुरु हुनुअघि यसलाई अमेरिकाको जित भएको बताएका छन् ।

बिहीबार चीनको सेन्जेनमा हुने बैठकका लागि पुगेका ट्रम्पले चीनले आफूलाई दिएको भव्य स्वागतलाई ठुलो सम्मानको संज्ञा दिएका हुन् । चिनियाँ राष्ट्रपति सी आफैँ विमानस्थल पुगेर ट्रम्पलाई स्वागत गरेका थिए । सीले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि विदेशी राष्ट्र प्रमुखलाई विमानस्थलमै पुगेर स्वागत गरेको यो पहिलो घटना भएको बताइएको छ ।

ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा सीको स्वागत, हजारौँ मानिसको उपस्थिति, सैनिक परेड र सांस्कृतिक प्रस्तुतिले आफू प्रभावित भएको बताए । उनले भने– ‘यो हाम्रो ठुलो जित हो, चीनका लागि पनि ठुलो जित हो ।’

शिखर बैठकअघि ट्रम्पले सीसँग कार्यकारी छलफलसहित दिवाभोज गर्ने कार्यक्रम छ । अमेरिकी र रुसी अधिकारीहरूका अनुसार उनले पुटिनसँग छुट्टै भेटवार्ता पनि गर्नेछन् ।

बैठकमा आणविक हतियार नियन्त्रण,अन्तर्राष्ट्रिय व्यापार, प्रविधि र विश्व सुरक्षाका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । ट्रम्पले चीनको बढ्दो आणविक हतियार निर्माणप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई रोक्नुपर्ने बताएका छन् । तर चीनले अमेरिका र रुससँगको आणविक हतियार नियन्त्रण वार्तामा सहभागी हुन अनिच्छुक रहेको बताएको छ ।

यसैबिच, विश्लेषकहरूले बैठकबाट ठुला सहमति हुने सम्भावना कम रहेको बताएका छन् । युक्रेन युद्ध, इरान, व्यापार विवाद, आणविक हतियार र चीनको सैन्य विस्तार लगायत विषयमा तीनै देशका स्वार्थ फरक छन् ।

विश्लेषक क्रेग सिंगलटनका अनुसार तीन नेताको संयुक्त तस्बिरले उनीहरूलाई राजनीतिक लाभ दिन सक्ने भए पनि ठोस सहमति जुटाउन कठिन हुनेछ ।