विदेशमा पनि विचौलियाको बिगबिगी

क्रोएसियामा पासपोर्ट नवीकरण शिविर हुने भएपछि बिचौलियाको बिगबिगी

आप्रवासन आप्रवासन

गत असार १२ गते अस्ट्रियास्थित नेपाली दूतावासले एक सूचना जारी गर्‍यो । सूचनामा पासपोर्ट तथा टिआरसी सम्बन्धी समस्याका कारण पासपोर्ट नवीकरण गर्न भियना आउन नसक्ने नेपालीहरूका लागि साउनको दोस्रो वा तेस्रो सातातिर विशेष टोली क्रोएसियाको जाग्रेब आउने उल्लेख छ ।

दूतावासले ३ दिनसम्म सञ्चालन हुने उक्त शिविर भियना आएर सेवा लिन नसक्नेहरूका लागि मात्र हो भनेर  स्पष्ट पारेको छ । तर दूतावासको सोही सूचनामा टेकेर क्रोएसियामा रहेका बिचौलियाहरूले पासपोर्ट नवीकरण गराइदिने भन्दै नेपालीहरूबाट रकम असुल्न थालेका छन् ।

द इमिग्रेसनको सम्पर्कमा आएका नेपालीहरूका अनुसार यस कार्यमा बिचौलियाको गिरोह नै सक्रिय छ । पासपोर्ट नवीकरण गराइदिने भन्दै बिचौलियाहरूले क्रोएसियामा रहेका नेपालीहरूबाट ३० देखि ५० युरोसम्म शुल्क उठाइरहेका छन् । 
क्रोएसिया नेपालीहरूको युरोपको सबैभन्दा प्रमुख रोजगार गन्तव्य हो । रोजगारी खोज्दै युरोप जाने नेपालीहरू मध्ये सबैभन्दा धेरै क्रोएसिया पुग्ने गरेका छन् ।

आर्थिक वर्ष २०८०/८१ मा मात्रै १५ हजार ३६४ नेपाली क्रोएसिया गएका छन् । हाल क्रोएसियामा कार्यरत नेपालीको सङ्ख्या ३५ हजार नाघेको छ । तर यति ठुलो सङ्ख्यामा नेपालीहरू हुँदा समेत त्यहाँ नेपाली दूतावास छैन । जसको फाइदा त्यहाँ रहेका बिचौलियाले उठाएका हुन् । 

उसो त, यसबारेको गुनासो बढ्दै गएपछि दूतावासले अर्को सूचना जारी गर्दै नवीकरणको सबै पक्रिया पारदर्शी रूपमा हुने भन्दै कसैलाई पनि अतिरिक्त रकम नबुझाउन सचेत गराएको छ । तर त्यसले पनि बिचौलियाहरूलाई रकम असुल्नबाट रोक्न सकेको छैन । यसो हुनुको पछि दूतावासको समेत कमजोरी रहेको नेपालीहरूको भनाई छ ।

दूतावासले केही दिन र अझ कहिलेकाहीँ केही घण्टाको लागि अनलाइन फाराम खुलाउने गर्छ । तर आवेदन दिनेको सङ्ख्या ठुलो हुन्छ । जसले गर्दा सबैले आवेदन दिनै पाउँदैनन् । अर्कोतर्फ, दूतावासमा कर्मचारी पनि सहजै उपलब्ध हुँदैनन् र उनीहरूको व्यवहार निकै रुखो हुने गरेको गुनासो छ ।

केही आवेदकको त ६ महिनासम्म पनि पासपोर्ट नबनेको गुनासो छ । यस्तोमा, क्रोएसियामा रहेका नेपालीलाई दूतावासको साटो बिचौलियाको भर लागेको हो । यस्तो स्थिति आउनुमा परराष्ट्र मन्त्रालय र नेपाल सरकारको समेत दोष देखिन्छ ।

क्रोएसियामा ठुलो सङ्ख्यामा नेपाली रहेको र सङ्ख्या बढ्दै गएको बेला त्यहाँ नेपाली नियोग नहुनु दुखद हो । क्रोएसियाको केन्द्रीय बैङ्कका अनुसार सन् २०२३ मा नेपालीले १० अर्ब ३८ करोड रुपैयाँ रेमिटेन्स नेपाल पठाएका थिए । क्रोएसियासँगै विदेशमा रहने नेपालीहरूले पठाएको रेमिटेन्सकै कारण देश धानिएको छ ।

तर यसरी देश धान्न परदेशमा पसिना बगाइरहेका नेपालीहरूका लागि उनीहरू रहेको देशमा नेपाली नियोग स्थापना गरी अभिभावकत्व प्रदान गर्न सरकार चुकेको छ ।