दक्षिण कोरियामा नेपाली श्रमिकलाई दूतावासको विशेष आग्रह, काम गर्दा यी सुरक्षा नियम पालना गर्न अपील

आप्रवासन आप्रवासन

काठमाडौं । दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकलाई कार्यस्थलमा हुन सक्ने औद्योगिक दुर्घटनाबाट जोगिन विशेष सावधानी अपनाउन सियोललेस्थित नेपाली राजदूतावासले  आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै काम गर्ने क्रममा सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न र आफ्नो जीवनको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न नेपाली श्रमिकलाई अनुरोध गरेको हो ।

दक्षिण कोरियाका विभिन्न उद्योग तथा कार्यस्थलमा काम गर्ने क्रममा सामान्य असावधानी वा लापरवाहीले समेत गम्भीर औद्योगिक दुर्घटना निम्त्याउन सक्ने भन्दै दूतावासले सचेत गराएको छ । कामको चाप, समयको दबाब वा उत्पादन बढाउने उद्देश्यले सुरक्षालाई बेवास्ता नगर्न पनि दूतावासले आग्रह गरेको छ ।

दूतावासले विशेषगरी मेसिन सञ्चालन गर्नुअघि आवश्यक सुरक्षा जाँच गर्न, सुरक्षा उपकरण तथा मेसिनमा जडान गरिएका सुरक्षा गार्ड नहटाउन अनुरोध गरेको छ । मेसिन मर्मत, सफाइ वा त्यसका पार्टपुर्जा परिवर्तन गर्नुपरेमा मेसिन पूर्ण रूपमा बन्द गरेर मात्र काम गर्नुपर्ने सूचनामा उल्लेख छ ।

त्यसैगरी, रोबोट तथा स्वचालित मेसिन सञ्चालन हुने क्षेत्रमा सुरक्षा बार, जाली र सेन्सरको व्यवस्था पालना गर्न भनिएको छ । अनुमति नलिई सुरक्षा घेराभित्र प्रवेश नगर्न पनि श्रमिकलाई सचेत गराइएको छ ।

कार्यस्थलमा प्रयोग हुने औजार, पाइप तथा अन्य सामग्री जथाभावी नराख्न र हिँड्ने बाटो सफा तथा अवरोधरहित राख्न दूतावासले आग्रह गरेको छ । कार्यस्थलमा हिँडडुल गर्दा मोबाइल फोन नचलाउन र आफ्नो ध्यान काम गर्ने स्थान तथा वरपरको वातावरणमा केन्द्रित गर्न पनि अनुरोध गरिएको छ ।

यस्तै, भुइँमा रहेका पाइप, तार, खाल्डा तथा उचाइ भएका स्थानमा विशेष सावधानी अपनाउनुपर्ने दूतावासले जनाएको छ । सम्भावित जोखिम भएका स्थानमा राखिएका चेतावनी चिह्न र सुरक्षा संकेतको पालना गर्न पनि श्रमिकलाई आग्रह गरिएको छ ।

काम गर्दा हेल्मेट, सुरक्षा जुत्ता, पञ्जा, चस्मा तथा अन्य आवश्यक व्यक्तिगत सुरक्षा सामग्री अनिवार्य प्रयोग गर्नुपर्ने सूचनामा उल्लेख छ । आफूले नजानेको वा तालिम नलिएको मेसिन सञ्चालन गर्नुअघि त्यसबारे जानकारी भएको जिम्मेवार व्यक्तिसँग आवश्यक निर्देशन लिन र समन्वय गरेर मात्र काम गर्न दूतावासले सुझाव दिएको छ ।

कार्यस्थलमा कुनै जोखिमपूर्ण अवस्था देखिएमा वा सुरक्षा व्यवस्था कमजोर भएको महसुस भएमा तत्काल सुपरभाइजर वा सम्बन्धित जिम्मेवार व्यक्तिलाई जानकारी गराउन पनि दूतावासले आग्रह गरेको छ ।

दूतावासले काममा हतार गर्नु, मोबाइल चलाउँदै हिँड्नु, सुरक्षा नियमलाई बेवास्ता गर्नु र जोखिमलाई सामान्य रूपमा लिनु गम्भीर दुर्घटनाको कारण बन्न सक्ने भन्दै सचेत गराएको छ । उत्पादन र समयको दबाबभन्दा श्रमिकको जीवन र सुरक्षा महत्वपूर्ण रहेको सूचनामा जोड दिइएको छ ।

‘तपाईंको जीवन तपाईंको परिवारको खुसी र भविष्यसँग जोडिएको छ । कामभन्दा ठूलो तपाईंको जीवन हो,’ दूतावासले सूचनामार्फत भनेको छ । सुरक्षित रूपमा काम गर्न, स्वस्थ रहन र सकुशल घर फर्किनसमेत नेपाली श्रमिकलाई अनुरोध गरिएको छ ।

दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकको सुरक्षा तथा हितप्रति नेपाली राजदूतावास सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्दै दूतावासले सबै श्रमिकलाई कार्यस्थलमा सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

दक्षिण कोरियामा विभिन्न उद्योग तथा क्षेत्रमा कार्यरत नेपाली श्रमिकका लागि कार्यस्थलको सुरक्षा महत्वपूर्ण विषय भएकाले दूतावासले जारी गरेको यो सूचनाले दुर्घटना न्यूनीकरण र श्रमिकमा सुरक्षा सचेतना बढाउन जोड दिएको छ ।